Kanakai Online

दुई विश्वकप खेल्ने एकमात्र खेलाडी सोमपाल


मङ्गलवार, जेठ २२, २०८१ |

कनकाई अनलाईन
सोमपाल कामी वर्तमान राष्ट्रिय टोलीमा रहेको सबैभन्दा अनुभवी खेलाडी हुन् । २८ वर्षीय सोमपालले देशका लागि एक सयभन्दा बढी अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् । उनी दायाँहाते मध्यमतेज गतिका बलर हुन् ।
सोमपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा एक सय २५ भन्दा बढी विकेट लिइसकेका छन् । टोलीलाई आवश्यक पर्दा उनी आक्रामक तरिकाले रन पनि बनाउन सक्छन् । उनले देशका लागि ५४ एकदिवसीय अन्तर्राष्ट्रिय र ६५ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।
सोमपालले एकदिवसीय अन्तर्राष्ट्रियको ५४ पालीमा २१।२८ को औसतले कुल पाँच सय ९६ रन बनाएका छन् । एकदिवसीय अन्तर्राष्ट्रियमा उनको स्ट्राइक रेट ७३।३९ रहेको छ । उनको उच्च स्कोर भने अविजित ६३ रन हो ।

एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा उनले दुईवटा अर्धशतक बनाएका छन् । उनले ४७ चौका र ११ वटा छक्का पनि प्रहार गरेका छन् । नेपाली टोलीका यी प्रभावशाली खेलाडीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १२ वटा क्याच पनि लिएका छन् ।

यसैगरी सोमपालले टी–२० अन्तर्राष्ट्रियको ३८ पालीमा ११।६६ को औसतले कुल तीन सय १५ रन बनाएका छन् । टी–२० अन्तर्राष्ट्रियमा उनको स्ट्राइकर रेट ११५।३८ रहेको छ । उनको उच्च स्कोर भने ४० रन हो । उनले २५ चौका र १३ वटा छक्का हिर्काएका छन् । उनले २२ क्याच पनि लिएका छन् ।

यसैगरी सोमपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ७१ विकेट लिएका छन् । उनको उत्कृष्ट प्रदर्शन ३३ रन खर्चिएर पाँच विकेट हो । उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पनि ५८ विकेट लिएका छन् । टी–२० अन्तर्राष्ट्रियमा उनको उत्कृष्ट प्रदर्शन २० रन खर्चिएर तीन विकेट हो ।

दुई विश्वकप खेल्ने एकमात्र खेलाडी
नेपालले सन् २०१४ मा पहिलो पटक आईसीसी टी–२० विश्वकप खेलेको थियो । त्यो विश्वकप पनि सोमपाल कामीले खेलेका थिए । त्यतिबेला विश्वकप खेल्ने अन्य खेलाडीले भने सक्रिय खेल जीवनबाट बिदा लिइसकेका छन् ।

त्यसैले सोमपाल कामी मात्र देशका लागि दुईवटा टी–२० विश्वकप खेल्ने एक्ला खेलाडी बन्दैछन् । आगामी विश्वकपका लागि पनि उनले टोलीमा स्थान पाएका छन् । सन् २०१४ को विश्वकपमा पनि उनले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

टी–२० अन्तर्राष्ट्रियमा डेब्यू
सोमपाल कामीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पनि आईसीसी टी–२० विश्वकपमार्फत नै ‘डेब्यू’ गरेका थिए । उनले सन् २०१४ मार्च १६ तारिखमा बंगलादेशको चटगाउँमा हङ्कङविरुद्ध पहिलो टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका थिए ।

आफ्नो पहिलो खेलमै सोमपालले तीन ओभर बलिङ गर्दै १३ रन खर्चिएर दुई विकेट लिएका थिए । आफ्नो पहिलो टी–२० अन्तर्राष्ट्रिय खेलमा उनले ब्याटिङको मौका भने पाएका थिएनन् । त्यो खेलमा नेपाल ८० रनले विजयी भएको थियो ।

यसैगरी सोमपालले आफ्नो अन्तिम टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता ओमानमा सम्पन्न एसीसी प्रिमियर कपमा खेलेका थिए । प्रिमियर कपअन्तर्गत सन् २०२४ को अप्रिल २० तारिखमा तेस्रो स्थानका लागि खेलिएको हङ्कङविरुद्धको खेलपछि उनले टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छैनन् ।

