Kanakai Online

झापाका स्वास्थ्य बिमा दर्ता सहयोगी आन्दोलित


शुक्रवार, असार १, २०८१ |

कनकाई अनलाईन
झापामा स्वास्थ्य बिमा दर्ता सहयोगी आन्दोलित भएका छन् ।

सामाजिक सुरक्षा कर बापत एक प्रतिशत कट्टी भइरहेकोमा महालेखा परीक्षकले १५ प्रतिशत कर लिने परिपत्र जारी गरेपछि उनीहरू आन्दोलित भएका हुन् ।

महालेखा परीक्षकको अन्तिम लेखा परीक्षणले बाँकी १४ प्रतिशत दर्ता सहयोगीबाट नै असुलउपर गर्नु भनेपछि आन्दोलनमा उत्रिन बाध्य भएको दर्ता सहयोगी अनिल गौतमले बताए । २०८० साउनदेखि पारिश्रमिक समेत नदिएको उनले बताए । बिमा दर्ता गराएबापत १० प्रतिशत प्रोत्साहन रकममा १५ प्रतिशत कर कट्टी उचित नभएको भन्दै बिमा कार्यालयमा विरोध जनाएको उनले बताए । माग सम्बोधन नभएसम्म आन्दोलन जारी राखिने उनको भनाइ छ ।

रगत पसिना बगाएर काम गरिरहेको अवस्थामा सरकारले पारिश्रमिक रोकेर करको दायरामा वृद्धि गरेकोमा आन्दोलन गरिएको दर्ता सहयोगी रुमिला राईले बताइन् । २०७४ देखि बिमामा आबद्ध भए पनि हाल आएर १४ प्रतिशत रकम असुल गर्ने सरकारको नीति सच्याइनु पर्ने उनको भनाइ छ ।

झापाका विभिन्न पालिकाबाट आएका उनीहरूले बुधवार कालोपट्टि बाँधेर कार्यालयमा धर्ना दिँदै नाराबाजी गरेका थिए । कार्यालयमा ताला लगाउने प्रयास गरेपछि प्रहरीले अवरोध गरेको थियो । दर्ता सहयोगीले कार्यालय प्रमुख लक्ष्मी कँडेल लगायत कर्मचारीमार्फत मागपत्र बुझाएका थिए ।

महालेखा परीक्षकले गत वर्षदेखि १५ प्रतिशत कर कट्टी दर्ता सहयोगीबाट असुल गर्नु भन्दै बेरुजु देखाएपछि समस्या आएको कार्यालय प्रमुख लक्ष्मी कँडेलले बताइन् । प्रत्येक तीन महिनामा हिसाब आउने भएकोले यो वर्षको तीन महिनामा ६८ लाख ८३ हजार ९४० रुपैयाँमा १५ प्रतिशत कर कट्टी गरी ५८ लाख ६२ हजार ८४९ रुपैयाँ भुक्तानी गर्न परिपत्र आएको उनले बताइन् । यो विषयमा स्वास्थ्य बोर्डले अर्थ मन्त्रालय ,राजस्व विभागलाई पहल गरेपनि बेरुजु रकम दर्ता सहयोगीबाट नै असुल गर्ने परिपत्र आएको उनको भनाइ छ । जिल्लामा १ सय ७६ जना दर्ता सहयोगी रहेका छन् भने ७ लाख १३ हजार बिमामा आबद्ध रहेको कार्यालयले जनाएको छ ।

सम्बन्धित खबर