Kanakai Online

पत्रकार उपचार कोषमा ६० लाख जम्मा


मङ्गलवार, असोज १८, २०७९ |

कनकाई अनलाईन
झापाका पत्रकारलाई विरामी र समस्या पर्दा सहयोग गर्ने उद्धेश्यका साथ नेपाल पत्रकार महासङ्घ झापा शाखाले स्थापना गरेको पत्रकार उपचार कोषमा रु ६० लाख रकम जुटिसकेको छ ।

महासङ्घ झापाका सदस्य र दाताले दिएको सहयोगबाट हालसम्म कोषमा सो रकम जम्मा भएको हो । जिल्लामा, पत्रकार, सर्वसाधारणदेखि व्यवसायीले समेत विवाह वर्षगाँठ र जन्मोत्सवमा कोषमा रकम सहयोग गर्दै आएका छन् । कोषको रकम रु एक करोड पु¥याउने लक्ष्यसाथ सहयोगी दाताले दिएको रकम सङ्कलन गरिरहेको महासङ्घ शाखा अध्यक्ष एकराज गिरीले जानकारी दिनुभयो ।

उपचार कोष वृद्धिमा सहयोग पुर्याउने उद्देश्यले मेचीनगर नगरपालिका–६ का ८४ वर्षीय कृष्ण उप्रेतीले आफ्नो जन्मोत्सवमा रु २५ हजार सहयोग गर्नुभएको छ । भानु साहित्यिक प्रतिष्ठानका अध्यक्षसमेत रहनुभएका उहाँले जन्मोत्सवका अवसरमा कार्यक्रममा नै आयोजना गरेर सो रकम अध्यक्ष गिरीलाई हस्तान्तरण गर्नुभएको हो । महासंघले स्थापना गरेको उपचारकोषबाट प्राप्त ब्याजबाट कोरोना कहरका वेला ३२ जना पत्रकारलाई सहयोग गरिएको र अन्य दुर्घटना तथा विरामी परेका गरि ५० बढी झापाली पत्रकारलाई आर्थिक सहयोग गरिसकिएको नेपाल पत्रकार महासंघ झापाका सचिव डिकेश लामाले बताउँनुभयो ।

उहाँले यसअघि पनि जन्मोत्सवका अवसरमा स्थानीय क्लब, सङ्घसंस्थालाई यसरी नगद रकम सहयोग गर्दै आउनुभएको छ । यसपटक उप्रेतीले पत्रकार महासंघलाई सहयोग गर्नुभएको हो ।