Kanakai Online

झापाली समाज साउदी अरबद्धारा झापाली विद्यार्थीको छात्रवृति कोषमा पाँच लाख सहयोग


बुधवार, जेठ १६, २०८१ |

कनकाई अनलाईन
झापाली समाज साउदी अरवले शिक्षामा वार्षिक छात्रबृत्ति कोषका लागि नगद ५ लाख रुपैँया सहयोग रकम हस्तानतरण गरेको छ ।

झापा बिर्तामोडस्थित विशेष कार्यक्रमका विच झापाली समाज साउदी अरबका संस्थापक अध्यक्ष मदन ओडारीले अन्तराष्ट्रिय झापाली समाजका अध्यक्ष मुकुन्द ढुङ्गानालाई उक्त रकम हस्तानतरण गर्नुभएको हो । उक्त रकम हस्तानतरण कार्यक्रममा बोल्दै अन्तराष्ट्रिय झापाली समाजका अध्यक्ष मुकुन्द ढुङ्गानाले अब विश्वभर छरिएर रहेका झापालीहरुको साझा कार्यक्रमका रुपमा यस छात्रवृत्ति कोष बनेको बताउँदै सारा झापावाशीहरु जो स्वदेश तथा विदेशमा रहेका छन सबैको माया र सदभाव यस कोषमा रहने र यस कोषले अन्तराष्ट्रिय र विश्व व्यापी बन्न पुगेको बताउँनुभयो ।

“गरिब, मेधावी र प्रतिभावान विद्यार्थीको शैक्षिक उन्नयनमा अविछिन्न सहयोग,झापाली समाजको प्रस्तुति शिक्षामा वार्षिक छात्रबृत्तिको लागि अक्षयकोष” भन्ने आशयका साथ गत अप्रिल १२ २०२४ मा सपन्न्न झापाली समाज साउदी अरब को दोस्रो महाधिवेशन तथा बृहत् सांस्कृतिक र शुभकामना आदानप्रदान कार्यक्रमबाट कार्यक्रममा संकलित रकम ७ लाख बराबरको अक्षयकोष स्थापनाको लक्ष्य रहेकोमा विशेष कार्यक्रमका विच ५ लाख बिर्तामोडमा प्रदान गरिएको हो । संकलित अन्य २ लाख रुपैँया अन्य सामाजिक कार्यहरुमा खर्च गरिने जनाइएको छ ।
घोषित एउटा महत्वकांक्षी छात्रवृत्ति कार्यक्रम ‘एक व्यक्ति एक विद्यार्थी’ का लागि अभियानको सुरुवात झापाली समाज अमेरिकाले गरेको हो र यसमा झापाली समाज साउदी अरब ले पनि २ जना विद्यार्थीको वार्षिक छात्रबृत्ति को लागी साथ दिएको झापाली समाज साउदी अरव का अध्यक्ष रबिन गिरी ले बताउनु भयो ।
अमेरिकामा बसोबास गर्ने नेपालीहरुको संस्था झापाली समाज युएसएको अगुवाईमा झापाका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि छात्रवृत्ति प्रदान सुरुवात गरिएकोमा यसलाई विश्वभर छरिएर रहेका झापालीहरुले साथ दिएका हुन ।

मंगलवार बिर्तामोडमा एक कार्यक्रमको आयोजना गरी समाजले झापा जिल्ला सहकारी संघ र काठमाडौँस्थित झापा विकास मञ्चको सहकार्यमा छात्रवृत्ति प्रदान गरेको हो ।

झापाका सामुदायिक विद्यालयका विपन्न तथा मेधावी विद्यार्थीलाई तेस्रो वर्षको कार्यक्रमअन्तर्गत छात्रवृत्ति प्रदान गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि झापाका शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख राजकुमार विकले जिल्लाका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नुभएको थियो ।

यसैबीच, झापा जिल्ला सहकारी संघले छात्रवृत्ति कोषको घोषणा गरेको छ । एक करोड रुपैयाँ कोष स्थापना गर्नेगरी घोषणा गरिएको हो ।

कोषका लागि संघका अध्यक्ष गणेश ढकाल र वरिष्ठ उपाध्यक्ष महेन्द्रकुमार गिरीले एकएक लाख तथा सचिव भवानीप्रसाद दंगालले ५० रुपैयाँ प्रदान गर्नुभयो ।

झापा जिल्ला सहकारी संघमार्फत जिल्लाका २२ वटा सहकारीले छात्रवृत्ति अभियानमा सहयोग गरेका छन् । झापाका सबै क्षेत्र समेटिने गरी सामुदायिक विद्यालयहरु छनोट गरिएको जनाइएको छ ।

संघका वरिष्ठ उपाध्यक्ष महेन्द्रकुमार गिरीले स्वागत गरेको कार्यक्रममा प्रमुख अतिथि विक, झापा विकास मञ्चका डक्टर आनन्द श्रेष्ठ, कनकाई नगरप्रमुख राजेन्द्रकुमार पोख्रेललगायतले शुभकामना व्यक्त गरेका थिए ।

संघका सचिव भवानीप्रसाद दंगालले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष गणेश ढकालले गर्नुभएको थियो ।

सम्बन्धित खबर