Kanakai Online

बम राख्ने काण्डमा कनकाईका पुजारी समेत ९ जना पक्राउ


बिहिवार, फागुन ५, २०७८ |

कनकाई अनलाईन
झापाका विभिन्न स्थानमा हिमाल सुरक्षा परिषदको नाममा बम राखि आतंक मच्चाउने ९ जनालाई विभिन्न स्थानबाट पक्राउ गरि प्रहरीले सार्वजनिक गरेको छ ।

झापाको बिर्तामोड, दमक र कनकाईमा प्रेसर कुकर बम राखि हिमाल सुरक्षा परिषदको पर्चा राखिएको थियो । बमलाई सेनाको प्राविधिक टोलीले निस्क्रिय बनाएको थियो ।

यस घटनामा सामेल भएको आरोपमा इलाका प्रहरी कार्यालय बिर्तामोड र दमकको टोलीले विभिन्न स्थानबाट आरोपीलाई पक्राउ गरेको हो । प्रहरीले घटनाका मुख्य योजनाकार गौरादह नगरपालिका २ का ३८ बर्षिय सुमनकुमार कार्की सहित गौरादह ५ का ३३ बर्षिय प्रदिप थापा, कनकाई नगरपालिका ३ का बम राख्ने ४१ ब्र्षिय भीष्म थापा र सोही स्थानका ५८ बर्षका पुजारी समेत रहेका कुमार सिटौला, दमक नगरपालिका ९ चियादोकानकी ५० बर्षिय देवि बास्कोटा गुरागाई,शिवसताक्षी नगरपालिका १ का ३२ बर्षिय सरुण लिम्बु, संखुवासभा खादवारी १० घरभई हाल मोरङ्ग सुन्दरहरैचा ६ बस्ने बर्ष २९ का मनोमोहन दाहाल, गौरीगंञ्ज गाउँपालिका ३ का ३२ बर्षिय अन्नत गिरी, सोही स्थानका ४५ बर्षिय बिजयकुमार दास रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता बसन्तकुमार पाठकले बताउँनुभयो ।
सो समुहले पुजारी समेत रहेका कुमार सिटौलाको कनकाई नगरपालिका ४ स्थित साधुकुटीमा बसी योजना बनाएर भीष्म थापा लगायातको टोलीलाई नयाँ मोटरसाईकल किनिदिने भन्दै लोभ लालच देखाएर विभिन्न स्थानमा बम राख्न लगाएको खुल्न आएको प्रहरीको भनाई रहेको छ । विगतामा समेत सो समुहले गोरखा जनमुक्ति पार्टीबाट चन्दा आतंक र बम राख्ने काम गर्दै आएकोमा हाल अर्को नाम राखि सोही कामलाई निरन्तता दिने गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरु ऋधिकांस लागुऔषध कारोवार तथा वैदेशिक रोजगारीमा ठगी आरोपमा पक्राउ परि कैद भुक्तान गरेका रहेको समेत प्रहरी प्रवक्ता थापाले बताउँनुभयो । पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालयमा राखि म्याद थपेर बिष्पोटक पदार्थ सम्बन्धि कसुरमा कार्वाही अगाडि वढाइएको प्रहरीले जनाएको छ ।
प्रहरीले पक्राउ परेकाहरुको साथबाट विभिन्न पर्चा पम्प्लेट, सिम, मोवाइल, सहयोगको रसिद र चेक समेत बरामद गरेको छ । उनीहरुलाई माघ २८ गतेदेखि फागुन ३ गतेको मितिमा विभिन्न स्थानबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।