कनकाई अनलाईन
बेलायतको अक्सफ़ोर्ड विश्वविधालयबाट राजनीति अध्ययन गरेकी मिस टिन नेपाल २००६ खुस्बु ओली द्वन्द ब्यवस्थापन र चाइल्ड प्रोटेक्सनकी विशेषज्ञ हुन्।युवा उधमी ओली झापा ४ बाट स्वतन्त्रतर्फ बाट प्रत्यक्ष चुनाब लड्ने एकमात्र महिला उम्मेदवार हुन्।एसियाको ठुलो मध्ये ड्रीम एसिया अवार्ड विजेता ओली आफ़्ना कम्पनी र ग़ैरसरकारी संस्थाबाट सडक बालबालिका, महिला , युवा तथा किसान शसक्तिकरण , आर्थिक आत्मनिर्भरता, रोजगार सृजनामा विशेष योगदान दिंदैछिन। मल्टीन्यासनल कम्पनी मा नेपालको रास्ट्र प्रमूख भएको अनुभव भएकी ओलीले अन्तराष्ट्रिय द्वन्दमा मास्टर अफ साइन्स गरेकी छन् । उनै खुश्बु ओली संग गरिएको कुराकानीको अंश –
खुश्बु ओली अर्थात तपाइँ को हो ?
म खुश्वु ओली । मंसीर ४ गते हुन गइरहेको निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदबार, झापा, क्षेत्र नं– ४ बाट । मैले मिस टिन नेपाल–२००६ को टाइटल जितेको थिएँ । पेशागत हिसाबमा म द्वन्द्व र मध्यस्थतामा अन्तर्राष्ट्रिय परामर्शदाता हुँ । बालबालिका संरक्षणमा विशेषज्ञता पनि छ मेरो । म अक्स्फोर्ड ग्राजुएट पनि हो । मेरो मास्टर्स इन्टरनेशनल कन्फिक्टमा छ । पेशाका रूपमा मैले क्रप इन इण्डियाको नेशनल हेड भएर पनि काम गरेँ नेपालमा । भारतकै साथी प्रोजेक्टको प्रमुख भए पनि काम गरेँ । देश विदेशमा विभिन्न संघसंस्थासँग समन्वय गरेर कृषि, बालबालिकाको सुरक्षाजस्ता क्षेत्रमा काम गरेँ ।
मेरो गैरसरकारी संस्थाले सडक बालबालिकाको पुनस्र्थापनामा काम गरिरहेको छ । महिला सशक्तीकरण र किसानलाई सशक्तीकरण गर्नेमा पनि हामी सक्रिय छौं । अहिले नेपालमा प्रिजन रिह्याविलिटेसन अन्तर्गत हामीले नेपालको विभिन्न जेलमा सशक्तीकरण कार्यक्रम चलाईरहेका छौं । त्यहाँका कैदी बन्दीहरूलाई खेलकुदको माध्यमबाट सशक्तीकरण गरौं, उहाँहरूलाई त्यहाँबाट छुटेर आउँदा फेरि अप्ठेरो परिस्थितिमा जानु नपरोस् भनेर पुनस्र्थापना कार्यक्रम बनाइरहेका छौं । कार्यक्रमहरू पनि सञ्चालन भइरहेको छ । सँगसँगै म एउटा उद्यमी पनि हुँ । मैले अरुलाई रोजगारी दिइरहेको पनि छु ।
राजनीतिमा तपाईंको उपस्थितिले के अर्थ राख्छ ?
