Kanakai Online

वाढीपिडीतहरुको स्वास्थ्य परीक्षण साथै राहत वितरण


शुक्रवार, भदौ ९, २०७४ |

कनकाई अनलाईन
सुरुङ्गा,९ भदौ /सुरुङ्गा खोलामा आएको वाढीवाट विस्थापित वनेका पिडित कनकाई नगर ७ तल्लो टोलका १५ परिवारलाई शुक्रवार एक कार्यक्रमका विच राहत सामग्री वितरण साथै निशुल्क स्वास्थ्य परिक्षण गरिएको छ ।

 
 
टोल सुधार समिति कनकाई ७, तल्लो टोलको आयोजना तथा स्थानिय हरिवोधनी भजन समुह, प्रगतिशिल कृषक समूह, महाकालेश्वर शिवालय मन्दिर समिति र अन्य महिला समूहहरुको संयोजनमा सम्पन्न कार्यक्रममा वाढीवाट पिडित स्थानिय १८ परिवार मध्ये पूर्ण क्षति भएका १५ परिवारलाई प्रतिपरिवार १ वोरा चामल, कम्वल र वाल्टीमा दैनिक उपभोग्य सामग्री सहितको राहत वितरण गरीएको हो ।
राहत सामग्री विर्तामोड स्थित पासा मुना पुचः ले सौजन्य गरेको स्थानिय मदन पाठकले वताएका छन् । वाढीवाट विस्थापित भई पाल टाँगेर वस्दै आएका पिडितहरुमा ज्वरो आउँने, टाउको दुख्ने, निमोनियाको संकेत, रुघाखोकी लाग्ने जस्ता समस्या देखिएकाले १०० वढी विभिन्न रोगीहरुको स्वास्थ्य परिक्षण गरी निशुल्क औषधी वितरण गरीएको आयोजक समितीले जनाएको छ ।
स्वास्थ्य परिक्षणवाट जटिल किसिमको समस्या देखिएका विरामीहरुलाई अन्यत्र जान सल्लाह दिएको प्राथमिक स्वास्थ्यकेन्द्र सुरुङ्गाका इन्चार्ज डाक्टर दुर्योधन यादवले वताएका छन् । स्वास्थ्य परिक्षणमा डाक्टर यादवसँगै प्राथमिक स्वास्थ्यकेन्द्रका स्वास्थ्यकर्मीहरु राजीव विष्ट,संगिता अधिकारी र संझना राईले सहजीकरण गरेका थिए ।
टोल सुधार समितिका अध्यक्ष रामप्रसाद निरौलाको अध्यक्षता एवं कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा विशेष अतिथी वडा नं.७ का वडाअध्यक्ष लिलावहादुर कन्दङ्बा, सामाजिक व्यक्तित्व एवं दाता शेरवहादुर थापा, स्थानिय अगुवा यादव उप्रेती, डिल्लीप्रसाद भण्डारी, जेष्ठ नागरीक कनकाईका सचिव शम्भु पोखरेल, डाक्टर दुर्योधन यादव, दाता परिवारका तर्फवाट गणेश शाक्य लगायतले मन्तव्य राखेका थिए ।
वाढीपिडितहरुसँग स्थानियवासीले सामुहिक दर समेत खाएर तीजका गीतमा रमाइलोका साथ नृत्य प्रस्तुत गरेका थिए । टोल सुधार समितिकी उपाध्यक्ष सिता ओलीले स्वागत गरेको कार्यक्रमको संचालन समितीका सल्लाहकार प्रेमप्रसाद भण्डारीले गरेका थिए ।
 

सम्बन्धित खबर