Kanakai Online

कनकाईमा कोरोनाका कारण ज्यान गुमाउनेको घर–घरमा सहयोग रकम


बुधवार, पौष १४, २०७८ |

कनकाई अनलाईन
कोरानाका कारण ज्यान गुमाउनेहरुको घरपरिवारमा कनकाई नगरपालिकाले घरघरमै पुगेर ज्यान गुमाउनेको प्रतिपरिवार २० हजार रुपैँया सहयोग रकम प्रदान गरेको छ ।
कोरोना कहरको पहिलो र दोस्रो लहरका कारण मात्रै कनकाईमा ४१ जनाले ज्यान गुमाएको कनकाई नगरपालिकाका कोरोना फोकल पर्सन समेत रहनुभएका नारायण अधिकारीले बताउँनुभयो । कोरोनाका कारण ज्यान गुमाउने परिवारलाई केही राहत होस भन्दै नगरपालिकाका तर्फबाट नगरप्रमुख राजेन्द्रकुमार पोखरेल आफै घरघरमा सहयोग रकम लिएर जानुभएको छ ।
बुधवार मात्रै कनकाई नगरपालिका १ र ६ नम्बर वार्डका ५ परिवारमा उक्त सहयोग रकम हस्तानतरण गरिएको हो ।

सहयोग रकम हस्तानतरण कार्यक्रममा वार्डनम्बर १ का वडाअध्यक्ष रोषनराज पोखरेल, ६ का वडाअध्यक्ष लक्ष्मी ओली, सदस्य तारा फुयाँल, पत्रकार महासंघ प्रदेश समितिका कार्य समिति सदस्य लीलाराज झापाली, कनकाई नगरपालिकाका कोरोना फोकल पर्सन नारायण अधिकारी लगायातको उपस्थिति रहेको थियो । उक्त सहयोग रकम सबै वार्डमा क्रमश वितरण गरिने समेत नगरप्रमुख पोखरेलले बताउँनुभयो ।

यसअघि पनि कनकाई नगरपालिका क्षेत्रभित्रका आफ्ना नागरिकको कोरोना सुरक्षाका लागि स्वास्थ्य सामाग्री वितरण, गरिव परिवारलाई विभिन्न चरणमा राहत प्रदान, कोरोना लागेका विरामीहरुका लागि आइसुलेशन उपचार कक्ष, निशुल्क कोरोना परिक्षण लगायातका गतिविधि गरेपनि वचाउन नसकिएको घरका लागि थोरै भएपनि सहयोग रकम हस्तानतरण गर्न लागिएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउँनुभयो । यो सहयोग रकम कोरोनाका कारण मृत्यु भएको आफ्ना नगरका सबै नागरिकका लागि भएको तर यसका लागि सम्बन्धित मृतकको कोरोनाकै कारण मृत्यु भएको प्रमाण भने चाहिने नगरप्रमुख पोखरेलले बताउँनुभयो ।