राजनीतिमा मेरो उपस्थिति वास्तवमा परिवर्तनका लागि हो, जुन परिवर्तन मैले अरुबाट प्राप्त गर्न सकिन । देशमा भइरहेका बेथितिहरू रोक्न हामीजस्तो सक्षम, हिम्मत भएका युवा अघि सर्नुपर्छ भन्ने मेरो मान्यता हो । मलाई के लाग्छ भने कमसेकम हामीजस्तो बीस पच्चीस जना यो चुनावबाट, अझ सबै आउन सके त राम्रो हो, विभिन्न पार्टीमा भएका वा स्वतन्त्र उम्मेदवार भएका राम्रा व्यक्तिहरू संसदमा उभिन पायौं भने राष्ट्रका हित विपरितका कुनै पनि मुद्दा हामी पास हुन दिंदैनथ्यौं ।
राष्ट्रियता जोगाउनका लागि यो युवा वर्ग, यो शिक्षित वर्गले देश विदेश सबैतिरको हस्तक्षेपसँग पनि निडर भएर आफ्नो एउटा अडान लिन सक्ने हिम्मत भएको हुनाले वास्तवमा यो देशले तीसौं वर्षदेखि नपाएको परिवर्तनलाई हामीले हाम्रो सक्षमता, हाम्रो दक्षता र अनुभवलाई प्रयोग गरेर राजनीतिलाई समाज सेवाको रूपमा अघि सार्ने हो । मेरो लागि राजनीतिले त्यही अर्थ राख्छ । म राजनीति जानेर आएको मान्छे होइन र कसैलाई राजनीति सिकाउन पनि चाहन्न । मैले जे काम गरिरहेको थिएँ त्यसैको अनुभवका आधारमा सुशासनको प्रणाली राजनीतिमा लिएर आउन चाहन्छु ।
तपाईंको पारिवारिक, शैक्षिक र राजनीतिक पृष्ठभूमि रु
मेरो परिवार पनि राजनीतिमै हुनुहुन्छ । मेरो बुबा राजनीतिमा हुनुहुन्थ्यो तर अब अहिले अवकास लिइसक्नु भएको छ । उहाँ ६० नाघिसक्नु भएकाले अब हामीले नेतृत्व लिने होइन, अब युवालाई अघि सार्नुपर्छ भनेर उहाँले मलाई अहिले सहयोग र मार्गनिर्देश गरिरहनु भएको छ । मेरो परिवार झापामा बस्छ । हामी झापा क्षेत्र नं ४ कन्काईका निवासी हौं ।
के देखेर राप्रपामा लाग्नुभयो र अहिले किन स्वतन्त्र उठ्नुभयो ?
राष्ट्रिय प्रजातन्त्र पार्टीले भ्रष्ट्राचारविरुद्ध लिएका अडान अनि शिक्षा र स्वास्थ्य क्षेत्रका एजेण्डाका कारण म यसमा लागेको हुँ । यसको नेतृत्व मन पराएर म यो पार्टीमा लागेको थिएँ । तर अहिले आएर हाम्रो पार्टीले एमालेसँग चुनाबी तालमेल गरेको कारणले पार्टीले मलाई के भन्यो भने तपाईंले आफ्नो क्षेत्र एमालेलाई दिनु पर्छ । अब धेरै व्यक्तिमा कस्तो भ्रम पर्यो भने खुश्वु ओलीले टिकट नपाएपछि स्वतन्त्र भयो भन्ने । मैले टिकट नपाएको होइन, टिकट पाउने अवस्थै आएन । मेरो क्षेत्र नै एमालेलाई बुझाइयो, तालमेलका कारण ।
हिजोसम्म हामीले कांग्रेस, एमाले, माओवादी कसैले पनि यो देशमा परिवर्तन ल्याउन सकेनन्, उहाँहरू टेस्टेड हुनुहुन्छ र टेस्टेड भएर फेल पनि हुनुभइसकेको छ भन्यौं । वास्तवमै मेरो क्षेत्रमा पनि एमालेबाट धेरै समय सांसद हुनु भएको, कांग्रेसबाट पनि धेरै समय नेतृत्व गर्नु भएको तर पनि मेरो ठाउँमा कुनै पनि विकास नभएको कारणले मैले एमालेको लागि म सिट छोड्न सक्दिन भनेँ । यसो गरियो भने जनतालाई पनि अन्याय हुन्छ ।
