Kanakai Online

माइमेलामा मदिराको कारोबारः निषेधित जिल्ला घोषणाको घोर उल्लंघन


मङ्गलवार, माघ १, २०७५ |

कनकाई अनलाईन
बिर्तामोड, १ माघ । झापालाई माघ १ गते अर्थात् आजदेखि मदिरा निषेधित जिल्लाका घोषणा गरिने भनिए पनि कनकाई नगरपालिकास्थित कनकाई नदीमा लागेको माइमेलामा प्रतिबन्धित मदिराको कारोबार भइरहेको पाइएको छ ।
माई वारिपारि र दोमुखा क्षेत्रमा खुल्लमखुल्ला रुपमा सयौँ मदिराका स्टल राखिएको मेला भर्न आएका एक भक्तजनले बताए । पुस ३० गतेदेखि शुरु भएको मेला माघ २ गतेसम्म चल्नेछ । यसरी जिल्लामै मदिराको कारोबार र घरेलु मदिरा नियन्त्रणको अभियान चलिरहँदा मेला परिसरमा भएको यस्तो कृत्यले सर्वपक्षीय अभियानको खिल्ली उडाउने काम भएको छ ।
मदिरालगायतका मादक पदार्थको सेवनका कारण अवाञ्छित गतिविधि हुने सम्भावना बढी भएकाले पनि विगतको वर्षहरुमा पनि मदिरा बिक्री र तासजुवा लगायतका गतिविधिमा पूर्ण प्रतिबन्ध लगाइँदै आएको थियो ।
मेला परिसरमा पनि मदिरा बिक्री र जुवाजन्य क्रियाकलाप नगर्न प्रहरीले माइकिङ गरिरहेको छ तर ‘काग कराउँदै गर्छ, पिना सुक्दै जान्छ’ भनेजस्तो भइरहनु आश्चर्यजनक भएको छ ।
यता, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले मदिराजन्य कारोबार भइरहेको भन्ने विषयमा अनविज्ञता प्रकट गर्नुभयो । ‘मदिराको कारोबार भएको मलाई थाहा छैन’, उहाँले भन्नुभयो, ‘यदि त्यसो भएको रहेछ भने म तुरुन्त एक्सन लिन्छु ।’
जनजाति समुदायमा मेलापातमा ढोगभेटका लागि मदिरा अनिवार्य भएकाले त्यस्तो संस्कार परम्परा कुरामा कडाइँ नगरिएको उहाँले बताउनुभयो । ‘संस्कार र परम्पगत कुरामा केही भन्न सकिँदैन÷ मिल्दैन’, उहाँले भन्नुभयो, ‘त्यसयता हामीले मदिराको कारोबारमा कडाइँ गरेका छौँ ।
यता, चाडपर्व, मेलापातको नाममा उपभोक्तालाई ‘मुर्गा’ बनाउने काम भने यस वर्षको माइमेलामा मज्जाले नै पाइएको छ । अन्य समयमा रू १४०÷१५० पर्ने जेरी रू २०० मा बिक्री भइरहेको छ । किन यति महँगो भन्ने ग्राहकको प्रश्नमा होटल साहुले जवाफ दिए, ‘के गर्नु यहाँ मेलामा बेच्नका लागि ५० हजार बुझाउनुपर्छ । अनि सस्तोमा कसरी बेच्नु । अरु तिर पनि महँगै छ ।’
उता, कनकाई नगरपालिकाले रू ८ लाखमा मेला ठेक्का लगाएको हो । मेलामा साइकल पार्किङको रू ५० र मोटरसाइल पार्किङ गरेको रू १०० निर्धारण गरिएको छ । चर्को पार्किङ शुल्क भए पनि तिर्नुपर्ने बाध्यता रहेको मेला भर्न आएका भद्रपुरका आलोक भण्डारीले बताउनुभयो ।

सम्बन्धित खबर