Kanakai Online

झापामा हात्तीको मृत्यु १४ वर्षयताकै उच्च


बिहिवार, साउन ३, २०८१ |

कनकाई अनलाईन

झापा, ३ साउन । झापामा एक वर्षको अवधिमा छ जना मानिस र चार वटा हात्तीको मृत्यु भएको छ ।

गत आर्थिक वर्ष २०८०÷०८१ मा जिल्लाका विभिन्न स्थानमा हात्तीको आक्रमणमा परी छ जना मानिसको मृत्यु भएको र विभिन्न स्थानमा चार वटा हात्ती मृत अवस्थामा फेला परेको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले जानकारी दिनुभयो ।
विगत १४ वर्षको तथ्यांक हेर्दा हात्ती मृत्युको संख्या उच्च हो । आव २०६७÷०६८ देखि आव २०७९÷०८० सम्म एक–दुई र आव २०७५÷०७६ मा तीन वटा हात्तीको मृत्यु भएको कार्यालयको तथ्यांकमा छ । दाह्रा काटिएको अवस्थामा हात्ती मृत फेला परेकाले जिल्लामा हात्तीको शिकार भइरहेको पुष्टि भएको छ ।

हात्तीको आक्रमणबाट मृत्यु भए चार जनाका परिवारले रु १० लाखका दरले रु ४० लाख र अन्य क्षति ९घाइते, घर भत्काएको, अन्नपात नष्ट गरेको० वापत रु ३० लाख क्षतिपूर्ति पाएका छन् ।

हात्तीको आक्रणमा घाइते भएकालाई रु दुई लाख क्षतिपूर्ति दिने व्यवस्था भए पनि घाइतेको उपचारमा मोटो रकम खर्च हुने गरेको प्रमुख राई बताउनुहुन्छ ।

“झापा देशभरिमै सबैभन्दा बढी हात्ती प्रभावित जिल्लामा पर्छ”, उहाँले भन्नुभयो, “गत वर्ष देशभरि बाँडिएको राहत रकमध्ये करिब ११ प्रतिशत झापामा बाँडिएको थियो ।” हात्तीलाई छेकबार गर्न जति नै प्रयास गरे पनि हरेक वर्ष हात्ती पूर्वबाट प्रवेश गरेर कोशी पुगेर फर्किने गरेको उहाँ बताउनुहुन्छ ।

गत आवमा जिल्लामा हात्तीपीडितका लागि रु एक करोड ५० लाख राहत माग गरिए पनि रु ७० लाख मात्र आएको कार्यालय प्रमुख राई बताउनुहुन्छ । भन्नुहुन्छ, “राहत रकम बेलैमा नआउँदा समस्या भएको छ, चाँडै आउने जानकारी पाएका छौं ।”

झापामा आव २०६७÷०६८ देखि आव २०८०÷०८१ सम्म ६० जना मानिस र २१ वटा हात्तीको मृत्यु भएको छ । जसमध्ये सात जना गैरनेपाली रहेको कार्यालयका सूचना अधिकारी अञ्जना पुरीले जानकारी दिनुभयो ।

विगत १४ वर्षमा चार हजार पाँच सय हात्तीपीडितलाई रु नौ करोड राहत वितरण गरिएको कार्यालयले जनाएको छ ।

झापामा २५ देखि ३० वटा रैथाने हात्ती रहेका छन् । जसमध्ये १० वटा रैथाने हात्तीको नामाकरण समेत गरिएको छ ।

पछिल्लो समय हात्तीलाई जंगलभित्रै रहने वातावरण निर्माण गर्न वनभित्र सिमसार, हात्तीफल, केरा, बाँस लगायतका हात्तीले मन पराउने आहारा लगाउन थालिएको छ । हात्ती प्रभावित क्षेत्रमा टर्चलाइट, साइरन लगायतका सामग्री वितरण गरिएको कार्यालयका वन अधिकृत ऋषिराज पराजुलीले बताउनुभयो ।