पार्टीको लागि मैले सिट छोड्दै गर्दा मेरो ठाउँले विकास नपाउने भयो । हिजोको दिनमा मैले जुन व्यक्तिहरूबाट यो देशले परिवर्तन पाउनु पर्छ, राम्रो युवा, सक्षम व्यक्तिहरू, राम्रो पार्टीहरू आउनुपर्छ भन्दै घरदैलो गर्दै हिँडे, तर एकैदिनमा तालमेल भयो भन्दैमा होइन, यी पार्टीहरू त ठिक रहेछन् भनेर मैले सबैजनालाई त्यतैतिर भोट हाल्नुपर्छ है भन्दै हिंड्नलाई मेरो नैतिकताले दिएन ।
हामी कस्तो लोकतन्त्रमा छौं भने एमालेले हलोमा भोट हाल्नु पर्ने, हलोले अर्को पार्टी सूर्यमा भोट हाल्नु पर्ने, कांग्रेसले माओवादीमा भोट हाल्नु पर्ने । मान्छेले आफ्नो स्वविवेक प्रयोग गरेर, आफ्नो नैसर्गिक अधिकार प्रयोग गरेर आफूले ईच्छाएको व्यक्तिमा भोट हाल्न भन्दा पनि राजनीतिक दलले आफ्नो स्वार्थअनुसार खडा गरेको व्यक्तिमा भोट हाल्नु पर्ने भयो । त्यसैले मैले आफ्नो अडान कायमै राखेँ । अडान कायमै राख्दा स्वतन्त्र उम्मेदवार हुन पुगेको हुँ ।
तपाईंको राजनीतिक भिजन के हो रु
सामाजिक स्तरमा हरेक मेरो क्षेत्रको सामाजिक स्वास्थ्य शिक्षाका अवस्थाहरूलाई मैले पहिचान गरेर त्यस अनुसारका समाधानहरू र अवसरहरू सिर्जना गर्ने हो । मुख्यतः मलाई कस्तो लाग्छ भने यदि हामीले घरेलु अर्थतन्त्रलाई बलियो बनाउन सकियो भने मेरो गाउँको विकासलाई, मेरो गाउँको उन्नतिलाई मेरो देशको विकासँग जोड्ने मेरो प्रमुख योजना रहेको छ । अहिलेलाई सर्वप्रथम आर्थिक क्रान्तिको लागि र स्थानीय अर्थतन्त्र बलियो बनाउन एक वडा, एउटा मझौला उद्योगको मैले परिकल्पना ल्याएको छु ।
अहिले तपाईं हाम्रो गाउँ क्षेत्रमा जानु भयो भने धेरैजसो युवा विदेश जानु भएको छ, नेपालमै भएको युवालाई पनि त्यहीँ रोजगारीको अवसर छैन । एउटा गाउँमा कमसेकम पहिलो चरणमा मैले एउटा एउटा उद्योगको परिकल्पना गरेर घरमा क्यारमबोर्ड खेलेर, लुँडोबाजी खेलेर बसिरहेका युवा र महिलालाई जोडेर २८ वटा उद्योग स्थापना गर्ने मेरो भिजन छ । त्यसले के गर्छ भने स्थानीय तहको आर्थिक स्थिति बलियो बन्न जान्छ । मेरोजस्तै हरेक क्षेत्रमा यो परिकल्पना आयो भने देशको अर्थतन्त्रमा हाम्रो गाउँको विकासले ठूलो सहयोग पुर्याउन सक्छ ।
अहिले तपाईंले हाम्रोतिरको सामुदायिक विद्यालयहरू हेर्नुभयो भने ती विद्यालयमा विद्यार्थीको एकदमै न्यून उपस्थिति छ । त्यसैले स्थानीय तहमा रहेका सामुदायिक विद्यालयहरूको स्तरोन्तति गर्ने र त्यहाँ रहेको निजी र सामुदायिक विद्यालयमा एकै गुणस्तरको शिक्षाको अवस्था मिलाउने काम गर्नुछ । प्राइभेट स्कुलमा शिक्षकहरूको तबल कम भए पनि शिक्षाको गुणस्तर राम्रै छ तर सामुदायिक विद्यालयमा शिक्षकहरूलाई राम्रै तलब भए पनि हामीले शिक्षामा सुधार ल्याउन सकेका छैनौं । त्यो मेरो प्रमुख नीतिमा रहन्छ ।
