Kanakai Online

विपिको समाजवादकै कारण एकता शर्मा


आइतवार, भदौ २५, २०७४ |

द्रोण अधिकारी
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा समाजवादका प्रखर वक्ता विश्वप्रकाश शर्माले नेपाली काँग्रेसले वि पीको समाजवाद अनुसरण गरेकै कारण हिमाल, पहाड र तराइको एकता सम्भव भएको बताएका छन् ।
१ सय ४ औं वि पी जयन्तीको अवसरमा भद्रपुर १० चन्द्रगढी स्थित वि पी चौकमा नेपाली काँग्रेस भद्रपुर नगर समितिले आयोजना गरेको कर्यक्रमलाई सम्बोधन गर्दै शर्माले वि पी को विचारले नेपाली राजनीतिलाई मार्गदर्शन गरिरहेको बताएका हुन् ।
राजा, कम्युनिष्ट र कतीपय काँग्रेसका अनुयायीहरुले समाजवादका प्रर्वतक नेपाली राजनीतिका आदर्श पुरुष वि पीलाई चिन्न नसक्दा देशमा हिंसा र अस्थिरताले स्थान पाएको भन्दै नेपाली काँग्रेसविनाको नेपालको लोकतन्त्र परिकल्पना बाहिरको अवस्था भएको उल्लेख गरे ।
उनले काँग्रेस सवैलाई मिलाएर हिड्ने अभिभावक पार्टी भएकोले देश र जनताको हितका लागि सोचेर काम गर्ने जिम्मेवारी नेपाली काँग्रेसमा रहेको तर्क गरे । शर्माले युवाले बृद्ध र बृद्धले युवाको जिम्मेवार भूमिका काँग्रेमा लिनु पर्ने भएको भन्दै अराजक र अस्थिर विचारक काँग्रेसी राजनीतिमा बस्न नसक्ने तर्क गरे ।
मेलमिलाप तथा देश र जनताको भलाई नै वि पी को समाजवादको आर्दश भएकोले नेपाली काँग्रेस देशमा सवै वर्ग, धर्म, जात र भूगोललका वासिन्दा मिलाएर बलियो राष्ट्र बनाउने अभियानमा सफल भएको जनाए ।
नगर सभापति मोहन महर्जनको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल महिला संघकी केन्द्रीय सदस्य गोमा भट्टराई, जिल्ला अध्यक्ष शुशिला ढकाल, नेपाली कााग्रेस झापाका सचिव प्रम सम्बाहाम्फे लगायतले वि पीको समाजवादका बारेमा चर्चा गरेका थिए ।