Kanakai Online

मैले जिते , एकघर एक रोजगारी गणेश पोखरेल भद्रपुर मेयरका उम्मेद्धार


शुक्रवार, असार ९, २०७४ |

 
 
वि सं २०३१ साल पौष ६ गते साविक पृथ्वीनगर ६ मा जन्मिएका नेपाली काँग्रेसका युवा नेता गणेश पोखरेल २५ वर्षयता झापाको सदरमुकाम भद्रपुरलाई केन्द्र विन्दु बनाएर राजनीतिमा सक्रिय भूमिका खेलिरहेका व्यक्ति हुन् ।
वि सं २०४६ सालमा वीरेन्द्र माध्यमिक विद्यालय चन्द्रगढीमा कक्षा ९ मा अध्ययन गर्दा गर्दै नेपाल विद्यार्थी संघको सदस्यता लिएर राजनीतिमा होमिएका पोखरेल मेची बहुमुखी क्याम्पस भद्रपुरमा २०५७ देदि २०६१ सम्म स्वतन्त्र विद्यार्थी युनियनको सभापतिको दुई कार्यकाल सफलता पूर्वक निर्वाह गरिसकेका छन् ।
नेपाली काँग्रेसको ११ औं महाधिवेशनबाट झापा क्षेत्र नम्वर ३ को क्षेत्रीय सचिवको जिम्मेवारी लिएर पार्टी राजनीतिमा पूर्णकालिन सेवक भएका पोखरेल १२ औं महाधिवेशनपछि हालसम्म पनि सो क्षेत्रको क्षेत्रीय सभापतिको जिम्मेवारीमा रहेका छन् । आसन्न स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट भद्रपुर नगरपालिकाको मेयरका रुपमा उम्मेद्वार रहेका पोखरेलसित कनकाई अनलाईनका लागि द्रोण अधिकारीले गरेको कुराकानी ।
तपाईको उम्मेद्वारी के का लागि ?
मेरो उम्मेद्वारी लोकतान्त्रिक व्यवस्था सहितको समाजवादी संधीय अधिकार जनताको घरघरमा पुर्याउन हो । यस नगरपालिकामा भएको निर्वाचनमा जित्ने त धेरै आए गए तर जनपक्षीय रुपमा लोकतान्त्रिक शासकीय कार्य गर्ने कोही देखिएनन् ।
नगरमा सडक नाम मात्रका बनाइए जसले जनतालाई आर्थिक उन्नतिसित जोड्न सकेको छैन । समग्र नगरको विकासका लागि बाटाघाटादेखि पुल पुलेसासम्मको स्तर बृद्धि जरुरी छ । यी र यस्ताखाले दैनिक जीवनयापनका समस्याको हलदेखि प्रविधि मैत्री वातावरण निर्माण गरेर २१ औं शताब्दी अनुकुलको विकास निर्माणसम्मका कामहरु पूरा गर्न मेरो उम्मेद्वारी आएको हो ।
सम्बृद्ध शहर भद्रपुर हुनका लागि स्मार्ट नगर बनाउने अभियानको कार्य तालिका लक्ष्यका रुपमा रहेको छ । जल, जमिन र जंगललाई आर्थिक विकासको आधार बनाउने दीर्घकालिन रणनीति बनाएको छु । युवालाई उत्पादनसित जोडिने वातावरण निर्माण गर्ने छु । अझ भन्दा सुस्त भएको भद्रपुरको मुहार फेर्ने अभियान मेरो उम्मेद्वारीको पहिलो प्रतिबद्धता हो ।
यसैले पनि यो निर्वाचनमा मेरो उम्मेदवारी आवश्यक भएर आएको हो । भाषण र आश्वासनको भारी बोकाएर जनमत तान्ने अभियानको विपक्षमा रहेको हुँदा मैले नगरलाई समुन्नत बनाउन भ्रष्टचार ढिलासुस्ती जस्ता जनविरोधी कार्य रोक्न विशेष रणनीति बनाएर अगाडि आएको छु । युवा पुस्ताले नेतृत्व नलिएसम्म नगरको विकास सम्भव नदेखिएकोले नगर बनाउनका लागि मैले उम्मेद्वारी दिएको हुँ ।
 
यो निर्वाचन मार्फत नगरबासीले मलाई सवल भद्रपुर बनाउने अभियानमा नेतृत्व दिने छन् । अब भद्रपुर नगर दुर्वल हुने दिन सकिदै छ । जसका लागि नेपाली काँग्रेसले नेतृत्व पाउनु जरुरी छ ।
 
