Kanakai Online

त्रिभुवन आर्मीलाई झापा गोल्डकपको उपाधि


सोमवार, फागुन ३०, २०७८ |

कनकाई अनलाईन
झापाको बिर्तामोडमा संचालित पाचौ झापा गोल्डकपको उपाधि पुन त्रिभुवन आर्मीले जितेको छ ।
सोमवार भएको फाइनल खेलमा आयोजक झापा ११ लाई २–१ गोलले हराउदै आर्मीले झापामा चौथो पटक उपाधि जितेको हो ।


जितसगै आर्मीले नगद १२ लाख ५५ हजार रुपैँया प्राप्त गर्यो । झापाले नगद ६ लाख ५ हजारमा चित्त बुझायो । यो हारसगै अघिल्लो गोल्डकपको बदला लिनबाट घरेलु टोली झापा चुकेको छ ।
यसअघिका तीनपटकको झापा गोल्डकपको फाइनलमा झापा आर्मीसग पराजित बनेको थियो । आर्मीको जितका लागि मध्यानतरको सुरुवाती समयमै टेकबहादुर बुढाथोकी र जर्जपिन्स कार्कीले गोल गर्नुभयो ।
आर्मीका लागि खेलको १८ औ मिनेटमा बुडाथोकी र २१ औ मिनेटमा कार्कीले गोल गर्नुभयो । खेलको २४ मिनेटमा झापाका लागि बिमल घर्तीमगरले गोल गरेर खेल रोमाञ्चक बनाएपनि त्यसपछि थप गोल हुन नसक्दा झापाको टिम पराजित बन्न पुगेको हो । खेलमा पहिलो गोल वुडाथोकीले सुमन अर्यालको पासमा र दोस्रो गोल कार्कीले मैदानको मध्यभागबाट पेनाल्टीएरियामा पाएको बललाई झापाका गोलरक्षक अघि बढेको मौकामा थप गोल गर्नुभयो ।
३ मिनेटभित्रै २ गोल खाएको झापाले त्यसपछि खेल नियन्त्रणमा लिएपनि गोाल भने गर्न सकेन । झापाका विमल घर्तीमगरले शिवे उल्रिचको पासमा हेडमार्फत गोल गर्नुभएको थियो । प्रतियोगितामा आर्मीले सेमिफाईनलमा सातदोबाटो क्लव र झापाले संकटाको चुनौती पन्छाउदै फाईनलको यात्रा तय गरेको थियो ।
फाइनल खेलको म्यान अफ द म्याच आर्मीका टेकबहादुर बुढाथोकी हुनुभयो । उहाँले ९ हजार ९९९ रुपैयाँ पुरस्कार पाउनुभयो ।
प्रतियोगिताको ‘मस्ट भ्यालुएबल प्लेयर’ झापाका डिफेन्डर देबेन्द्र तामाङ हुनुभयो । उहाँले यामाहा कम्पनीको एक थान मोटरसाइकल पाउनुभयो । गोल्डकपको सर्वाधिक गोलकर्ता झापाका विमल घर्तीमगर हुँदै नगद २५ हजार प्राप्त गर्नुभयो । बिमलले प्रतियोगितामा पाँच गोल गर्नुभएको थियो । प्रतियोगिताको बेस्ट डिफेन्डर झापाका मनोज राई, बेस्ट मिड फिल्डर झापाकै आन्दे्रस निया, बेस्ट किपर आर्मीका विकेश कुथु र वेष्ट कोच आर्मीका नवीन न्यौपाने हुनुभयो उहाँहरुले नगद २१ हजार रुपैँया पाउनुभयो । यसैविच झापाका खेलाडी विशाल राई ए लाई समेत क्लवले लाईफ टाईम अचिभमेन्टका रुपमा एक थान मोटरसाईकल सहित सम्मान गरेको छ ।

फागुन २१ गतेदेखि सुरु भएको झापा गोल्डकपमा भारतका दुई टिम, घरेलु टोली झापा–११ र ७ वटा ए डिभिजन क्लबसहित दश क्लबको सहभागिता थियो ।
प्रतियोगिताबाट ५० लाख रुपैयाँ बचत भएको आयोजक समितिका अध्यक्ष विनोद बस्नेतले जानकारी दिनुभयो । बिजयी तथा उपबिजयी खेलाडीलाई पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौलाले शिल्ड तथा नगद प्रदान गनुएभएको थियो ।