Kanakai Online

झापामा किट अभाव


शुक्रवार, भदौ ३१, २०७९ |

कनकाई अनलाईन
झापामा डेङ्गु परीक्षण किटको अभाव भएको छ । देशभर डेङ्गुको सङ्क्रमण बढिरहँदा यहाँ पनि सङ्क्रमणको जोखिम तीव्र छ तर परीक्षण किट नहुँदा बिरामी अन्यत्र अस्पताल जानुपर्ने बाध्यता सिर्जना भएको छ ।

झापा गाउँपालिकाका डा. धर्मेन्द्र मण्डलका अनुसार झापा–२ मा रहेको कुमरखोद स्वास्थ्य चौकीमा डेङ्गु परीक्षण किटको अभाव भएको छ ।
डेङ्गुसँग मिल्दोजुल्दो लक्षण भएका बिरामी स्वास्थ चौकी आए पनि परीक्षण गर्न नपाउँदा अन्य अस्पतालमा परीक्षणका लागि पठाउनुपर्ने बाध्यता भएको मण्डलले बताउनुभयो । मण्डलका अनुसार उच्च ज्वरोका बिरामी धेरैनै आउने गरेका छन । तर परीक्षण किट अभावले डेङ्गुबाहेकको ज्वरोका अन्य कारण पहिचान र परीक्षण गरी उपचार गर्नुपरेको छ । सम्भावित बिरामीलाई नजिकको अस्पतालमा परीक्षणका लागि पठाएर पनि उपचार गरेको मण्डलले बताउनुभयो ।कुमरखोद स्वास्थ चौकीका मात्रै दिनको औसतमा ५० जना चेकजाँच गराउन आउनेगरेकोमा प्रायजसोमा यो समस्या मिल्दोजिल्दो देखिने गरेको डाक्टर मण्डलले बताउँनुभयो ।

डेङ्गु परीक्षण किट नेपाल सरकारले निःशुल्क रुपमा उपलब्ध गराउने गरेको भएपनि पटक पटक प्रदेश सरकारसँग माग गरिएको भए पनि प्रदेश आपूर्ति व्यवस्थापन महाशाखामा पनि किट अभाव भएको भन्दै कारण उपलब्ध नगराएको झापा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख लक्ष्मण विश्वकर्माले बताउँनुभयो ।

भारतको बिहारसँग सिमा नजिकै हुनाले कुमरखोद स्वास्थ्यचौकीमा नेपाली मात्र होइन भारतिय समेत स्वास्थ्य जाँचका लागी आउने गरेको विश्वकर्माको भनाई छ ।
यता जिल्ला समन्वय समिति झापाको आयोजनामा दुई दिने क्षयरोग, मलेरिया, एचआईभी र कोभिड संक्रमणको नियन्त्रण, निदान र उपचारका बारेमा पालिकास्तरीय अभिमुखीकरण तथा सुदृढीकरण गोष्ठीको आयोजना गरिएको छ ।
गोष्ठीमा झापाका १५ पालिकाहरुको सहभागिता रहेको थियो । झापामा पालिका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, स्वाथ्य शाखाका प्रमुखहरु सहभागी रहनुभएको थियो । सेभ द चिल्ड्रेनको आर्थिक र प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा क्षयरोग, एचआइभी, मलेरिया, कोभिड र डेंगु रोगका बारेमा प्रदेश र जिल्लाको बर्तमान अवस्थाका बारेमा जानकारी दिइएको थियो ।
कार्यक्रममा प्रदेश नम्बर १ स्वाथ्य निर्देशनालय धनकुट्टाका निर्देशक ज्ञानबहादुर वस्नेतले प्रदेशभरिमा हाल ३४७ जना डेंगु रोगका संक्रमित भएको बताउँनुभयो ।
कार्यालयका क्षयरोगका फोकल पर्सन तुलसीप्रसाद गुरागाईले प्रदेशमा क्षयरोगको समस्या र समाधानका उपायका बारेमा जानकारी दिदै देशभरमा प्रतिबर्ष ७९ हजार नयाँ क्षयरोगका विरामी थपिने गरेको बताउँनुभयो । जसमा गत आर्थिक बर्ष मात्र १६ हजारको मृत्यु भएको बताउँनुभयो ।
गुरागाईँले मुलुकमा प्रत्येक दिन १९१ जना नयाँ क्षयरोगका विरामी थपिने र ४४ जनाको मृत्यु हुने गरेको तथ्याङ्ग प्रस्तुत गर्नुभयो । सन् २०५० सम्ममा क्षयरोगमुक्त देश बनाउने उद्देश्य अनुरुप सरकारले काम गरिरहेको बताउनुभयो । उनले आर्थिक बर्ष २०७८÷७९ मा प्रदेशमा चार जार ५०० क्षयरोगका नयाँ विरामी पत्ता लागेको र झापामा मात्र १ हजार १८२ जना रोगी पत्ता लागेको जानकारी दिनुभयो ।