कनकाई अनलाईन
प्रदेश नम्बर १ को सर्वाधिक जनसहभागिता रहने छठ पूजा स्थलको पहिचान बनाएको भद्रपुर स्थित मेची नदीमा भव्य रूपमा छठ पूजा गरिएको छ ।
छठ पूजा तराइबासीको महत्वपूर्ण पर्व मानिए पनि भद्रपुरको मेची किनारमा हिमाली, पहाडी मारवाडी, बंगाली लगायत सम्पूर्ण जात जातिको साझा प्रतिनिधित्व हुने गरी समावेशी रूपमा अस्ताउँदो सूर्यलाई अर्घ दिएर पूजा गरिएकोे हो ।
नेपाल–भारतको सिमावर्ती क्षेत्रमा पर्ने झापाको भद्रपुर स्थित मेची नदीमा
मनाउदै आएको छठ पर्वमा ५ हजार बढी पूजा स्थल निर्माण गरी नदीको वारिपारी दुवै पट्टिबाट हिमाल, पहाड र तराइका बासिन्दाले सहभागी भएर साझा पर्व मनाएका छन् ।
दशकौंदेखिको पूजा स्थलको पहिचान बनाएको मेची घाटमा पूजा स्थल सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका सुरक्षा कर्मीले सम्युक्त सुरक्षा गस्ती गरिरहेका छन् ।
पछिल्ला वर्षहरुमा भद्रपुर तथा भारतको गलगलियाका स्थानीयले यस पर्वलाई समावेशी साझा पर्वको रूपमा लिने गरेको समेत पाइएको छ । चारदिनसम्म मनाइने छठ पर्वमा तेस्रो दिन बेलुका अस्ताउँदो सूर्यलाई अर्घ दिने र चौथो दिन विहान उदाउदो सूर्यलार्य अर्घ चढाएपछि सम्पन्न हुने छ । यो पर्वमा जन सहभागिता नेपालको जनकपुर पछिको दोस्रो स्थान भद्रपुरले लिने गरेको मैथिल समाजको दावी रहने गरेको छ ।
नेपालका मात्र नभएर भारतको विहार तथा बंगाल राज्यका व्रतालु भक्तजनहरु यसै नदीमा छठ पर्व मनाउदै आएकाले भद्रपुरको छठ पर्वको छुटै विशेषता रहने गरेको छ । यसको व्यवस्थापनका लागि भद्रपुर नगरपालिका संरक्षक तथा मैथिल समाज लगायत विभिन्न सामाजिकसंघ संस्था, उद्योग, व्यापारिक प्रतिष्ठान, राजनीतिक दलहरू सहयोगी र दाता निकायका रूपमा रहेका छन् ।