Kanakai Online

देउसी खेलेर शरणामतीमा राहत कोष


शुक्रवार, कार्तिक १५, २०७६ |

कनकाई अनलाईन
शरणामती – नेपाल रेडक्रस सोसाइटी शरणामती शाखाले राहत कोष स्थापना गर्ने भएको छ । सम्भावित विपद् व्यवस्थापनका निमित्त रेडक्रसले राहत कोष स्थापनाको तयारी सुरु गरेको हो । कोषका लागि सहयोग जुटाउने अभियान सुरु गरिएको नेपाल रेडक्रस सोसाइटी शरणामती शाखाका सभापति केशव बजगाईँले बताए ।

‘सम्भावित विपद्का बेला समुदायलाई सहयोग गर्न सकियोस् भन्ने हाम्रो उद्देश्य हो’, अध्यक्ष बजगाईले भने, ‘यसका लागि राहत कोष अनिवार्य भएकोले प्रक्रिया सुरु गरेका छौँ ।’ राहत कोष स्थापनाका लागि शाखाले चाडपर्वका बेला शुभकामना आदानप्रदान कार्यक्रमसँगै देउसी भैलो खेलेको छ । स्थानीय दुई सय घरमा शाखाले देउसी भैलो खेलेको सभापति बजगाईँले जानकारी दिए ।

स्थानीय न्यु पाथिभरा बचत तथा ऋण सहकारी संस्थामा खाता खोलेर रकम जम्मा गरिएको सभापति बजगाईले जानकारी दिए । उनले कोषमा रकम थपिँदै लैजाने र यसका लागि समुदायका सबै सरोकारावालालाई आह्वान गरिएको पनि बताए ।