Kanakai Online

चालु आवको काम अन्तिम चरणमा, भेलामुनी पर्यटकीय क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्दैछौंः वडाध्यक्ष पासवान


सोमवार, असार ४, २०८१ |

कनकाई अनलाईन

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका वडा नं. ५ मा चालु आ.व.का विकास कामहरु अन्तिम चरणमा रहेको छ ।
आ.व. २०८०÷ ०८१ का वडा गौरवको आयोजना लगायत अन्य आयोजनाहरुको कामहरु ९० प्रतिशत सम्पन्न भएको वडा नंंं ५ को कार्यालयले जनाएको छ । वडाले वडा गौरवको आयोजनाको रुपमा भेला मुनी धार्मिक तथा पर्यटकीय क्षेत्र निर्माण थोलेको छ । उक्त क्षेत्रमा गत वर्ष वडाले विनियोजन गरेको ९ लाखले कनकाई भगवतीको मन्दिर निर्माण गरि सकिएको छ ।
शिवसताक्षीको वडा नं.५ नगरकै पछि परेको वडा भएकाले यसलाई वडा गौरवको रुपमा धार्मिक तथा पर्यटकीय स्थलको विकास गरी पर्यटन भित्त्रयाउने उद्देश्य रहेको वडाध्यक्ष सिकिन पासवानले जानकारी दिए । चालु आ.वा. उक्त स्थानमा वडाले २० लाख बजेट विनियोजित बजेटबाट इन्टरलक क्लब, गेट लगायत फोटो सुटका लागि स्थानहरु निर्माण भएका छन् ।
वडाले वडाका मुख्य ७ वटा मुख्य बाटोहरु ग्राभेल गरेको छ । कल्र्भट निर्माण र कम जोखिम क्षेत्रमा ह्यामपाइप राखिएको छ ।
वडा नं. ५ शिवसताक्षी नगरको दक्षिणी भेगमा पर्दछ । यहाँ अधिकांश आदिबासी समुदायका रहेका र वडाका ९० प्रतिशत नागरिक कृषि पेशामा आवद्ध रहेका छन् । वडाध्यक्ष सिकिन पाश्वनले आफु निर्वाचन भएर आएपछि वडालाई नमुना वडाको रुपमा विकास गर्न लागि परेको बताए । वडा नं. ५ कृषिको मुख्य थलो भएकाले यहाँका किसानहरुलाई घाँस काट्ने मेसिन क्याम्पचर वितरण गरिएको छ ।
कृषि पेशालाई सहज बनाउन सिचाईका लागि लागत सहभागितामा १४ किसानलाई पानीको मोटर वितरण गरिएको वडाध्यक्ष पासवानले जानकारी दिए । उनले कृषकलाई तालिम भन्दा पनि कृषि उपकरण वितरणमा जोड दिएको बताए । वडाका पशुपालक कृषकलाई प्राथमिकतामा राख्दै ४ सय पशुलाई वडाले निशुल्क विमा गरिदिएको छ । पशुमा विभिन्न रोग लागी किसानले पालेको चौपायाको मृत्यु हुने र पशुपालन किसान घाटामा जाने भएकाले पशु विमा कार्यक्रम अघि बढाइएको वडा कार्यालयले जनाएको छ । चौपायमा हुने लम्बी रोगको विरुद्ध भ्याक्सिन उपलक्ध समेत गराइएको छ ।
गरिब तथा विपन्न समुदायलाई आय आर्जनका लागि वडाले ठेला उपलब्ध गराएको छ । वडाले चालु आवमा ४ जनालाई ठेला उपलब्ध गराएको हो ।
वडाका महिला दिदी बहिनीहरुको जिविको पार्जनका सक्षम र योग्य बनाउन विभिन्न तालिमहरु सञ्चालन गरेको छ । महिलाहरुलाई प्राथमिकतामा राख्दै सिलाई कटिङ्ग तालिम सञ्चालन गरेको हो । त्यस्तै वडाका २२ जनालाई ड्राइभिङ्ग तालिम दिई लाइसन समेत प्राप्त गरेका वडाध्यक्ष पासवानले बताए ।
वडाको पूर्व भागमा रहेको कनकाई नदिको कटान नियन्त्रणका लागि बाँसको पाइलिङ्गको लगाइएको छ । कनकाई र बनियानी नदि कटानलाई दिर्घकालिन नियन्त्रणका लागि पहल भइरहेको छ । वडाका केहीभागमा अझै पनि विद्युत नपुगेको भेल्टेजको समस्या रहेकाले त्यसका लागि काम भइरहेको वडाध्यक्ष पासवानको भनाई छ । जसमा ३ वडा ट्रास्फमर जडान गरिएको छ । सडक तथा बजारहरुको सुरक्षाका लागि रात्रीकालिन सडक बत्ती समेत जडान गरिएको छ ।
दलित समुदायका प्रवद्र्धन लागि नौमति बाजा वितरण गर्ने तयारी रहेको छ । जसले दलित समुदायको संस्कृति बचाउँदै आय आर्जनमा पनि बृद्धि हुने अपेक्षा गरिएको छ ।
वडाका सडकहरुको स्तरोन्नती गर्दै १८ किलोमिटर सडक कालो पत्रेका लागि काम सुरु भएको वडाध्यक्ष सिकिन पासवानले बताए । जसमा त्रिवेणी चोकदेखि रामजानकी मन्दिर, शिवगञ्ज देखि बोलोचोक सडक खण्ड, जनता भेलामुनी सडक खण्ड, घोगा बस्ती नहर पइट सडक खण्ड, जनता चोक विकास राईको घर सडक खण्ड, टक्सकी सिग्देल चोक सडक खण्ड, वडा नं. ५ र ४ को वडा कार्यालय बीचको सडक खण्ड लगायतका बाटोहरु एक वर्ष भित्र कालो पत्रे भइसक्ने छन् । दुई वर्ष अघि वडाको समग्र विकासका लागि सडक सञ्जाल विस्तारका लागि पालिकाको सहयोगमा कोरियन संस्थामा प्रास्ताव पेश गरिएको र उक्त संस्थाका प्रतिनिधिबाट स्थलगत अनुगमन गरेर कालो पत्रे गर्नेकामको थालनी गरिएको वडाध्यक्ष पासवानले जानकारी दिए ।

सम्बन्धित खबर