कनकाई अनलाईन
काठमाडौँ( पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित असन्तुष्ट बहुमत सदस्यहरु बुधबार नेकपा केन्द्रीय सचिवालय बैठक सफल पार्न कस्सिएपछि प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरु बालुवाटारमा भेला परेका छन्।
प्रधानमन्त्रीको सरकारी निवासमा भइरहेको भेलामा प्रदेश ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ सहभागी छन्। भेलामा उपप्रधानमन्त्रीसमेत रहेका ईश्वर पोखरेल, अर्थमन्त्रीसमेत रहेका विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र पूर्व सभामुखसमेत रहेका पार्टी संसदीय दलका उपनेता सुबासचन्द्र नेम्बाङ सहभागी छन्। उनीहरुले प्रचण्ड समूहको सचिवालय बैठक डाक्ने योजनामा आफ्नो रणनीति तयार गर्न बैठक बसिरहेको बालुवाटार स्रोतले जानकारी दिएको छ।
ओली समूहमा रहेका गृहमन्त्री रामबहादुर थापा बादलसमेत बुधबारको बैठकमा सहभागी हुने तयारी भएपछि प्रचण्ड समूहले बोलाएको सचिवालय बैठक थप रोचक बनेको छ।
बादलनिकट पार्टी सांसद मायाप्रसाद शर्माका अनुसार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली र उनका समर्थकहरु बैठकमा सहभागी नभए पनि बादल उपस्थित हुनेछन्।
ओली, अर्थमन्त्री पौडेल र उपप्रधनमन्त्री पोख्रेलले प्रचण्डसहित पाँच सचिवालय सदस्यहरुले भष्ट्राचार, आफन्तवादलगायतका आरोपसहित पद त्याग्न गर्न ओलीसँग गरेको आग्रहसहित सचिवालयमा पेश राजनीतिक प्रस्ताव फिर्ता नलिएमा बुधबारको बैठक नहुने अडान लिएका छन्। उता प्रचण्डले मंगलबार बिहान नेकपा महासचिव बिष्णु पौडेलसँगको भेटमा सचिवालय बैठक कुनै पनि हालतमा नरोकिने अडान राखेका थिए।
उक्त सुझावसहित महासचिव पौडेलले दुईपटक ओलीका दूतका रुपमा प्रचण्डसँग भेट गरिसकेका छन् तर प्रचण्डलगायत उक्त प्रस्तावका समर्थक पूर्वप्रधानमन्त्रीद्धय माधवकुमार नेपाल र झलनाथ खनालसहित बामदेव गौतम र नारायणकाजी श्रेष्ठले ओली पक्ष उपस्थित नभएपनि बैठक भएरै छाड्ने अडान लिएका छन्।
बादल उपस्थित भएका ओलीको पक्षमा तीन जना मात्र सदस्य रहनेछन्।