कनकाई अनलाईन
– उपमेयर कप महिला राष्ट्रिय लिगको छनोट चरण अन्तर्गत सोमबार भएको खेलमा जित निकाल्दै कन्काई नगरपालिका झापा र रोङ गाउँपालिका इलाम क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
सोमबारदेखि सुरु भएको नकआउट चरण अन्तर्गत पहिलो खेलमा कन्काईले सुनकोशी गाउँपालिका सिन्धुपाल्चोकलाई टाइब्रेकरमा पराजित गर्यो । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा टुंगिएपछि खेलको निर्णय टाइब्रेकरमा लिइएको थियो । कन्काईले टाइब्रेकरमा ३(१ को जित दर्ता गरेको हो ।
यस्तै दिनको अर्को खेलमा रोङ गाउँपालिकाले तुलसीपुर उपमहानगरपालिका दाङलाई ४(१ ले हरायो । रोङको जितमा मिडफिल्डर इन्दिरा राईले ह्याट्रिक प्रहार गरिन् । अर्को गोल कप्तान अनिता राईको नाममा रहयो । तुलसीपुरका लागि ममता पुन मगरले ७६ औं मिनेटमा सान्त्वना गोल गरेकी थिइन् ।
प्रतियोगिता अन्तर्गत मंगलबार क्वाटरफाइनल चरणको खेल सुरु हुनेछ । पहिलो क्वाटरफाइनलमा शिवशताक्षी नगरपालिका झापाले ललितपुर महानगरपालिकाको सामना गर्नेछ । त्यस्तै दोस्रो खेलमा बाँसगढी नगरपालिका बर्दियाले धनगढी उपमहानगरपालिका कैलालीको सामना गर्नेछ ।
प्रतियोगितामा सहभागी ३१ टोलीलाई १० समूहमा विभाजन गरिएको थियो । हरेक समूहको शीर्ष टोली नकआउट चरणमा प्रवेश गरेका थिए । प्रतियोगिताको विजेता र उपविजेता टोली राष्ट्रिय लिगमा छनोट हुनेछन् । यस्तै प्रतियोगिताको विजेताले ५ लाख नगद पुरस्कार पाउनेछन् । यस्तै उपविजेताले ३ लाख र फेयर प्ले टिमले ५० हजार तथा प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले ५० हजार र विधागततर्फ उत्कृष्ट हुनेले समान २०(२० हजार प्राप्त गर्नेछन् ।