कनकाई अनलाईन
लामो समयपछि प्रेससामु उपलब्ध भए कांग्रेस नेता कृष्णप्रसाद सिटौला । झापा(३ बाट प्रतिनिधिसभा सदस्यमा कांग्रेस उम्मेदवार बनेका उनी राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग प्रतिस्पर्धामा छन् ।
तत्कालीन विद्रोही माओवादीसँग बाह्रबुँदे सहमति, शान्ति प्रक्रिया, संविधान निर्माणसम्म महत्वपूर्ण भूमिका खेलेका उनी बीचका केही वर्ष छायाँमा रहे ।
आसन्न चुनावका लागि सत्ता गठबन्धनभित्रको सिट बाँडफाटसम्बन्धी कार्यदलमा संयोजक भई काम गरेका उनी राष्ट्रिय राजनीतिको केन्द्रमा फेरि एकपल्ट देखिने क्रममा छन् । उनीसँग अनलाइनखबरले गरेको कुराकानी .
बीचमा तपाईंलाई निकै समय हेर्न, सुन्न पाइएन । कस्तो चल्दैछ चुनावको राजनीतिक माहोल ?
तपाईंले ठीकै भन्नुभयो । म आजकाल प्रेससँग एकदमै कम गइराखेको मान्छे हुँ । मलाई सम्झेर अन्तर्वार्ता लिइदिनुभएकोमा तपाईंलाई धन्यवाद । समग्र माहोल हाम्रो अनुकूल नै छ । सत्ता गठबन्धनको बीचमा धेरै चरणमा छलफल र अन्तरक्रिया गरिसकेपछि सिट बाँडफाट भएको छ ।
त्यसमा कांग्रेसको तर्फबाट धेरै साथी संघ र प्रदेश सभामा उम्मेदवार बन्नुभएको छ । म उहाँहरूसहित गठबन्धनका सबै साथीको सफलताका लागि वातावरण बनाउने भूमिकामा लागें । अहिले भर्खरै झापा आएको छु । यहाँको चुनावी माहोल एकदमै राम्रो छ । यसपल्ट विजय हुन्छ भन्ने कुरामा मलाई एकदमै विश्वास भएको छ ।
विगतमा तपाईंले जित्दै आउनुभएको प्रतिस्पर्धीले अघिल्लो चुनावमा तपाईंलाई हराउनुभयो । यो पल्टको प्रतिस्पर्धा कस्तो होला ?
चुनावमा म यहाँबाट निरन्तर उम्मेदवार छु । तर मैले चुनाव जितेको जम्मा तीनपल्ट हो । मध्यावधिमा, २०५६ मा र दोस्रो संविधानसभामा । तर विभिन्न परिस्थितिका कारण पूरा कार्यकाल बिताउने अवसर मिलेन ।
मैले पूरा कार्यकाल बिताएको भनेको दोस्रो संविधानसभामा मात्रै हो भन्दा पनि हुन्छ । किनभने २०५६ मा जितेको केही समयमै राजाको शासन सुरु भयो । त्यसपछि हामी आन्दोलनमा जानु परिहाल्यो । पहिलो संविधानसभामा पराजित भइयो ।
दोस्रो संविधानसभामा जितेर मैले चार वर्ष कार्यकाल पूरा गरेको हो । संविधान जारी भएपछिको चुनावमा म पराजित भएँ । यसपल्ट चाहिं साथीहरूले विगत पाँच वर्षको मूल्यांकन गरेर सिटौला आवश्यक हो भन्ने ठानेका छन् । त्यसैले म जितेर संसदमा आउँछु ।
सत्ता गठबन्धनका दलहरूबीच तालमेल गर्न गठित कार्यदलको संयोजकका रूपमा काम गर्नुभयो । त्यसले कत्तिको प्रभावकारी ढंगले काम गर्न पायो ?
हामीले सुझाव दिंदाखेरि पार्टीहरूको देशव्यापी रूपमा के कस्तो स्थिति थियो, पाँच वर्षअघि तिनको अवस्था के थियो, अस्ति स्थानीय चुनावमा पाएको मत सबै हेरेर निर्णयका लागि सुझाव दिएका हौं । समग्रमा ठिकै भएको छ ।
तर निर्णयका लागि शीर्ष नेतृत्व नै कुर्नुपर्यो होइन ?
अन्तिम निर्णय त शीर्ष नेतृत्वले नै गर्ने हो । हाम्रो काम भने देशभरिको समग्र अवस्था अध्ययन गर्ने, अनि सिट बाँडफाटको सबैभन्दा वस्तुगत, व्यावहारिक र सन्तुलित विधि अवलम्बन गर्ने थियो । त्यो हामीले गरेका छौं । त्यसैलाई आधार मान्दै अहिले उम्मेदवारहरूको बाँडफाट भएको छ ।
तपाईंको व्यक्तिगत राजनीतिक पृष्ठभूमि गणतन्त्र स्थापनासँग जोडिन्छ, तर तपाईंको प्रतिस्पर्धा चाहिं कट्टर राजतन्त्रवादी शक्तिका अध्यक्षसँग भइरहेको छ नि ?
पार्टी जे भए पनि उहाँ ९राजेन्द्र लिङ्देन० ले राजतन्त्रको माग गरेर भोट पाएको होइन । उहाँलाई वाम गठबन्धनले जिताएको हो । एमाले, माओवादी लगायतका शक्तिले भोट हालिदिएपछि उहाँको बढी भयो । उहाँकै मत त्यस्तो बढी होइन । तर राजावादीलाई एमाले र माओवादीले किन विगतमा बोके, यो बुझिएको छैन ।
यहाँ मेरो प्रतिस्पर्धामा एमाले छैनन् पनि । तर यसपालि पनि किन एमाले नेतृत्वले राजतन्त्रवादीलाई बोकेको हो, मलाई एकदमै अचम्म लागेको छ । झापाबाट जन्मेको पार्टी हो एमाले । लामो संघर्ष, बलिदान भएको पार्टी हो । हामी निरंकुश पंचायतका मानिसहरूलाई मण्डले भन्थ्यौं । मण्डलेबाट दमन भोगेकै पार्टी हो एमाले ।
एमालेले झन् बढी दमन भोगेको हो कांग्रेसभन्दा पनि । २०४६ सालदेखि २०६२–६३ को आन्दोलनमा समेत भद्रपुरमा सयौं मानिस घाइते भए । दुई जना त शहीद नै भए । यस्तो सहादत प्राप्त गरेको ठाउँमा एमालेले फेरि राजतन्त्रवादीलाई नै समर्थन गर्ने गल्ती किन दोहोर्यायो, मलाई आश्चर्य लागेको छ । यो संविधानको जग भनेको गणतन्त्र हो ।
२००७ सालको परिवर्तनको मौलिक उपलब्धि भनेको लोकतन्त्र थियो । त्यस्तै अहिले २०६३ को परिवर्तनको मौलिकता चाहिं गणतन्त्र हो । यत्रो परिवर्तन ल्याउन भूमिका खेल्ने शक्तिले राजतन्त्रवादी शक्तिलाई पटक–पटक बोक्नु राम्रो होइन ।
गणतन्त्रले सही ‘डेलिभर’ नगर्दा अरू पात्रहरूले प्रोत्साहन पाउन थालेका हुन् भन्ने तपाईंलाई लाग्छ ?
