द्रोण अधिकारी
अस्पताल सुधार कार्यक्रम अन्र्तगत भद्रपुर स्थित मेची अञ्चल अस्पतालको सुविधा सम्पन्न भवन बन्ने प्रकृया सुरु भएको छ ।
तत्कालिन स्वास्थ्यमन्त्री गगनकुमार थापाले सुरु गरेको स्वास्थ्य सुधार कार्यक्रम अन्र्तगत अञ्चल अस्पताललाई ३० करोड रुपैया वरावरको ३ तले सुविधा सम्पन्न पक्की भवन बन्ने प्रकृया सुरु भएको हो ।
मेची अञ्चल अस्पताल विकास समितिको माग बमोजिम झापा क्षेत्र नम्वर ३ का संसद कृष्णप्रसाद सिटौलाको पहलमा स्वास्थ्य मन्त्रालयले ३० करोड रुपैया आधुनिक उपकरण जडान गर्न मिल्ने गरी जनमैत्री भवनको प्रस्ताव सहित टेण्डर आव्हान गरेको विकास समितिका अध्यक्ष राम कट्टेलले जानकारी दिए । उनका अनुसार अस्पताललाई मेडिकल कलेजका रुपमा विकास गर्दा पनि प्रयोगशाला, अभ्यास कक्ष तथा विरामी उपचार सेवा प्रवाह गर्न मिल्ने गरी भवन निर्माणको प्रस्ताव सहित टेण्डर गरिएको हो ।
जन उपचारमा विश्वास गुमाउँदै गएको अस्पताललाई स्तरीकरण गरेर जनविश्वास प्रदान गर्न तत्कालिन स्वास्थ्यमन्त्री थापाले सुरु गरेको स्वास्थ्य सुधार कार्यक्रमले जनतामा आशा जगाएको छ । अञ्चल अस्पतालमा आवश्यक दरबन्दी र स्वास्थ्यकर्मीको व्यवस्थापन गर्न थापाले महत्वपूर्ण भूमिका खेलेको अस्पताल प्रशासनको भनाइ छ । अझै पनि केही दरबन्दी रिक्त रहेकाले मन्त्रालयमा माग गरिएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।