कनकाई अनलाईन
बिर्तामोड– साताअघिको निर्णय फेर्दै जिल्ला कोरोना संक्रमण रोकथाम उपचार समन्वय तथा अनुगमन समितिले खाद्य तथा गैर खाद्य पसल खोल्न जोर विजोर लागू गर्ने निर्णय गरेको छ । शनिवार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले जोर गतेका दिन खाद्यान्न पसल र विजोर गतेका दिन गैर खाद्यान्न पसल खोल्न पाइने निर्णय गरेको समितिका संयोजक सोमनाथ पोर्तेलले बताए । कृषि र औषधि पसल भने नियमित सञ्चालन हुनेछन् ।
बैठकले भारतमा अलपत्र नेपालीलाई जेठ ५ गतेबाट आउन दिने निर्णय गरेको छ । झापामा सञ्चालित दुई अभियान ‘एकका लागि एक’ र मेची अभियानलाई अब राहत वितरणमा नभई भारतबाट आउने नेपालीको व्यवस्थापनमा लाग्न बैठकले अनुरोध गरेको छ ।
बैक तथा वित्तिय संस्था दिन विराएर सञ्चालन गर्न पालिकाले व्यवस्था गर्ने निर्णय बैठकले गरेको छ । खाद्यान्न ढुवानीमा पास नचाहिने र निर्माण सामग्री ढुवानीमा स्थानीय तहले पास जारी गर्ने व्यवस्था गरिएको छ । सरकारी कर्मचारीलाई कार्यालय जान आउन पास नचाहिने बैठकले निर्णय गरेको छ ।
बैठकमा प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर, पूर्व सांसद तथा प्रदेश स्तरीय अनुगमन समितिका संयोजक तथा नेकपा प्रदेश कमिटी अध्यक्ष देवराज घिमिरे लगायतको सहभागिता रहेको थियो ।