लाग्छ । तपाईंले खासमा सही कुरा उठाउनुभयो । पार्टीहरू सिद्धान्त, आदर्श, मूल्य–मान्यतामा आधारित भएर चल्दा त्यस्तो हुँदैनथ्यो । निजी स्वार्थमा आधारित भएर चल्दा स्थिति फरक हुँदै जाँदोरहेछ ।
संविधान निर्माणपछि चुनाव त भएको थियो तर यो संविधानको वास्तविक कार्यान्वयन अहिलेसम्म पनि हुन सकेन । जति पनि कानुनहरू संसदबाट निर्माण हुन सक्नुपर्थ्यो, सारमा एउटा पनि निर्माण हुन सकेन । त्यसैले संविधानको जीवन्त रूप वास्तवमा देख्न पाइएन । यसले गर्दा जनतामा वितृष्णा बढ्दै गयो ।
गणतन्त्रले के दिन्छ भन्ने खालको पनि सोच उत्पन्न भयो होला । तसर्थ आगामी संसद्बाट हामीले संविधानको कार्यान्वयनका लागि सही र वास्तविक पहल गर्न सक्नुपर्छ ।कानुनहरू बनाउनुपर्छ । जनताले संवैधानिक व्यवस्थाबाट हामीलाई आर्थिक प्रगति भो, सामाजिक सांस्कृतिक प्रगति भो भन्ने महसुस गर्न पाउनुपर्छ । हामीले त्यस्तो अवस्था निर्माण गर्नुपर्छ । सत्तापक्ष, प्रतिपक्ष संसद्मा जो भए पनि समग्रमा हामीले निश्चित दूरी र समझदारी दुवैमा बसेर काम गर्न सक्नुपर्छ ।
अघिल्लो संसद् चाहिं संविधान कार्यान्वयनमा अघि बढ्न सकेन भन्ने तपाईंको निष्कर्ष हो ?
एकदमै । त्योभन्दा पहिले संविधानसभा बन्दाखेरि योभन्दा बढी चुनौती थियो । ६०१ को संविधानसभा आफैंमा निकै ठूलो थियो । त्यो विभिन्न दृष्टिकोणको थलो थियो । ती सबैलाई जोडेर संविधान बनाउन निकै चुनौतीपूर्ण थियो । म आफैं मस्यौदा समितिमा थिएँ ।
लोकतान्त्रिक गणतन्त्रको जगमा सबैलाई समेट्दै अघि बढ्न हामी सफल भयौं । संविधान जारी भएपछि वाम गठबन्धनले झण्डै दुई तिहाइ बहुमत पुर्यायो । तर त्यसभित्र यति ठूलो खैलाबैला भयो कि, सिंगै देशले त्यसको परिणाम भोग्नुपर्यो । सत्ता र प्रतिपक्षले निश्चित समझदारीका आधारमा साझा एजेण्डा बनाउनुपर्छ । म निर्वाचित भएर गएपछि यसका लागि भूमिका खेल्छु ।
तपाईंलाई चुनावकै मुखमा उठेका पुराना प्रसंगहरू सम्झाउँ । जनआन्दोलनको सफलतासँगै २०६३ जेठ ४ को पुनर्स्थापित संसद्को ऐतिहासिक घोषणामा तपाईं र सुवास नेम्वाङ मिलेर विभिन्न मुद्दा सुटुक्क छिराएको आरोप लागिरहन्छ किन ?
झुटै कुरा होस्, अथवा काल्पनिक कुरा होस्, पटक–पटक बोलेपछि मानिसहरूलाई साँचो पो हो कि भनी सोच्न थाल्छन् । यस्तो हल्ला चलेका बेला साँचो कुरा पनि कहिलेकाहीं दबेर जान्छ । चाहे पहिलेको आन्दोलनका बेलाको घोषणा होस्, या संविधानसभाले बनाउने संविधान– साझा सहमतिबेगर कुनै पनि कुरा हुन सम्भव छ रु सम्भव हुन सक्छ ?
