कनकाई अनलाईन
कोरोना संक्रमणका कारण नेपालका सबै व्यापार व्यावसाय बन्द छन भने यहाँका मजदुरहरु काम बन्द गरेर होम क्वारेन्टाइनमा बसेका छन । तर झापाको सुरुङ्गामा भने भारतीय मजदुरका कारण लक डाउन कार्यान्वयनमा समस्या देखा परेको छ । भारतबाट सयौँको सङ्ख्यामा आएका निर्माण मजदुरले सुरुङ्गा आसपासका घरहरु दैनिक निर्माण गरिरहेका छन । नेपालका मजदुरहरुले काम छाडेर होम क्वारेनटाइनमा बसेको मौका छोपेर भारतको विहार राज्यबाट आएका निर्माण मजदुरले अटेरी गरि हालपनि घर धमाधम निर्माण गरिरहेका छन ।
सुरुङ्गाका घरवालाहरुले समेत सस्तो मजदुर भेटिएको भन्दै काममा लगाउदा लक डाउनमा समस्या परेको छ । दुइदिनभित्र स्वतन्त्र मजदुर युनियान कनकाईका अध्यक्ष केशर न्यौपाने र इलाका प्रहरी कार्यालय सुरुङ्गाको प्रहरी टोलीले ४० जनाभन्दा वढी भारतीय मजदुरहरुलाई लक डाउनमा काम गरिरहेको बेला लखेटेपनि अझैपनि यस क्षेत्रमा भारतीय मजदुरहरुले दैनिक निर्वाध रुपमा काम गरिरहेको पाइएको छ । विर्तामोड लगायातका स्थानमा काम ठप्प बन्द भएपछि सबैतिरका मजदुरहरु सुरुङ्गामा आएर काम गरिरहेको बताइएको छ ।