कनकाई अनलाईन
भद्रपुर । झापाको साविक पृथ्वीनगर गाविस खुला दिसामुक्त भएको छ । हाल भद्रपुर नगरपालिकाको वडा १ र २ पूरै र वडा नं ३ को केही भाग समेटिएको साविक पृथ्वीनगर गाविस बिहीबार खुला दिसामुक्त क्षेत्र घोषणा भएको हो ।
भद्रपुर १ र २ को संयुक्त वडा कायाृलय परिसरमा आयोजित बृहत समारोहका बीच प्रमुख अतिथि भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठले साविक पृथ्वीनगर गाविस खुला दिसामुक्त भएको घोषणा गरे । उनले ‘खुला दिसामुक्त क्षेत्र’ लेखिएको व्यानर पढेर साविक पृथ्वीनगरलाई खुला दिसामुक्त भएको घोषणा गरेका हुन् ।
प्रमुख अतिथि श्रेष्ठले जिल्लस्तरीय खानेपानी सरसफाई स्वच्छता समन्वय समितिले उपलब्ध गराएको खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको प्रमाणपत्र समारोहका अध्यक्ष वडा नं १ का अध्यक्ष दशरथ प्रधान, वडा नं २ का वडाध्यक्ष भीमबहादुर लिम्बू र वडा नं ३ की अध्यक्ष कमला थmुुङलाई संयुक्तरुपमा हस्तान्तरण गरे ।
वडा नं १ का सडा सचिव मदन कँडेलले सञ्चालन गरेको घोषणा समारोहमा प्रमुख अतिथि श्रेष्ठले निकै चुनौतीपूर्ण ठानिएको पृथ्वीनगरलाई अन्य सहज ठानिएका वडाभन्दा छिटो खुला दिसामुक्त घोषणा गर्न सकिएकोमा खुशी प्रकट गर्दै पृथ्वीनगरमा आर्थिक तथा प्राविधिक सहयोगी युएन ह्याविट्याट र त्यसै सहयोगमा अभियान सञ्चालन गरिरहेको संस्था विराट सामुदायिक अध्ययन केन्द्र विर्तामोडको टिम, स्थानीय अभियानकर्मी संघ–संस्था र जनप्रतिनिधिहरुलाई धन्यवाद दिए । ‘केही समयअगाडिको अवस्था हेर्दा लमाई पृथ्वीनगर अहिले नै दिसामुक्त होला भन्ने लागेको थिएन’, उनले भने– ‘तर, सरोकारवाला सबैको एकताबद्ध बल र प्रयासले पृथ्वीनगर आजदेखि खुला दिसामुक्त क्षेत्र बन्न सफल भएको छ ।’ प्रमुख अतिथि श्रेष्ठले समाज विकासमा सरसफाइ महत्वपूर्ण आधार र सुरक्षित शौचालय सरसफाइको प्रमुख शर्त हुने भएकाले शौचालय नभएकाहरुले यथाशीघ्र शौचालय निर्माण गरेर नेपाललाई नै खुला दिसामुक्त राष्ट्र बनाउन सहयोग पुर्याउन आग्रह गरे ।
वडा नं ३ की अध्यक्ष कमला थुलुङले स्वागत गरेको समारोहमा २ नं वडाध्यक्ष भीमबहादुर लिम्बूले सावकि पृथ्वीनगरमा खुला दिसामुक्त तथा सरसफाइका सन्दर्भमा गरिएका क्रियाकलापका विषयमा प्रकाश पारेका थिए । उनले पृथ्वीनगर क्षेत्रका सबै ३७१२ घरधुरीमा सुरक्षित शौचालयको पहुँच पुगेको बताए । जेठ १४ गते संयुक्त वडास्तरीय समितिले सबै घरधुरीमा शौचालयको पहुँच पुगेकोले अनुगमन गरिदिन अनुरोध गर्दै पत्र पठाएपछि २० गते जिल्लस्तरीय संयुक्त अनुयमन समितिले अन्तिम गुणस्तर अनुगमन गरी पृथ्वीनगरलाई खुला दिसामुक्त घोषणा गर्न अनुमति प्रदान गरेको सोहीअनुसार घोषणा गरिएको पनि उनले जानकारी दिए ।
पृथ्वीनगरलाई खुला दिसामुक्त क्षेत्र बनाउन सफल भएको वार्ड नं १ र २ लाई सरसफाईका क्रियाकलाप गर्न प्रेरित गर्दै नगरपालिकाले एक–एक लाख रुपैयाँ पुरस्कार प्रदान गरेको छ भने अभियानमा संलग्न संघ–संस्था तथा व्यक्तिहरुलाई सम्मानपत्र प्रदान गरिएको थियो । समारोहमा उपपैमुख चन्द्रा श्रेष्ठ, जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रतिनिधि खुला दिसामुक्त अभियानका सहजकर्ता रुद्रबहादुर न्यौपाने, शिक्षासेवी तथा नागरिक अगुवा शिवकुमार राजभण्डारीलगायते शुभकामना मन्तव्य राखेका थिए ।
योसँगै, भद्रपुर नगरपालिकाको ३ वटा वडा पूर्ण र एउटा वडाको केही भाग खुला दिसामुक्त क्षेत्र भएको र वडा नं ९ घोषणाको अन्तिम थयारीमा रहेको भद्रपुरको खुला दिसामुक्त अभियानका संयोजक फणिन्द्र दाहालले जानकारी दिए ।