सम्बृद्ध भद्रपुरको आधार के हो ?
सम्बृद्ध भद्रपुरको आधार भनेकै पर्यटन, व्यापार र कृषिको उन्नति हो । जहाँ युवा वर्गलाई जोड्न सकियो भने भद्रपुर आफैं सम्बृद्ध हुन्छ । यसका लागि मैले भद्रपुर नगरको नेतृत्व पाउने हो भने सम्पन्न भद्रपुर बनाउने योजना कार्यान्वयनमा आउने छन् ।
नगरमा पर्यटन आगमनलाई आर्थिक उन्नतिमा जोड्न उत्तरमा चन्द्रगढ तथा चन्द्रगढी सिमसार क्षेत्र छन् भने दक्षिणमा किच्चकबध तथा कमलधाप क्षेत्र छन् । यी क्षेत्रमा पर्यटक आगमनको वातावरण बनाउन बृहद गुरु योजना बनाएको छु ।
यो योजना कार्यान्वयन हुने हो भने सुनसान शहर भद्रपुरलाई जीवन दिन सक्ने छ । यसैगरी भद्रप्ुरको व्यापारिक शाख माथि उठाउन मेचीपुल र मेची राजमार्ग एवम् हुलाकी सडकको निर्माण प्रमुख रुपमा रहेको छ । जसलाई निर्माण सम्पन्न गराउनका लागि मेरो खवरदारी रहने छ । यस नगरका गरिब, मजदुर तथा सिमान्तकृत वर्गको जीवनस्तर उकास्नका लागि आफू प्रतिबद्ध भएर लाग्ने छु ।
गरिबका छोराछोरीले साइकल चढेर विद्यालय जानपाउने बतावरण बनाउने छु भने स्मार्ट शहरको अनुभूतिका लागि प्रत्येक टोल टोलमा निशुल्क वाईफाई सेवा प्रवाह गर्ने छु । नगरबासीको स्वास्थ्य सुरक्षाका लागि अञ्चल अस्पताललाई स्तरीकरण एवम जनमैत्री सेवा प्रवाह गर्ने मेडिकल कलेजको रुपमा स्वास्थ्य प्रतिष्ठान बनाउँदै गरिवका छोराछोरीले डक्टर बन्न सक्ने वातावरण निर्माण गर्ने छु । यस नगरमा शिक्षा स्वास्थ्य र रोजगारीको वातावरण बनाउने योजना मसित छन् । मेरो विजयसँगै भद्रपुर नगरको सम्बृद्धिको सुरुवात हुने छ ।
नगरबासीको जीवनस्तर उकास्ने योजना के के छन् ?
ऐतिहासिक नगर भद्रपुरका बासिन्दाहरुको आर्थिक स्तर उकास्न रोजगारका लागि अवसरहरु कृषि, व्यापार र उद्योग प्रर्वधन जरुरी छ । यहाँ अलमलमा परेका यस्ता धेरैअवर छन् ।
ती अवरको सदुपयोगको वातावरण बनाउने नेतृत्व मबाट मात्र संभव छ । यस नगरका गरिब, सुकुमम्बासीको संरक्षणका लागि शिक्षा, स्वास्थ्य र रोजगारीको वातावरण बनाउने छु । सदरमुकामको एक मात्र सरकारी अस्पताल मेची अञ्चल अस्पतालको स्तरबृद्धिलाई निरन्तर अगाडि बढाएर गरिबीबाट पीँडितको स्वास्थ्य सुरक्षा पहिलो प्राथमिकतामा राखेको छु ।
यहाँ भएका उद्योगहरुको संरक्षण गर्दै नयाँ औद्योगिक क्षेत्र विस्तार गर्ने नीति तयार गरेको छु । एक घर एक रोजगारको न्युनतम खाका तयार पारेर वेरोजगारी घटाउने वातावरण बनाउने छु । यो नै भद्रपुरबासीको जीवनस्तर उकास्ने योजना हो । यी योजना कार्यान्वयनमा ल्याउन युवा वर्ग परिचालन गर्न सक्ने क्षमता ममा छ । जसका लागि नगरबासीको जनमत मैले प्राप्त गर्नै पर्ने छ ।
जनताले तपाईलाई पत्याउलान् ?
अवश्यै पत्याउने छन् किनकी म परिवर्तनको लडाँइमा दुई दशक यता सक्रिय रुपमा लागि रहेको छु । नगरबासीको हितका लागि मैले राजनीतिक कार्यकर्ता भएर निस्वार्थ रुपमा जनताका अधिकार र चाहना समेटेर काम गरिरहेको छु ।
