कनकाई अनलाईन
झापा, ११ चैत । झापामा १ जना आइसोलेसनमा, १६ जना क्वारेन्टाइनमा र ४१ जना होम क्वारेन्टाइनमा रहेका छन् ।
जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईका अनुसार कतारबाट आएका गौरादह नगरपालिका एक जनालाई आजबाट मेची अञ्चल अस्पतालको आइसोलेसनमा राखिएको छ ।
यसैगरी नेचीनगरको क्वारेन्टाइनमा १६ जना छन् भने ४१ जना होम क्वारेन्टाइनमा रहेका छन् । होम क्वारेन्टाइनमा सबै भन्दा बढी झापा गाउँ पालिकाका १४ जना र बुद्धशान्ति गाउँ पालिकाका १३ जना रहेका छन् ।
यसैगरी हल्दिबारी गाउँ पालिकाका २ जना, बिर्तामोड नगरपालिकाका १ जना, अर्जुनधार नागरपालिकाका २ जना र दमक नगरपालिकाका १ जना होम क्वारेन्टाइनमा रहेको फोकल पर्सन चम्लागाईले जनाकारी दिए । होम क्वारेन्टाइनमा रहेका सबै जनस्वास्थ्य कार्यालय र प्रसाशनको सम्पर्क रहेको उनले बताए ।
परीक्षणमा समस्या
सरकारले गरेको लकडाउनले हवाई उडान नहुँदा शंकास्पद आइसोलेसनमा रहेका व्यक्तिको स्वाब परीक्षणका समस्या भएको छ । ल्याब परीक्षणका लागि राष्ट्रिय प्रयोगशाला टेकू स्वाब पठाउन नसक्दा समस्या भएको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले बताए । प्रजिअ मगरले बिरामी नै काठमाडौँ पठाउने कि, के गर्ने भन्ने विषयमा छलफल भइरहेको बताए ।