अम्बिका भण्डारी /रासस
काँकडभिट्टा । उनको नाम हो–अन्जार आलम, धर्म मुस्लिम । तर चुनाव जितेका छन् हिन्दूवादी राजनीतिक दल राष्ट्रिय प्रजातन्त्र पार्टीबाट । जात र धर्मको कट्टरताले नेपाली समाजलाई गाँजिरहेको बेला एउटा अलग सन्देश दिन सफल भएका छन् झापाको सीमान्त दक्षिणी गाउँपालिका कचनकबलबाट अध्यक्ष पदमा निर्वाचित अन्जार आलमले ।
उहाँ स्थानीय तहको चुनावमा कचनकबल गाउँपालिकाको अध्यक्ष पदमा राप्रपाबाट उम्मेदवार बन्नुभएको थियो । केचना, बनियानी, पथरियालगायतका गाविस मिलाएर बनाइएको कचनकबल गाउँपालिकामा नेपालकै सबैभन्दा होचो भूभाग पनि छ ।
मुलुककै सबैभन्दा होचो भूभाग भएको गाउँपालिकाको निर्वाचनबाट अन्जारले धार्मिक सहिष्णुताको अनुपम र सर्वोच्च नमुना पनि प्रस्तुत गर्नुभएको छ, जुन यतिबेला मुलुकभरि चर्चित समाचार बनिरहेको छ ।
अन्जार स्थानीय क्षेत्रमा निकै लोकप्रिय हुनुहुन्छ । पहिलो जिल्ला विकास समितिको निर्वाचनमा उहाँ त्यसै क्षेत्रबाट जिल्ला सदस्य निर्वाचित हुनुभएको थियो ।
जनप्रतिनिधिको अनुभव पहिल्यै सङ्गालिसकेका उहाँ राप्रपाका पुराना कार्यकर्ता हुनुहुन्छ । राप्रपाको स्थापनाकालदेखि नै सो पार्टीमा लागेका उहाँ दक्षिणपूर्वी झापामा पार्टीको खम्बा बनेर उभिँदै आउनुभएको राप्रपा महामन्त्री राजेन्द्र लिङ्देन बताउनुहुन्छ ।
“इमान्दार र जनताको सेवकको रुपमा उहाँले
आफ्नो छवि बनाउनुभएको छ”, महामन्त्री लिङ्देनले भनुभयो–“अहिलेको जस्तो प्रतिकूल परिस्थितिमा पनि गाउँपालिका जित्नु उहाँको लोकप्रियताको प्रतिफल मान्नु पर्छ ।”
आइतबार राति नै अन्जारले चुनाव जितिसकेको घोषणा आइसकेको थियो ।
उपाध्यक्षमा पनि राप्रपाकै निम्सरी राजवंशीले जित्नुभएको थियो । तर विजय जुलुस भने सोमबार बिहान मात्रै भएको थियो ।
जुलुसमा राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देन प्रमुख अतिथि हुनुहुन्थ्यो ।
Trending
- चारतला माथिबाट खसेर मजदुरको मृत्यु
- खोलामा पानीको बहाव बढेसगै काठ चोरी तस्करी सुरु
- नगर बाहिरका पत्रकारलाई मोटो रकम दिएको भन्दै कनकाईका पत्रकार आन्दोलित
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा