Kanakai Online

झापा ३ मा संघमा १८ र प्रदेशमा २० जनाले उम्मेदवारी दर्ता आज केहिले र्फिता लिने


मङ्गलवार, असोज २५, २०७९ |

कनकाई अनलाईन

भद्रपुर । झापा क्षेत्र नम्वर ३ मा प्रतिनिधि सभामा १८ जना तथा प्रदेश सभा १ मा ८ जना र प्रदेश सभा २ मा १२ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

दलीय र स्वतन्त्र गरी प्रतिनिधि सभाका लागि १८ जना तथा प्रदेश सभाका लागि ३ क मा ८ जना र ख मा १२ जनाले उम्मेदवारी दर्ता गरेका हुन् ।

३ जना दलविहिन स्वतन्त्र सहित १५ जना दलीय उम्मेदवारका रूपमा संघीय संसदको दावेदारी सहित जनअनुमोदनका लागि उम्मेदवारी दर्ता गरेका छन् ।

पहिलो नम्वरमा लोसपाका देवेन्द्र किशोर ढुंगानाले उम्मदवारी दर्ता गरेका छन् । दोश्रो नम्वरमा सत्ता गठबन्धनका साझा उम्मेदवार कृष्णप्रसाद सिटौला, तेस्रो नम्वरमा एमाले राप्रपा गठबनधनका साझा उम्मेदवार राजेन्द्रप्रसाद लिङ्देन, चौथो नम्वरमा सचेत नेपाली पार्टीका ओमप्रकाश खरेलले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यसैगरी मंगोल नेशनलका श्यामबहादुर लिम्बू, स्वतन्त्र प्रेमप्रसाद खनाल, डम्वरबहादुर गिरी, मौलिक जरोकिलो पार्टीका चुडामणि अधिकारी, राप्रपा नेपालका देवीरमण भट्टराई, ने का वीपिीका मुक्तिप्रसाद पनेरू, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश पाठक, जसपाका बीरबहादुर राई, हाम्रो नेपाली पार्टीका योगेन्द्रप्रसाद खनाल, राजमुपाका गजेन्द्रप्रसाद लिम्बू, जनमत पार्टीका भोटलाल राजवंशी, स्वतन्त्र मनोरथ राजवंशी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका डम्बरबहादुर लिम्बूले उम्मेदवारी दर्ता गरेका हुन् ।

गत निर्वाचनदेखि यस क्षेत्रमा प्रमुख प्रतिष्पर्धी मानिएका सत्ता गठबन्धनको तर्फबाट झापा क्षेत्र नम्वर ३ मा पूर्व उपप्रधान तथा गृह मन्त्री कृष्णप्रसादसिटौलाले वारेसनामा मार्फत उम्मेदवारी दर्ता गराएका छन् भने एमाले राप्रपा गठबन्धनबाट राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले उम्मेदवारी दर्ता गरेका छन् ।

काँग्रेस नेता सिटौलाले सत्ता गठबन्धनको ४ दलका तर्फबाट झापा ३ मा वारेसनामा मार्फत उम्मेदवारी दर्ता गराएका हुन् भने प्रमुख प्रतिपक्षी नेकपा एमालेसितको गठबन्धनबाट राप्रपा अध्यक्ष लिङ्देनले उम्मेदवारी दर्ता गरेका हुन् ।

सिटौलाको प्रस्तावकमा नेपाली कांग्रेस भद्रपुर नगरका पूर्व सभापति मोहन महर्जन र समर्थकमा भद्रपुर नगर प्रमुख तथा नेपाली कांग्रेस झापा क्षेत्र नं. ३ का सभापति गणेश पोखरेल रहेका छन् भने लिङ्देनको प्रस्तावकमा राप्रपका माधव पोखरेल र समर्थकमा एमालेका लक्ष्मण पाठक बसेका छन् ।

संघीयता कार्यान्वयनपछिको पहिलो निर्वाचनमा निर्वाचनमा धर्म निरपेक्षता सहितको संघीय गणतन्त्रका पक्षधर सिटौलालाई राजतन्त्रका पक्षधर लिङ्देनले पराजित गरेका थिए । अघिल्लो निर्वाचनमा समेत नेकपा एमालेको सहयोगमा निर्वाचन जितेका लिङ्देन यस पटक पनि एमालेकै सहयोगमा निर्वाचन जित्ने दाउमा छन् भने सिटौला माओवादी, नेकपा संघीय समाजवादीको सहकार्यमा जित निकाल्न लागि परेका छन् ।

यस्तै प्रदेश सभा तर्फ क मा मंगल नशनल अर्गनाइजेसनका मदनहाङ तावा, नेकपा एमालेका बसन्त बानियाँ, स्वतन्त्र हेमलाल भट्टराई, नेपाली काँग्रेसका भूमिप्रसाद राजवंशी, ने का वीपीका अनुप राय, स्वतन्त्र जमलुदिन मिया, संघीय लिम्बुवान राष्ट्रिय परिषदका अम्बरबहादुर लिम्बू र जनमत पार्टीका देवकुमार चौधरीले जनअनुमोदनको दावी सहित उम्मेदवारी दर्ता गरेका छन् ।

त्यस्तै प्रदेश सभा ख तर्फ नेकपा एमालेका छविलाल चुडाल, स्वतन्त्र त्रिलोचन मैनाली, माओवादी केन्द्रबाट पूर्णप्रसाद राजवंशी, लोसपाबाट बैजनाथ गणेश, जसपाबाट ध्रुवकुमार श्रेष्ठ, हाम्रो नेपाली पाटी मनप्रकाश संग्रौला, नेकपा मालेबाट नवराज खरेल, राजमु पार्टीबाट ऐकेन्द्र राजवंशी, जनमत पार्टीबाट प्रदिपकुमार राजवंशी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट थिरबहादुर खवास र स्वतन्त्र उम्मेदवारका रूपमा जीवनाथ खरेलले उम्मेदवारी दर्ता गरेका छन् ।

उम्मेदवारी दर्ता गर्ने सवै उम्मेदवारले आफू जनताको पक्षमा रहेका विभिन्न सेवामुलक काम गरेकाले जीत सुनिश्चित भएको दावी समेत गरेका छन् । आजै केहि उम्मेद्धारले भने आफ्नो उम्मेद्धारी फिर्ता लिने समेत बुझिएको छ ।

सम्बन्धित खबर