Kanakai Online

भीमसेन साकोस सुरुङ्गाको अध्यक्षमा पुन श्रेष्ठ


शनिवार, पौष ३, २०७८ |

कनकाई अनलाईन
कनकाई नगरपालिका–३ स्थित भीमसेन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नयाँ नेतृत्व चयन भएको छ ।
संस्थाको १२ औं वार्षिक साधारण सभा र पाँचौं अधिवेशनबाट सर्वसम्मत रूपमा नरेन्द्रकुमार श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो । श्रेष्ठ दोस्रो कार्यकालका लागि अध्यक्ष चुनिएका हुन् । ११ सदस्यीय सञ्चालक समितिको उपाध्यक्षमा रत्नकुमार श्रेष्ठ, सचिवमा तेजबहादुर प्रधान, सहसचिवमा अनिता श्रेष्ठ, सदस्यहरूमा तीर्थराज खरेल, दिव्यराज ढकाल, कृष्णबहादुर अधिकारी, तीर्थबहादुर श्रेष्ठ, भीमबहादुर श्रेष्ठ, भोजकुमारी श्रेष्ठ र सुनिता ढकाल चुनिएका छन् ।
त्यसै गरी, इन्द्रनारायण श्रेष्ठ संयोजक, कुमार पाठक र कमलप्रसाद भट्टराई सदस्य रहेको ३ सदस्यीय संस्थाको लेखा सुपरीवेक्षण समिति सर्वसम्मत गठन गरिएको संस्थाका लेखापाल टेकनारायण श्रेष्ठले जानकारी दिए । सर्वसम्मत नेतृत्व चयनका लागि रमेश श्रेष्ठको संयोजकत्वमा मीनकुमार प्रधान (गोपाल) र यसोदा श्रेष्ठ सदस्य रहेको निर्वाचन समितिले भूमिका खेलेको थियो ।
यस अघि अध्यक्ष नरेन्द्रकुमार श्रेष्ठको सभापतित्वमा भएको सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत आ.व. २०७७÷०७८ को समीक्षा र आ.व.२०७८÷०७९ को नीति तथा कार्यक्रम समेटिएको वार्षिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक तेजबहादुर प्रधानद्वारा प्रस्तुत लेखा प्रतिवेदन सुझावसहित पारित गरिएका थिए ।
कनकाई नगरपालिका, शिवसताक्षी नगरपालिका र झापा गाउँपालिका सेवा क्षेत्र रहेको सो सहकारीमा १ सय ९८ महिलासहित ३ सय ७ शेयर सदस्य रहेका छन् भने कुल चुक्ता शेयर पूँजी १ करोड ४० लाख ५३ हजार ६ सय रुपैयाँ रहेको संस्थाका ऋण उपसमितिका सदस्य प्रयागराज काफ्लेले जानकारी दिए ।
सो कार्यक्रममा संस्थामा आबद्ध ज्येष्ठ सदस्यहरू टेकनारायण प्रधान, गणेशबहादुर श्रेष्ठ, मानबहादुर श्रेष्ठ, मानबहादुर भुजेल, रामबाबु महर्जन, देवीभक्त जोशी, हेमनारायण श्रेष्ठ, प्रेमबहादुर श्रेष्ठ, पदमप्रसाद सिलवाल, भोलानाथ सुवेदी, पुरुषोत्तम ढकाल र पृथ्वीमाया लिम्बूलाई सम्मान गरिएको थियो । त्यसै गरी, वर्ष उत्कृष्ट बचतकर्ता भक्तबहादुर कार्की, असल ऋणी सोनी शाक्य र असल कर्मचारी संस्थाका प्रबन्धक खगेन्द्रकुमार श्रेष्ठलाई सम्मान गरिएको थियो ।
कनकाई नगरपालिकाका उपमेयर मञ्जु प्रसाईंको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थापक अध्यक्ष एवम् सल्लाहकार संयोजक भरतकुमार श्रेष्ठ, वार्ड नं. ३ का वार्ड अध्यक्ष रूद्रप्रसाद चिमरिया, जिल्ला सहकारी संघ झापाका उपाध्यक्ष चम्पा सुवेदी, सुरुङ्गा कनकाई साकोसका अध्यक्ष लक्ष्मीप्रसाद पाठक लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
संस्थाका उपाध्यक्ष रत्नकुमार श्रेष्ठले स्वागत गरेको कार्यक्रम सचिव कमलप्रसाद भट्टराईले सञ्चालन गरेका थिए ।