म चाहन्छु, आर्थिक अवस्थाको कारण कुनै पनि बालबच्चाहरू अलग अलग किसिमको गुणस्तरको शिक्षाको भोगी हुनु नपरोस् । पैसा कम भए पनि, विपन्न वर्गका भए पनि दलितका छोराछोरी भए पनि सरकारी विद्यालयमा भए पनि राम्रो गुणस्तरको व्यावहारिक शिक्षा उहाँहरूले पाउन सक्नुहोस् भन्ने मेरो एजेन्डा रहन्छ ।
मेरो क्षेत्रमा स्वास्थ अवस्था अहिले एकदमै दर्दनाक छ । एउटा एक्सरे गर्ने ठाउँ छैन, अल्ट्रसाउण्ड गर्ने ठाउँ छैन । मुटुको समस्या भयो भने आफ्नो क्षेत्र छोडेर प्राइभेट अस्पतालमा पुग्नु पर्ने बाध्यता छ । प्राइभेट अस्पतालमा उपचार गर्दा घरबारै बेच्नुपर्लाजस्तो अवस्था छ । अलिकति ठूलो रोग लाग्यो भने आर्थिक संकटमा परिने ऋणभारमा परिने अवस्था छ । त्यसो भएर मेरो क्षेत्रमा भएका प्राथमिक स्वास्थ्य केन्द्रहरूको स्तरोन्नति गर्ने, आइसीयूको अनिवार्य व्यवस्था गर्ने, एक्सरे, अल्ट्रसाउण्डहरूजस्ता सुविधा दिने, गुणस्तरहीन औषधीहरू नबेच्ने, बिभिन्न कम्पनीहरूको कमिसनको खेलमा परेर गुणस्तरहीन औषधीहरू बेच्न नदिने यो पनि मेरो प्रमुख एजेण्डा रहन्छ ।
झापा जिल्लाको क्षेत्र नं ४ मा नदीको कटानले गर्दा घरहरू डुबानमा पर्ने र बाढीको प्रकोपमा जतना पर्ने भएकाले बाँधलाई एकदमै व्यवस्थित गर्ने पनि मेरो एजेण्डामा रहन्छ । हाम्रो क्षेत्रलाई अपांगमैत्री बनाउने मेरो परिकल्पना छ । हुन त अहिले पुरानो सांसद जो हुनुहुन्छ, उहाँहरूले आपांगमैत्री भने पनि आज विद्यालयहरूमा, क्याम्पसहरूमा वा बैंकमा जानको लागि कुनै पनि आपांग, अशक्तहरूले सक्नुहुन्न । त्यो कुराहरूलाई ध्यानमा राख्ने, दलित वर्गहरूको लागि स्वरोजगारको, महिलाहरूको लागि स्वरोजगारको योजनाहरू ल्याउने उहाँहरूलाई उद्योगसँग जोड्ने, रोजगारीसँग जोड्ने मेरो प्रमुख लक्ष्य छ ।
मेरो क्षेत्रमा विभिन्न धार्मिक स्थलहरू छन् । धर्मलाई पर्यटनसँग जोडेर हामी त्यहाँबाट पनि आर्थिक उन्नति गर्न सक्छौं । इतिहासमा भएका चिल्लागढ, कोटीहोम, धनुषकोटी मेरो क्षेत्रमा छन् । त्यसलाई अझ संरक्षण संम्वद्र्धन गर्ने मैले योजना बनाएको छु । हाम्रो समुदायमा भएका विपन्न वर्गहरू जस्तै सन्थाल लगायत विभिन्न समुदायका संस्कृति, उहाँहरूका नृत्य, कला आदिलाई संरक्षण गरेर उहाँहरूका लागि कला केन्द्रहरू स्थापना गर्ने मैले योजना बनाएको छु ।
तराई हाम्रो कृषिप्रधान क्षेत्र हो । मेरो हरेक क्षेत्रमा प्राङ्गारिक मलको एउटा फक्ट्रि स्थापना गर्ने परिकल्पना छ । मैले पहिले पनि आफ्नो कम्पनीहरूबाट काम गर्दै आएको अवस्थामा किसानलाई बजारसँग बिचौलियालाई हटाएर जोड्ने मेरो प्रमुख दायित्व रहनेछ ।
आफ्नो क्षेत्रका ह्वेवी वेटहरूलाई पराजित गर्न सक्छु भन्ने आधार के छन् तपाईंसित ?
