कनकाई अनलाईन
बिर्तामोड– कोरोना सङ्क्रमण देखिएपछि झापाको बाह्रदशी गाउँपालिकाले चारकिल्ला सिल गरेको छ । सोमवार बसेको सर्वदलीय बैठकले प्रभावित क्षेत्रको चार किल्ला सिल गर्ने निर्णय गरेको हो । काङ्ग्रेस नेता दयानन्द गोस्वामीले निषेधित क्षेत्रमा सुरक्षा निकाय परिचालन गरी कडाई गर्ने निर्णय भएको बताए ।
आइतवार बाह्रदशी गाउँपालिकाको राजगढका मुस्लिम समुदायका एक जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो । उनी दिल्लीको निजामुद्दीनस्थित मर्कजमा आयोजित मुस्लिम धार्मिक सम्मेलनमा झापाबाट सहभागी भएर फर्किएका जमाती हुन् ।
बाह्दशी गाउँपालिका–४ साबिक चकचकी ५० वर्षीय उनी दिल्लीबाट फर्किएपछि दुईपटक आरडिटी विधिबाट कोरोना परीक्षण गरिएको थियो । दुवै पटकको रिपोर्ट आरडीटीमा नेगेटिभ आए पनि कन्फर्म हुन स्वाब संकलन गरेर पिसिआर परीक्षण गर्दा उनी पोजेटिभ देखिएका हुन् ।
आफनो क्षेत्रमा सङ्क्रमण देखिएपछि गाउँपालिकाले पूर्वमा साविक चकचकी–७ अन्तर्गत कञ्चनगढ राजगढ बाटो, पश्चिममा साविक चकचकी–५ को विरीङ खोला, उत्तरमा साविक चकचकी–५ को धमला गाउँ र दक्षिणमा साविक चकचकी–१ विरीङ खोलासम्मको क्षेत्रलाई सिल गरेको छ ।
बाह्रदशी गाउँपालिका–३ पश्चिममा रहेको राधानगरको वस्ती पनि सिल गरिएको काङ्ग्रेस नेता गोस्वामी बताए । निषेधित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गर्ने सहमति भएको छ’, नेता गोस्वामीले भने, ‘सिल गरिएको समयावधिभरि सर्वसाधारणलाई घरबाट बाहिर नआउन गाउँपालिकाले अपिल गरेको छ ।’