कनकाई अनलाईन
विर्तामोड । निर्माण व्यवसायी संघ झापाको १४ औं चुनावी साधारणसभा स्थगित भएको छ ।
नोवल कोरोना भाइरस विश्वभर फैलिन थालेपछि नेपालमा भाइरस भित्रन नदिन सतर्कता अपनाउँदै सरकारले सभा सम्मेलन, भीडभाड गर्न रोक लगाएसँगै चैत ७ र ८ गते शुक्रबार र शनिबारलाई तय गरिएको साधारणसभा अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि स्थगित गरिएको संघका महासचिव ओम पौडेलले जानकारी दिए ।
संघका अध्यक्ष मिलन वस्नेतको अध्यक्षतामा हालै बसेको कार्यसमितिको आकस्मिक बैठकले साधारणसभा हाललाई स्थगित गर्ने निर्णय ग।रेको थियो ।
यो चुनावी साधारणसभा पनि भएकोले ७ गते साधारणसभाको उद्घाटन र ८ गते नयाँ कार्यसमिति चयनका लागि चुनावी कार्यक्रम तय गरिएको थियो । संघले साधारणसभा सफल बनाउन मूल समारोह समितिलगायत विभिन्न उपसमितिसमेत गठन गरेको थियो भने प्रमुख अतिथिका रुपमा नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष रवि सिंह आउने निश्चत भएको थियो । अहिलेको समय प्रतिकूल भएको र पूरै देश कोरोनाको जोखिम नियन्त्रण गर्न जुटेको बेला निर्माण व्यवसायीहरु पनि कारोनाविरुद्धको अभियानमा जुट्न थालेको बताउँदै अध्यक्ष वस्नेतले सबै तयारी पूरा भए पनि साधारणसभा तत्कालका लागि स्थगित गरिएको बताए ।
संघमा हाल झण्डै २५० सदस्य रहेको संघका कार्यालय सचिव ज्योति पौडेलले जानकारी दिए ।