कनकाई अनलाईन
विराटनगर । इसाई धर्मावलम्बीहरूको मुख्य चाड क्रिसमसको अवसरमा प्रदेश नं। १ का मुख्यमन्त्री राजेन्द्र राईले शुभकामना सन्देश दिएका छन् । उनले देश, विदेशमा बस्ने सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी सबैमा शुभकामना व्यक्त गर्दै सबैको सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गरेका छन् ।
‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताले भरिपूर्ण सुन्दर देश नेपालमा मनाइने विभिन्न चाडपर्वले सुदृढ सामाजिक एकता कायम गर्ने विश्वास पनि व्यक्त गर्दछु,’ मुख्यमन्त्रीको सन्देशमा उल्लेख छ, ‘नेपालको संविधानले नेपाललाई बहुभाषिक, बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक मुलुकको रुपमा स्वीकारे गरेकाले एकातिर आ–आफ्नो आस्थाअनुसारको धर्म, संस्कृति, रीति–रिवाज मान्न पाउने अधिकार र स्वतन्त्रता सुरक्षित छ भने अर्कोतिर सबै भाषा, धर्म, संस्कृति र चाडपर्वको संरक्षण एवम् सम्बद्र्धन गर्नु राज्यको र सबै नेपालीको साझा दायित्व र कर्तव्य हो ।’
जुनसुकै पर्वहरू राष्ट्रिय एकताको माध्यम बन्न सकोस् भन्ने कामना गर्दै मुख्यमन्त्री राईले यी पर्वहरूले सबैमा एकताको भावना विकास गराउन सहयोग पुग्ने विश्वास पनि व्यक्त गरेका छन् ।