म एमालेको उम्मेदवार एलपी सावा लिम्बुज्यूबाट सुरु गर्छु । उहाँले गत चुनाबमा, उहाँ त धेरैपल्ट हाम्रो क्षेत्रबाट निर्वाचित भइसक्नु भएको थियो, उहाँको गत चुनाबको पहिलो नारा के थियो भने हरेक जनता तीन तले घरमा बस्छ र सुनको थालमा भात ख्बाउने उहाँको एजेण्डा थियो ।
यसपटक पनि उहाँले चुनाब घोषणा गरिसकेपछि केही दिन अघि मेरो क्षेत्रमा, हुन त त्यसमा हामीलाई बोलाइएन, पत्रकार सम्मेलनमा फेरि पनि तीनतले घरमा राख्ने, त्यो ५ वर्षमा सायद सक्नु भएन र सुनको थालमा ख्वाउने उहाँको प्रमुख एजेण्डामा यही नै छ । भनेपछि त्यहाँको जनताले अहिले एक छाक पनि राम्रोसँग खान नपाउने समुदाय, विपन्न वर्ग हुँदा अहिलेको समयमा आएर यस्ता अव्यवहारिक एजेण्डा लिएर जनतासमक्ष जानु भनेको उहाँ मेरो लागि प्रतिस्पर्धी नै होइन । किनभने जनताले यसपटक यस्ता किसिमका अव्यवहारिक कुराहरूलाई, अव्यवहारिक एजेण्डाहरूलाई स्थान दिनु हुनेछैन ।
सँगसँगै मसँगको प्रतिस्पर्धामा नेपाली कांग्रेसका देवकुमार थवेज्यू हुनुहुन्छ । उहाँको पनि मैले कुनै पनि स्पष्ट भिजन देखेको छैन । उहाँ अघिल्लो निर्वाचनमा २५ हजार मत पाएर पनि निर्वाचित हुन सक्नुभएन । त्यसपछि पनि उहाँको योगदान त्यस ठाउँमा, त्यस ठाउँको विकाससँग जोडिनका लागि कुनै हदसम्म नभएको भन्ने कुरा अहिले जनतासँग स्पष्ट छ । उहाँहरूसँग कुनै ठोस योजना छैन ।
म उहाँहरूबाट किन अलग छु भने हिजोको दिनमा भनिन्थ्यो, चुनाब पैसाको कारणले जितिन्छ । विपन्न वर्गलाई अपमानित गरेर, समुदायहरूलाई अपमानित गरेर रक्सीमा बिक्छन् भनेर, उहाँहरूको भोट किन्ने दाउमा अहिले पनि मेरा हेवी वेटहरू हुनुहुन्छ भने उहाँहरू कति असफल राजनीतिज्ञ । पाँच वर्षअघि पनि त्यही अवस्थामा हुनुहुन्थ्यो । आज पनि त्यो समुदायहरूको मजवुरीलाई फाइदा उठाएर भोट किनेरै जित्ने योजनामा हुनुहुन्छ भने यसपल्ट झापा क्षेत्र नं ४ ले न्याय दिन्छ ।