हङ्कङविरुद्धको उक्त खेलमा सोमपालले चार ओभरमा ३३ रन खर्चिएर तीन विकेट लिएका थिए । उनले १२ रन पनि बनाएका थिए । त्यो खेलमा नेपाली टोली चार विकेटले पराजित भएको थियो ।

प्रथम श्रेणी, लिस्ट ‘ए’ र टी–२०
सोमपाल कामीले हालसम्म तीनवटा प्रथम श्रेणीको क्रिकेट खेलेका छन् । प्रथम श्रेणीको क्रिकेटमा उनले ६ विकेट लिएका छन् । उनले प्रथम श्रेणीको क्रिकेटमा कुल ७७ रन बनाएका छन् । एकै पालीमा उनले बनाएको उच्च स्कोर भने ५१ रन हो ।

यसैगरी उनले हालसम्म ९८ वटा लिस्ट ‘ए’ प्रतियोगिता खेलेका छन् । लिस्ट ‘ए’ प्रतियोगितामा उनले कुल एक हजार ९१ रन बनाएका छन् । उनले तीनवटा अर्धशतक बनाएका छन् । उनको उच्च स्कोर भने ७५ रन हो ।

लिस्ट ‘ए’ क्रिकेटमा उनले एक सय २९ विकेट पनि लिएका छन् । उनको उत्कृष्ट प्रदर्शन २७ रन खर्चिएर पाँच विकेट हो । उनले ७८ वटा टी–२० क्रिकेट पनि खेलेका छन् । टी–२० मा उनले कुल तीन सय ३२ रन बनाएका छन् । उनको उच्च स्कोर ४० रन हो । टी–२० मा उनले ७१ विकेट पनि लिएका छन् ।

पछिल्लो प्रदर्शन
सोमपाल कामीले अन्तिम पटक घरेलु मैदानमा वेस्ट इन्डिज ‘ए’विरुद्ध टी–२० शृङ्खला खेलेका थिए । वेस्ट इन्डिजविरुद्धको दोस्रो खेलमा उनले तीन रन बनाए भने एक विकेट पनि लिए । चौथो खेलमा १० रन बनाए भने विकेट लिन सकेनन् । पाँचौँ खेलमा उनले १६ रन खर्चिएर तीन विकेट लिएका थिए । पाँचौँ खेलमा नेपाल ६ विकेटले विजयी भएको थियो ।

त्यसअघि उनले ओमानमा सम्पन्न एसीसी प्रिमियर कप पनि खेलेका थिए । प्रिमियर कपमा उनले हङकङविरुद्ध १२ रन बनाए भने ३३ रन खर्चिएर तीन विकेट पनि लिए । यूएईविरुद्ध पनि उनले एक विकेट लिएका थिए । समूहगत चरणमा उनले हङ्कङ, कतार र मलेसियाविरुद्ध भने विकेट लिन सकेका थिएनन् । त्यसअघि घरेलु मैदानमा खेलिएको शृङ्खलामा उनले आयरल्यान्ड तीन विकेट लिएका थिए ।

कीर्तिमान
टी–२० अन्तर्राष्ट्रियमा १०औँ नम्बरमा ब्याटिङ गर्न आएर सर्वाधिक रन बनाउने खेलाडीको सूचिमा सोमपाल कामी तेस्रो स्थानमा । सन् २०१४ को नोभेम्बर १४ तारिखमा श्रीलंकाको कोलम्बोमा खेलिएको हङ्कङविरुद्धको खेलमा उनले ४० रन बनाएका थिए ।

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक पालीमा सबैभन्दा बढी मेडन ओभर फाल्ने बलरको सूचीमा पनि सोमपाल चौथो स्थानमा रहेका छन् । सन् २०२२ को अगस्त २६ तारिखमा नैरोबीमा सम्पन्न केन्याविरुद्धको खेलमा उनले चार ओभरमा दुई मेडन फालेका थिए ।

यसैगरी टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा बढी ब्याट्सम्यानलाई बोल्ड गर्ने बलरको सूचिमा उनी २६औँ स्थानमा छन् । उनले हालसम्म २२ ब्याट्सम्यानलाई बोल्ड गरेका छन् । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा बढी ब्याट्सम्यानलाई एलबीडब्लूको धरापमा पार्ने बलरको सूचिमा उनी ४७औँ स्थानमा छन् । उनले सात ब्याट्सम्यानलाई एलबीडब्लू आउट गराएका छन् ।

सम्बन्धित खबर