जन सेवाका लागि सेवाको एउटा पाटो राजनीति थियो त्यस कार्यमा म विचलित भँइन अनि भद्रपुरका जनताको चेतना विस्तार र अधिकारका लागि निरन्तर काम गरेको हुँदा भद्रपुरका बासिन्दाले पत्याउने विश्वास छ । राजनीति बाहेक कुनै अन्य बाटो नहेरेको मैले सायद सवैभन्दा कान्छो उम्मेद्वार भएर भद्रपुरको नेतृत्व पाउने छु ।
युवा पुस्ताले नेतृत्व नलिएसम्म सुस्त भएको भद्रपुर तन्दुरुस्त हुने छैन । त्यसैले पनि भद्रपुरका बासिन्दाले मलाई पत्याउने आधार छ । यो नगरलाई व्यस्त र सम्पन्न बनाउने हो भने अवसरवादीले नेतृत्व पाउनु हुँदैन किन भने नगरबासीको सममस्या र दुःखका दिनहरुमा देखा नपर्ने तर निर्वाचनमा टिकट लिएर चिप्ला कुरा गर्नेहरुबाट नगरबासी सचेत हुनु जरुरी छ । यस आधारमा भन्नु पर्दा पनि मेरो उम्मेदवारी जनपक्षीय भएर आएृकाले अनुमोदन हुने विश्वास छ ।
विरोधीले तपाईलाई क्षमताले भन्दा शक्तिले राजनीतिमा अगाडि आएको आरोप लगाउँ छन् नि ?
यो निराधार आरोप हो किन भने मैले नेपाल विद्यार्थी संघ मार्फत राजनीतिमा प्रवेश गर्दा म आफ्नै क्षमता प्रस्तुत गरेर लाल किल्लाको रुपमा रहेको मेची बहुमुखी क्याम्पसको लाल किल्ला तोडेर दुई कार्यकाल सभापति भएँ ।
विद्यार्थी राजनीतिबाट ११ औं महादिवेशनपछि दलीय राजनीतिमा आउदा पनि मेरो क्षमतालाई हेरेर क्षेत्रीय सचिवको रुपमा आम काँग्रेसी कार्यकर्ताले जिम्मेवारी दिएका थिए । त्यस यता मैले पूर्ण रुपमा राजनीतिलाई अंगीकार गरेर नेपाली काँग्रेसलाई जनताको घरदैलोमा पुर्याउन झापा क्षेत्र नम्वर ३ मै रहेर निरन्तर नेतृत्वदायी काम गरिरहेँ । मैले एकाएक टिकट लिएर भद्रपुर झरेको होइन ।
हिजो पनि यहीँ थिएँ । आज पनि यहीँ छु । कसरी शक्तिले अगाडि आएँ त ? अवसरवदाको राजनीति गर्नेहरुले यस्तो आरोप लगाउन सक्लान् तर वास्तविक राजनीति गर्ने जो कोहीलाई थाहा छ । गणेश पोखरेलले भद्रपुरको काँग्रेसी राजनीतिमा जनमत तयार गर्न निकै पसिना बगाएको छ । समस्यामा परेका नगरबासीका समस्या हल गर्न इमान्दार भएर मेहनत पनि गरेको छ । यो कसैको दया वा शक्तिले गरिने काम होइन । जन सेवा हो । यसैले यहाँ शक्तिको प्रसंग कहीँ कतैबाट जोडिदैन ।
भद्रपुर किन विकसित हुन सकेन त ?
भद्रपुर नगरपालिका विकास हुन नसक्नुको प्रमुख कारण नगरको नेतृत्व लिएका नेताहरु भद्रपुरको सम्बृद्धि भन्दा आफ्नै व्यक्तिगत विकासतिर लाग्नु थियो । जनताले चाहेको नेतृत्व दिन विजेताहरु विगतमा असफल भए । सिमित भोट बैंक बनाएर नगरको नेतृत्व हत्याए पनि विगतका नेतृत्वकर्ताले नगरको उन्नति नगरेको स्पष्ट छ ।
अव सिमित भोट बैंकको आडमा भद्रपुरको नेतृत्व लिने समय सकिएको छ । जनताको काम गर्ने व्यक्ति छान्न नगरबासी सफल हुनेमा विश्वस्त छु । मैले यस नगरमा रहेर राजनीतिक रुपमा केही न केही काम गरेको छु । धेरै काम गर्न प्रशासनिक जिम्मेवारी आवश्यक छ । यो निर्वाचन मार्फत नगरबासीले मलाई सवल भद्रपुर बनाउने अभियानमा नेतृत्व दिने छन् । अब भद्रपुर नगर दुर्वल हुने दिन सकिदै छ । जसका लागि नेपाली काँग्रेसले नेतृत्व पाउनु जरुरी छ ।