अर्को कुरा के छ भने झापा जिल्लामा म एकल महिला उम्मेदवार र यसपटक त अझ पनि महिलाको उपस्थिति चुनावी मैदानमा निकै कम भएको अवस्थामा, युवा पहिलेको भन्दा पनि कम संख्यामा आउनु भएको हुँदा, दलहरूको तर्फबाट एकदमै न्यून उपस्थिति भइरहेको बेलामा मेरो क्षेत्रमा यसपल्ट न पैसामा बिक्छन् जनता न उहाँहरूका अव्यवहारिक चुनावी एजेण्डामा । न मेरो जनतालाई सुनको थालमा खाना खानु छ, न तीन तले घरमा बस्नु छ । म उहाँहरूको दैनिक जीवनलाई सरल हुने गरी उहाँहरूलाई रोजगारसँग जोडेर, उहाँहरूले आफ्नै कमाईले खान सक्ने हैसियतमा पु¥याउने मेरो योगदान रहनेछ ।
मेरा प्रतिस्पर्धीहरू हेवी वेट हुनुहोला, उहाँहरूको पार्टी ठूलो होला तर ३० वर्षदेखि गर्न नसकेको पार्टीले अब ५ वर्ष थपिँदा कुनै पनि विकास गर्छ भन्ने तुक रहेन । अब जनता सजग भैसके । यसपल्ट जनताले उहाँहरूको पक्षमा होइन, हामीजस्तो स्वतन्त्र र सक्षम वा पार्टीकै भए पनि एकदमै राम्रो व्यक्तिमा मात्रै उहाँहरूले मत खसाल्नुहुन्छ ।
कत्तिको खर्चवर्च हुनेरैछ चुनावमा ?
म एकदमै सामान्य तरिकको चुनावी अभियान तयारीमा छु किनभने मलाई लाग्छ पैसाले चुनाब जित्ने होइन । हामीले एउटा राम्रो टीम बनाएर अगाडि बढ्यौं भने धेरै पैसा खर्च गर्नु पर्दैन । केही न केही त पक्कै पनि खर्च हुन्छ । म कुनै तामझाम गरेर, एकदमै मासुभात ख्वाएर, गाडीहरूमा तेल हालेर, बाइकहरूमा तेल हालेर होइन, जनताले मेरो कुरा सुन्न चाहेको छ, मेरो एजेण्डा सुन्न चाहेको छ, म आफैं जनताकहाँ पुग्छु । म उहाँहरूलाई मेरो कुरा राख्छु । हरेक घरहरू, हरेक टोलहरूमा जाने प्रयास गर्छु । अस्ति चुनाबको उम्मेदवारी नै दर्ता गर्ने क्रममा पनि म सामान्य रुपले आफ्नो परिवारसँग गएँ । शुभचिन्तकसँग गएँ, मैले दर्ता गरेँ, आएँ ।
यहाँ विभिन्न दलको तपाईंले उम्मेदवारी हेर्नुभयो भने एकदम बाजागाजाका साथ, एकदमै नाचगानका साथ जन्ती गएजस्तो गरिएको छ । त्यसरी गरियो भने त पक्कै पनि पैसा धेरै नै खर्च हुन्छ । मेरो त्यो शैली होइन । मेरो लागि चुनाबमा जानु भनेको एउटा दायित्व हो, जिम्मेवारी हो । यसलाई मैले कुनै अवसरको रूपमा लिएको छैन । यो एकदमै गहन जिम्मेवारी हो । यसलाई एकदमै गम्भीरतापूर्वक लिएको छु । म सामान्य तरिकाले जनतासम्म पुग्छु । म आफैं मेहेनत गरेर पुग्छु, घरदैलो गरेर पुग्छु । जान्छु, भेट्छु । साथीभाइ शुभेच्छुकहरूको साथ छ, नेटवर्किङ् गर्छु । त्यसरी म चुनावमा जाने योजनामा छु ।