Kanakai Online

कनकाई माविको प्रअमा पुन कर्णबहादुर डाँगी


सोमवार, असार ४, २०८१ |

कनकाई अनलाईन
यहाँस्थित कनकाईको नमुना विद्यालयका रुपमा रहेको कनकाई–३ सुरुङ्गा स्थित कनकाई माध्यमिक विद्यालयमा कर्णबहादुर डाँगीले प्रधानाध्यापकका रुपमा पुनः निरन्तरता पाएका छन् ।

यस अघि २०७६ जेठ २९ गते बुधबारदेखी पाँच वर्षकालागी पूर्णकालीन प्रधानाध्यापकका रुपमा पदभार ग्रहण गरेका डाँगीले पुनः पूर्णकालीन प्रअका रुपमा निरन्तरता पाएका हुन् । नमुना विद्यालय विकास एवं संचालन निर्देशिका २०७४ (संसोधित २०७५) को दफा ८.१ (ग) अनुसार विद्यालय व्यवस्थापन समितिको बैठकले अद्यावधिक प्रअलाई नै निरन्तरता दिने निर्णय भएअनुसार डाँगीले नै अवसर पाएका हुन् । प्रअका रुपमा रहेर विगत पाँच वर्षको अवधिमा भएको कार्य सम्पादन उत्कृष्ठ ठहर गर्दै विद्यालय व्यवस्थापन समितिको बैठकमा भएको व्यापक छलफलपछि अद्यावधिक प्रअ डाँगीको विषयमा सर्वसम्मत निर्णय भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रप्रसाद प्रसाईँले जानकारी दिए ।

आगामी दिनमा विद्यालयको समग्र हित र हालको सम्वेदनशील समयलाई समेत मध्यनजर गर्दै बाँकी रहेका योजना र कार्यक्रमहरुलाई थप प्रभावकारी रुपमा सम्पन्न गरी विद्यालयको समग्र विकासमा अझै बढी भुमिका खेल्न निर्देशन सहित डाँगीलाई नै प्रअकालागी निरन्तरता दिने निर्णय भएको बताइएको छ ।

नमुना विद्यालयको रुपमा प्रस्तावित भएपछि प्रारम्भिक चरणमा योजना स्वीकृत र विद्यालयको विनियमावली निर्माणपछि प्रतिष्पर्धाका आधारमा प्रअ नियुक्ति गर्नुपर्ने प्रावधान अनुरुप पाँच वर्ष अघि प्रतिष्पर्धाबाट डाँगी प्रअमा नियुक्त भएका थिए ।

विद्यालयको सल्लाहकार समितिसँग विभिन्न चरणमा छुट्टै भएको छलफलबाट अद्यावधिक प्रअलाई नै निरन्तरता दिने निस्कर्षमा पुगेपछि व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको विद्यालयका अध्यक्ष प्रसाईँले बताए ।
विं.स २०२५ साल बैशाख २२ गते ते¥हथुम ह्वाकु आठराईमा जन्मेका डाँगीले मोरङको तत्कालीन सुनवर्सी निमावि गोविन्दपुर र सरस्वती मावि इटहराबाट कक्षा ८ सम्मको अध्ययन पुरा गरी २०४२ सालमा कनकाई माध्यमिक विद्यालयबाट प्रथम श्रेणीमा एसएलसी गरेका थिए ।

आई.एसी. पुरा गरेपछि २०४५ देखि २०४८ सम्म कनकाई माविमा निजी दरबन्दीमा रही कार्य गरेका डाँगीले त्रिभुवन विश्वविद्यालयबाट बी.एसी. र शैक्षिक योजना तथा व्यवस्थापन (इपीएम) मा प्रथम श्रेणीमा एम.एड. उत्तीर्ण गरेका छन् । २०५२ सालदेखि जनता मावि शरणामतीमा सरकारी दरबन्दीमा अस्थायी शिक्षक बनेका डाँगी कनकाई माविमा २०५८ सालमा सरुवा भएका थिए ।

२०६१ सालमा शिक्षक सेवा आयोगबाट स्थायी भएका डाँगी २०७१ सालमा मावि द्वितीय श्रेणीमा बढुवा भएका थिए । उनी २०७३ सालबाट सहायक प्रअ भई आर्थिक समिति संयोजक तथा शिक्षा विभाग प्रमुखको रुपमा कार्यरत थिए । उनी २०७५ देखि उच्च मावि तह बिहानी सत्रको संयोजकको भूमिका पनि पुरा गर्दै आएका थिए । हाल उनी आगामी कार्यकालकालागी पुनःकरार प्रअको रुपमा नियुक्त भएका हुन् ।

सम्बन्धित खबर