कनकाई अनलाईन
सन्त रायमाझिको प्रशिक्षणमा रहेको कनकाई नगरपालिकाको महिला फुटबल टिम काठमाण्डौमा भइरहेको उपमेयर कप महिला राष्ट्रिय लिगको सेमिफाईनमा प्रवेश गरेको छ । कनकाईले उपाधिको दावेदार मानिएको गोदावारी नगरपालिका कैलालीलाई ३–० ले पराजित गर्दै सेमिफाइनलको यात्रा पक्का गरेको हो । कनकाई नगरपालिका अव उपाधि होडमा दुई कदम मात्रै टाडा रहेको छ । कन्काईको जितमा कुसुम खतिवडाले दुई तथा इमा राईले एक गोल गरिन् । सबै गोल पहिलो हाफमा नै सम्भव भएको थियो । यस लिगमा कनकाई नगरपालिका मात्रै एक यस्तो टिम हो जसले कुनैपनि विभागिय टिमलाई खेलमा सहभागि गराएको थिएन ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा बुधबार भएको पहिलो खेलमा गौरीगंगाले रोङ गाँउपालिका इलामलाई टाइब्रेकरमा ३–२ ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।
खेलको २६औं मिनेटमा अनिता राईको गोलबाट रोङ गाँउपालिकाले खेलमा सुरुवाती अग्रता लिएको थियो । ६८औं मिनेटमा तुलसा बोहोराले बराबरी गोल फर्काएन् । त्यसपछि थप गोल निस्कन नसक्दा खेल टाइब्रेकरमा पुगेको थियो ।
यो सँगै उपमेयर कप महिला राष्ट्रिय लिगको छनोट चरणको सेमिफाइनल समिकरण पुरा भएको छ । यसअघि मंगलबार ललितपुर महानगरपालिका ललितपुर र धनगढी उपमहानगरपालिका कैलालीले सेमिफाइनलमा स्थान पक्का गरेका थिए ।
अब सेमिफाइनलमा कन्काई नगरपालिका र ललितपुर महानगरपालिका तथा धनगढी उपमहानगरपालिका र गौरीगंगा नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ । दुवै खेल शुक्रबार हुनेछ । फाइनल आइतबार हुनेछ ।
प्रतियोगितामा सहभागी ३१ टोलीलाई १० समूहमा विभाजन गरिएको थियो । हरेक समूहको शीर्ष टोली नकआउट चरणमा प्रवेश गरेका थिए । प्रतियोगिताको विजेता र उपविजेता टोली राष्ट्रिय लिगमा छनोट हुनेछन् ।
प्रतियोगिताको विजेताले ५ लाख नगद पुरस्कार पाउनेछन् । यस्तै उपविजेताले ३ लाख र फेयर प्ले टिमले ५० हजार तथा प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले ५० हजार र विधागततर्फ उत्कृष्ट हुनेले समान २०–२० हजार प्राप्त गर्नेछन् ।