Kanakai Online

झापाका ४८ मतदानस्थल अति संवेदनशील


बुधवार, जेठ १७, २०७४ |

 
कनकाई संवाददाता
स्थानीय तह चुनावका लागि झापामा निर्धारण भएका २ सय ८३ मतदान स्थलमध्ये ४८ वटा केन्द्रलाई सुरक्षा निकायले ‘अति संवेदनशील’ क्षेत्रको सूचीमा राखेको छ ।सुरक्षा चुनौतिको दृष्टिले झापाका जिल्लाका ४८ वटा मतदानस्थलहरु ज्यादै संवेदनशील रहेको निष्कर्षमा सुरक्षा निकाय पुगेका हुन् ।
प्रहरीले मतदानस्थलको संवेदनशीलताको अध्ययन गरेर मतदानस्थललाई तीन प्रकारमा वर्गीकरण गरेको छ । प्रहरीका अनुसार अति संवेदनशील, संवेदनशील र सामान्य मतदानस्थलका रुपमा वर्गीकरण गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता डिएसपी हरिप्रसाद शर्माका अनुसार जिल्लामा थप ९६ वटा मतदानस्थल संवेदनशील र १ सय ३९ वटा सामान्य अवस्थाका छन् । चुनाव विरोधी गतिविधि बढी हुने र निर्वाचन बहिष्कारवादी दलको बाहुल्य रहेका क्षेत्रमा रहेका मतदानस्थललाई प्रहरीले अति संवेदनशील मतदानस्थलको रुपमा राखेको छ ।
यस्ता केन्द्र जिल्लाका उत्तरी भूभाग र सुदुर दक्षिणमा बढी छन् । प्रहरीले स्थानीय तह निर्वाचनको विरोधमा रहेका विभिन्न राजनीतिक दल, संघ संस्थाप्रति बढी निगरानी पनि बढाउने तयारी पनि गरेको छ । सुरक्षा चुनौतीको पूर्व आंकलन गरेर जिल्लामा पर्याप्त सुरक्षा प्रबन्ध मिलाइसकेको, उम्मेद्वार र मतदातालाई ढुक्क भएर मत हाल्ने व्यवस्था गर्ने जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख, प्रहरी उपरीक्षक शैलेस थापा क्षेत्रीले बताए ।
निर्वाचनका लागि जिल्लामा १ हजार ९ सय ५० नेपाल प्रहरी, २ हजार १ सय १४ जना म्यादी प्रहरी परिचालन हुने छन् । त्यसपछि सशस्त्र, राष्ट्रिय अनुसन्धानलगायत सादा पोशाकमा समेत सुरक्षाकर्मी परिचालन हुने छन् । प्रहरीका अनुसार निर्वाचनमा तीन वटा सुरक्षा घेरा रहने छ । निर्वाचन सुरक्षाका लागी सीमा क्षेत्रका समकक्षीहरुसंग समेत बसेर छलफल र विभिन्न चरणमा बैठक गर्ने जिल्ला प्रशासन कार्यालयको तयारी छ ।