Kanakai Online

पाचौ झापा गोल्डकपमा भारत सहितका १० टिम सहभागि हुने


आइतवार, फागुन १५, २०७८ |

कनकाई अनलाईन
झापाको बिर्तामोडमा आयोजना हुन लागेको पाँचौँ नेपाल आईस झापा गोल्ड कपमा भारतका २ सहित १० टिमको सहभागिता रहने भएको छ ।
यही फागुन २१ गतेदेखि हुने प्रतियोगिताका लागि आयोजक झापा गोल्ड कपले आइतबार खेल तालिका सार्वजनिक गरेको हो ।
आयोजकका अनुसार उदघाटन खेल सातदोबाटो युथ क्लब र जावलाखेल युथ क्लबबीच हुनेछ । हालै सम्पन्न ए डिभिजन लिगमा सातदोबाटो चौथो स्थानमा र जावलाखेल नवौँ स्थानमा रहेका थिए ।
त्यस्तै प्रतियोगितामा आयोजक झापा ११ सहित भारतको एम एफसी दार्जिलिङ र आरपी एसपी सिक्किमसगै नेपाल पुलिस क्लब, संकटा क्लब, एपिएफ फुटबल क्लब, थ्री स्टार क्लब, त्रिभुवन आर्मी क्लवले प्रतिस्पर्धा हुने भएको छ । झापा गोल्ड कपको फाइनल खेल फागुन ३० गते हुने छ ।
बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा हुने खेलका लागि करिब १० हजार दर्शक बस्न सक्नेगरी बाँसको प्यारापिट पनि निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । झापा गोल्डकपको विजेताले नगद १२ लाख ५५ हजार र उपविजेताले नगद छ लाख पाँच हजार रुपैयाँ प्राप्त गर्नेछ । गोल्डकप सम्पन्न गर्न एक करोड ४० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

प्रतियोगिताको मस्ट भ्यालुएवल प्लेयरलाई एक थान मोटरसाइकल, उत्कृष्ट गोलकिप्पर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई नगद २१ हजार र उच्च गोलकर्तालाई नगद २५ हजार प्रदान गरिनेछ । प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद ९ हजार ९९९ रुपैयाँ दिइनेछ । यस पटको झापा गोल्डकपलाई सीजि ग्रुपको नेपाल आइस बियरले मुख्य प्रायोजन गरेको छ ।