कनकाई अनलाईन
सुरुङ्गा, जेठ २४ । सरस्वती कला केन्द्र सुरुङ्गाको आयोजनामा भएको सुरुङ्गा डान्स च्याम्पको ग्राण्ड फिनालीमा १० जना वीच प्रतिष्पर्धा हुने भएको छ ।
चैत्र १९ देखि शुरु भएको उक्त प्रतियोगितामा विभिन्न ठाउँमा भएका ५ राउण्ड अडिसनमा १ सय ४ जनाको सहभागिता रहेको र अन्तिम स्पर्धाका लागि १० जना छनौट भएका आयोजक समितिका संयोजक समीर रम्तेलले जानकारी दिए ।
त्यसरी छनौट हुनेमा दीपिक सिलवाल, प्रवेश तामाङ, आदर्श कार्की, विवेक शिवाकोटी, सुबिका बस्नेत, अस्मिता श्रेष्ठ, अस्रफ खान, इसिका भट्टराई र अनुसा ओली रहेका छन् । सो प्रतियोगितामा कनकाई नगरपालिकाभित्रका कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरु सहभागी भएका हुन् ।
नगरका बालबालिकाहरुमा लुकेर रहेको प्रतिभाको पहचिान गर्न र प्रस्फुटित हुने अवसर प्रदान गर्न प्रतियोगिता सञ्चालन गरिएको आयोजकले जनाएको छ । स्थानीय कनकाई उद्योग वाणिज्य संघद्वारा सञ्चालित कनकाई अतिथि सदनमा जेठ २६ शनिवार आज हुने तय भएको कार्यक्रममा नृत्य कलाकार संघ प्रदेश नं. १ का अध्यक्ष सुनिल थापाको प्रमुख आतिथ्य र कनकाई नगरपालिका वार्ड नं. ३ का वार्ड अध्यक्ष रुद्रप्रसाद चिमरियाको विशिष्ट आतिथ्य रहनेछ । उक्त स्पर्धामा विजेतालाई नगद १५ हजार, प्रमाणपत्र र ट्रफी प्रदान गरिनेछ । साथै विजेतालाई माता मनकामना मोबाइल सेन्टर र पाथीभरा मोबाइल सेन्टर सुरुङ्गाको तर्फबाट एण्ड्रोइड मोबाइल समेत प्रदान गरिने बताइएको छ । प्रथम उपविजेतालाई नगद १० हजार, प्रमाणपत्र र ट्रफी प्रदान गरिनेछ र गंगा साइकल स्टोर्स सुरुङ्गाको तर्फबाट १ थान साइकल दिइने भएको छ । त्यसै गरी द्वितीय उपविजेतालाई नगद ५ हजार, प्रमाणपत्र र ट्रफी एवम् सबै अन्तिम प्रतिष्पर्धीलाई प्रमाणपत्र प्रदान गरिने संयोजक रम्तेलले जानकारी दिए ।