आन्दोलनबाट आएका राम्रा पक्षचाहिं आफूले बनाएँ भन्ने, आफूलाई चित्त नबुझेको कुरा आयो भने मलाई थाहै नदिई सही गराए भन्ने किसिमको गैरजिम्मेवार कुरा गर्नु हामीजस्तो नेताहरूले उचित हुँदैन । मेरो नाम आए पनि या संविधानसभा अध्यक्ष सुवास नेम्वाङको नाम आए पनि कुरा त्यही हो ।
उहाँले संविधान निर्माणका बेला कुशलतापूर्वक काम गर्नुभएकै हो । मलाई आजको दिनमा लाग्छ, हामीले संविधानसभाबाट यी एजेण्डा नै हामीले उठाएको हो । मतदाताले फेरि किन आउनुभो भन्दा पहिले जित्न सकिनँ । अब जितेर संविधान बनाउन आएको हुँ भनें । कसैलाई झुक्याएर, अल्मल्याएर राजनीतिक निर्णयहरू गराउन सम्भव छैन ।
तपाईंकै पार्टीका शेखर कोइराला जस्ता नेताले समेत तपाईंलाई जोडेर टिप्पणी गर्नुभयो । गिरिजाप्रसाद कोइरालालगायत शीर्ष नेताले बालुवाटारमा गरेको सहमतिमा उल्लेख नभएको कुरा बीचमा थपिएको हो ?
मेरो स्वभाव के छ भने, म नेताहरू बारेमा नकारात्मक टिप्पणी गर्नै चाहन्न । तर तपाईंले यति सोधिसकेपछि मैले भन्नुपर्छ, यो उहाँहरूको जिम्मेवार बोलाइ नै होइन । गैरजिम्मेवार भनाइ हो यो । उहाँहरूले यसो भन्दाखेरि गिरिजाप्रसाद कोइरालामाथि नै अपमान हुन्छ । यो कुरा याद राखेर बोल्ने गर्नुहोस् ।
कोइराला त स्वर्गारोहण भइसक्नुभयो । उहाँलाई थाहा नभइकन प्रतिनिधिसभाको त्यो घोषणा भयो, शान्ति प्रक्रिया टुंगियो, चुनाव भयो भन्ने किसिमका कुरा भन्नुहुँदैन हामीले । संसदबाट भएका महत्वपूर्ण ऐतिहासिक घोषणा र निर्णयहरू कसैलाई छक्याएर हुन सम्भव नै हुँदैन । यसमा के षड्यन्त्र खोजिराख्नुभएको हो रु यसमा नबुझिने कुरा के छ र त्यस्तो रु त्यसैले या त उहाँहरूले नबुझेर यो भन्दै हुनुहुन्छ, या त बुझ पचाएर भन्दै हुनुहुन्छ ।
कोठामा लेखेको सहमतिलाई संसदमा एकैचोटि ढ्याप–ढ्याप गरेर पास गर्न लगाउनुभएको होइन ?
कुरा कस्तो हुन्छ भने, घरमा कुनै निर्णय गर्नु पर्दाखेरि त सबैजना बसेर सल्लाहले गरिन्छ । त्यो त विशाल जनआन्दोलनबाट आएको संसद् थियो । गणतन्त्रको आन्दोलनबाट आएको संसद् हो । त्यसैले हामी त्यहाँभित्र पस्दा नै राजाको कुर्सी हटाउँदै प्रवेश गरेको हो । कहाँ त्यस्तो नचाहिंदो आशंका गरेर हुन्छ रु
२०६३ जेठ ४ मा भएको चाहिँ के थियो र?
म यो बेला सबै कुरा सम्झिनँ सक्दिनँ । त्यो आवश्यक पनि छैन । तर राजावादी विचार भएकाहरू के ठान्ने गर्छन् भने सिटौलाकै कारण गिरिजाबाबु गणतन्त्रमा जानुभयो, नत्र उहाँ त्यो निर्णयसम्म जानुहुने थिएन भन्छन् । त्यो एकदमै मूर्ख्याइँ सोच हो ।
पार्टी केन्द्रीय समिति बोलाएर, महासमितिले निर्णय गरेर, सर्वसम्मत ढंगले गणतन्त्रमा पुगेको पार्टी हो नेपाली कांग्रेस । यति कुरा बुझीबुझी मलाई बेकारमा विवादित बनाउन खोजिन्छ । स्पष्ट कुरा के हो भने, राजावादीले मलाई मन पराउँदैनन् । किनभने म राजावादी हुन सक्दिनँ ।
बाह्रबुँदे समझदारीलगायत भूमिका खेलेको कुरालाई हिजो दरबारको हण्डी खाएका मानिसहरूले प्रहार गरेका छन् । तर मेरै साथीहरूले किन बुझेर पनि बुझ पचाउँछन्, या बुझ्दैनन् उहाँहरूलाई नै सोध्नुहोला ।
षड्यन्त्रपूर्वक धर्मनिरपेक्षता ल्याउनुभएको कुरा पनि तपाईंकै कांग्रेसका नेताहरू उठाइराख्नुहुन्छ नि ?
