Kanakai Online

लायन्स क्लव कनकाई सुरुङ्गाले सामाजिक काम गरेर मनायो लायन्स सप्ताह


बिहिवार, माघ ६, २०७८ |

कनकाई अनलाईन
लायन्स क्लव अफ कनकाई सुरुङ्गाले आफ्नो बार्षिक क्यालेण्डर अनुसारको साप्ताहिक सामाजिक कार्यक्रम गरी मनाएको छ ।

कोरोना कहरमा सावधानी अपनाउदै लायन्सले आफ्नो बार्षिक क्यालेन्डर अनुसारको काम गरेको लायन्सका डाइनामिक लिडर उपाध्यक्ष लायन संजय गजुरेल सन्जुले जानकारी दिनुभएको छ ।
पुष २६ गतेदेखि सुरु भएको लायन्सको सप्ताहव्यापी सामाजिक कार्यमा पुष २६ गते अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । भने २७ र २८ गते कनाईको वडा नंं.३ द्वारा वितरण गरिएको कोरोना विरुद्धको खोप कार्यमा क्लवका तर्फबाट सहजीकरण गरेको छ ।

त्यस्तै २९ गते लायन्स र लियो क्लव अफ कनकाई सुरुङ्गाको संयुक्त आयोजनामा सम्पन्न रक्तदान कार्यक्रममा ६२ जनाले रक्तदान गरेका थिए । नेपाल रेडक्रस सोसाइटी विर्तामोड रक्तसंचार सेवा साथै न्युरो फार्मेसी सुरुङ्गाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको क्लवका अध्यक्ष साजन थापाले बताउँनुभयो । त्यस्तै क्लवको सप्ताह अन्तर्गतको पुष ३० गतेका दिन लायन्सका जन्मदाता मेल्भिन जोन्सको १४३ सौँ जन्मदिनको अवसर परेकाले सोही दिन फेलोसिप कार्यक्रम सम्पन्न गरिएको छ ।

त्यसैगरी मकर संक्रान्तीका दिन माघ १ गते कनकाई माइमा मकर स्नान गर्न आएका भक्तजनहरुलाई २ हजार थान मास्क वितरण गरेर कोरोना संक्रमणको न्युनीकरणकालागि सचेतना जगाएको लायन्स क्लव अफ कनकाई सुरुङ्गाका प्रथम उपाध्यक्ष डिआर सुवेदीले बताउनुभयो । सप्ताह अन्तर्गत क्लवका अध्यक्ष डम्बर थापाको सभापतित्वमा माघ २ गते कोटीहोमस्थित गायत्री मन्दिरमा न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न भएको छ । मन्दिरमा रहेका जेष्ठ मातापितालाई जाडोको न्यानो ज्याकेट साथै फलफूल लगायतका खाद्य सामाग्री वितरण गरेको क्लवकाा उपाध्यक्ष सुवेदीले कनकाईलाई बताउँनुभयो । पछिल्लो समय सुरुङ्गा क्षेत्रमा खुलेका अन्तराष्ट्रिय संजाल भएका संस्थाहरु जेसिज, लायन्स, रोटरी लगायातका संघ संस्थाहरुमा युवा वर्गको आकर्षण वढिरहेको छ भने उनीहरुले गर्ने साप्ताहिक समाज सुधारका कार्यक्रमले समाजलाई समेत फाइदा पुगेको पाइएको छ ।