त्यो बेकारको कुरा हो । बरु संविधानमा धर्मनिरपेक्षताको व्याख्या लेख्दा राज्यले सनातन धर्म संस्कृतिको संरक्षण गर्नुपर्छ भन्ने विषय, अनि राष्ट्रिय जनावर गाई हुनुपर्छ भन्ने विषय मैले नै राखेको प्रस्ताव थियो । त्यही नै पछि संविधानभित्रको कन्टेन्ट बन्यो । सिटौला कुन संस्कार, संस्कृतिको मान्छे हो भन्ने बुझीबुझी मानिसहरू खनिन्छन् त मेरो के लाग्छ १
उसो भए, यस किसिमका प्रहार किन भइरहेका छन् ?
जसले जतिसुकै कट्टर सोच राखेर हिंडे पनि कांग्रेसले नरम भएर सबैलाई मिलाउँदै हिंडेको पार्टी हो । २०४६ सालमा गणेशमानजीले वामपन्थीलाई समेत समेटेर आन्दोलन अघि बढाउनुभयो । हामीले कम्युनिस्टहरूलाई, वाम विचारधाराका साथीहरूलाई साथमा लिएर लोकतन्त्रको बाटोमा अघि बढ्ने काम गरेका हौं ।
नेपालको वास्तविकतामा उभ्याएर लोकतन्त्रको मार्गमा अघि जाऔं भनेर बीचमा बसेर अघि बढ्यौं । यसको राष्ट्रिय अन्तर्राष्ट्रिय अर्थ हुन्छ । हामी विशाल दुई देशहरूको बीचमा भएकाले गर्दा पनि संवेदनशीलतापूर्वक एजेण्डाहरू लिनुपर्छ । बाह्य सम्बन्धबारे पनि साझा एजेण्डा तयार गर्दै देश बलियो बनाउनुपर्छ भन्ने सोचाइ कांग्रेस पार्टीको हो ।
हामीले गणतन्त्र घोषणा गरेपछि राजालाई दरबारबाट बिदा गर्न म आफैं गएँ । हामी शान्तिपूर्ण रूपान्तरण गर्न चाहन्थ्यौं । रक्तपातहरूबाट नेपाललाई मुक्त गरौं भनेर माओवादीलाई शान्तिमा ल्यायौं । राजालाई हटाउने काम शान्तिपूर्ण बाटोबाटै भएको छ । त्यसैले संसारलाई नै उदाहरण हुने गरी हामी अघि बढेका हौं ।
त्यसैले स्वस्थ शान्तिपूर्ण प्रतिस्पर्धाका लागि चुनावबाट अघि बढ्ने कुरा गरेका हौं । कसैले कसैलाई पेलेर जाने प्रवृत्ति अन्त्य हुनुपर्छ । त्यसैले हामी बीचमा बसेर सबैलाई लिएर अघि बढेको हो । कसैले तितो बोल्यो भन्दैमा हामी त्यसरी नै व्यवहार गर्दैनौं । जिम्मेवार भएर भूमिका खेल्छौं ।
अब टिकटको कुरा गरौं । तपाईंसँग निकट भएका कांग्रेस आकांक्षीले सोचेजस्तो संख्यामा टिकट पाउन सकेनन् भन्ने सुनिन्छ नि ?
त्यो हो । यसमा दुई कारण छन् । गठबन्धनबाट क्षेत्र बाँडफाट गर्दा केही साथीहरूले पाउनुभएन । क्षेत्र छाड्नुपर्ने भयो ।पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा मसँग जोडिएका साथीहरूले पनि त्यसै क्रममा पाउनुभएन ।
त्यसमा कताबाट के कमजोरी भयो भन्नेबारे म अहिले चुनावका बेलामा केही भन्न चाहन्नँ । तर समानुपातिक प्रणालीतर्फ उम्मेदवार छनोट गर्दा गल्ती भएका छन् । त्यसलाई सच्याउने संकल्प गर्नुबाहेक कुनै उपाय छैन ।
अहिले गठबन्धनबाट जुन निर्णय भएका छन्, त्यसलाई एकताबद्ध भएर सघाऔं, यसका उम्मेदवार जिताऔं भन्ने अनुरोध तपाईंको मिडियामार्फत गर्न चाहन्छु । नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाऔं । विगतमा सरकारहरूले गर्न नसकेको गुनासो सम्बोधन हुने गरी अब हाम्रो नेतृत्वमा काम गरौं ।
यो पल्ट कांग्रेसले चुनावमा के एजेन्डा लिएर जान्छ ?
यो पल्टको चुनावमा संविधानको रक्षा, देशको विकास, जनताको आर्थिक प्रगति र समृद्धि । मुख्य मुद्दा यही हुनेछ । एमाले र माओवादी एकताबद्ध भएर ठूलो कम्युनिस्ट बनाए पनि उनीहरूको आन्तरिक खैलाबैलाले देशमै समस्या आयो । देशले प्रगति हासिल गर्न सकेन । यसबारे मैलेभन्दा कडा कुरा त उहाँहरूले नै गर्नुहोला ।
तर पछिल्ला वर्षमा कांग्रेसले पनि त्यही खैलाबैलालाई नै निरन्तरता त दिइरहेको छ नि, होइन ?
खासमा वाम गठबन्धनमा भएका दलहरू आपसी झगडामा नलागेको भए हामीले यो सरकार बनाउनै पर्दैनथ्यो । हामी त २३ सिटमा खुम्चेर बसेका थियौं नि १ त्यसैले यो त वास्तवमा भन्ने हो भने बाध्यताको सरकार हो । अबको चुनावपछि कांग्रेसले स्थिरता र प्रगतिको सुनिश्चितता गर्ने कामको नेतृत्व गर्नुपर्छ । हामी गर्छौं ।
संविधानमाथि कुनै खतरा देख्नुभएको छ ?
त्यस्तो खतरा त देखेको छैन । तर विगत पाँच वर्षमा संविधान कार्यान्वयनमा उल्लेख्य प्रगति नहुनु, बरु उल्टै यसका संचालकहरूबाट गल्ती हुनु राम्रो होइन । यो व्यवस्थाको विरुद्धमा हल्ला फैलाउनेलाई मौका मिल्यो । जनताले चाहेको काम यो बीचका सरकारले गर्न सकेनन् । कम्युनिस्ट पार्टीबीचको फुटले त्यसलाई प्रभाव पार्यो ।
यत्रा बागी छन् । कांग्रेस सबल र मजबुत भएर चुनावमा जाला ?
जुन साथीहरूले क्षणिक आवेगमा उम्मेदवारी दिनुभयो, केन्द्रको निर्देशनपछि कतिपयले फिर्ता पनि लिनुभयो । कतिपयले अर्को पक्षसँग मिलेर तालमेल गरेको पनि देखिन्छ । यस्तो कुरा हुनुहुँदैन । सबै जना भावनात्मक एकतासहित चुनावमा जानुपर्छ । र, सकेसम्म राम्रो गर्नुपर्छ ।
नेतृत्वबीचमा चाहिं कस्तो सम्बन्ध छ रु सभापतिसँग तपाईंको सम्बन्धकै पनि कुरा गरौं न ?
मेरो सम्बन्ध शेरबहादुर देउवाजी, रामचन्द्रजी लगायत युवा नेतासम्मै राम्रो छ । एमालेका केपी ओली, सुवास नेम्वाङलगायत सबैसँग राम्रो छ ।
माओवादीमा प्रचण्डजीलगायत सबैसँग राम्रो छ । उहाँहरूले मेरो बारेमा के ठान्नुहुन्छ उहाँलाई सोध्नुहोला । तर शान्ति प्रक्रियामा योगदान गर्न पाएकाले, गणतन्त्र ल्याउन काम गरेकाले पार्टी भित्र र बाहिर सबैतिर मेरो राम्रो छ ।
अब गृहजिल्लातर्फ फर्कौं । महामन्त्री विश्वप्रकाश शर्मासँग तपाईंको तिक्ततापूर्ण सम्बन्ध छ भन्ने बुझाइ छ । अस्ति स्थानीय चुनावमा पनि त्यसको असर देखियो । आसन्न चुनावमा पनि त्यस्तै हुन्छ ?
यो त नबुझ्नेहरूले, यथार्थ थाहा नपाउनेहरूले भन्ने कुरा हो । हामी पार्टीका बैठकहरूमा सँगै बसेका छौं । उम्मेदवारी मनोनयन गर्न आउँदा एउटै हवाईजहाजमा आयौं । हाम्रो बीचमा कुनै भ्रम नछरियोस् । झापा जिल्ला र समग्रमै हामी एक भएर जान्छौं । पार्टी एक भएर जान्छ । तल–माथि हुने कल्पना नै गर्न सकिन्न ।
विश्वप्रकाशप्रति तपाईंको कुनै त्यस्तो भावना नै थिएन, छैन ?
विश्वप्रकाशप्रति मेरो सधैं सकारात्मक भावना थियोस छ र हुनेछ ।
यसपालि चुनावमा विश्वप्रकाशको क्षेत्रमा तपाईं, तपाईंको क्षेत्रमा विश्वप्रकाशले भाषण गरेको सुन्न पाइन्छ ?
समय यति थोरै छ । भाषणका कार्यक्रम कति राख्न भ्याइएला रु अहिलेसम्म सभाका कार्यक्रम बनेकै छैनन् । म भर्खरै आउँदैछु । संयुक्त संयन्त्र बनाएर जानुपर्ने आवश्यकता छ । कतिपय संयुक्त गर्दा नि भो, कतिपयलाई आफ्नो क्षेत्र अनुरुप एक्लाएक्लै गर्दा नि भो । समस्या के पर्यो भने मेरो क्षेत्रमा २८ वडा छन् ।
विश्वप्रकाशकहाँ पनि त्यस्तै होलान् । एक दिनमा एउटा वडा पुग्दा पनि एक महिना लाग्छ । समय पहिले नै कम भइसक्यो । त्यसैले कतिपय कुरा चाहेर पनि कठिन होला । समय पनि धेरै छैन । तर परस्पर सहयोग र समझदारी हुनेमा कत्ति पनि शंका नगर्नुहोला । हामी आन्तरिक समझदारी र सहकार्यका लागि एकमत छौं ।
राजेन्द्र लिङ्देनलाई चाहिं कुन स्तरको प्रतिस्पर्धी ठान्नुभएको छ ?
उहाँको पार्टीको मत खासमा एकदमै कम हो । एमालेको समर्थनमा उठ्नुभएको छ । एमालेका मतदाताहरूको समर्थन कति मिल्छ भन्ने मूल प्रश्न हो । यो जिल्ला एमालेका कार्यकर्ताहरूको निकै ठूलो संघर्ष भएको जिल्ला हो । मेरो क्षेत्र पंचायतकालदेखि नै यही हो ।
विगतमा एकपटक राजावादीलाई मत हाल्न लगाए भन्दैमा यसपटक पनि लगाउलान् जस्तो लाग्दैन । कम्तीमा गणतन्त्रको आन्दोलन हाम्रो हो । हामीले अत्यन्तै ठूलो बलिदान गरेका छौं । त्यसैले आफ्नै शहीदहरूलाई सम्झेर पनि राजावादीलाई एमालेका मतदाताले छोड्नुपर्छ ।