Kanakai Online

उत्पादनसँग जोड्न एक लाख फलफुलको विरुवा रोपाईं शुरु


आइतवार, जेठ १३, २०८१ |

कनकाई अनलाईन
पर्यावरणको संरक्षणसँगै उत्पादनमा जोडिन दमकमा १ लाख फलफुलको विरुवा रोपाईं शुरु भएको छ । जनतासँग हातेमालो गर्दै नेकपा माओवादी केन्द्रको अगुवाइमा बृक्षारोपण थालिएको हो ।


झापाको दमक नगरपालिका वडा नं। १ मा रहेको साकेला थानमा भेला भएका २ सय बढी मानिसले आज फलफुलका विरुवा रोपेर दमकमा १ लाख विरुवा रोप्ने अभियानको शुरुवात गरेका छन् । जलबायुको परिवर्तनको असरलाई कम गर्न र उत्पादनसँग जोड्न अव स्थानीय कार्यकर्ताले माथि नभई तलको समस्या प्रति एकजुट हुन माओवादी केन्द्र पार्टीका केन्द्रिय सदस्य तथा कोशी प्रदेश शिक्षण विभागका प्रमुख अजम्बर राई काङमाङले आग्रह गर्नु भएको छ ।
उहाँले अव चुरे संरक्षणमा ध्यान नदिने हो भने तराई सुक्ने भएकाले बृक्षारोपणमा सवैले जोड दिनु पर्ने बताउनु भयो । यस्तै उहाँले अव राजनैतिक दलका कार्यकर्ताले काठमाण्डौं वा बालुवाटार नताकेर तल्लो तहको विकासमा लाग्नु पर्ने बताउनु भयो ।
एक घर एक लिची र कागती रोप्नका लागि दमकका १० वटा वडामा १ सय टिम तयार गरी कामको शुरुवात गरिएको छ । यसका लागि हरेक घरमा पुगेर वृक्षारोपण गरिने पार्टीका जिल्ला अध्यक्ष राजु आचार्यले बताउनु भयो । उहाँले दमक नगरपालिकाको परिसरमा विरुवा रोप्दै साँकेतिकरुपमा नगरपालिकाको ध्यानाकर्षण गरेको बताउनु भयो । पर्यावरणको संरक्षण र उत्पादनमा जोड दिन पालिकाले समेत कार्याक्रम बनाउनु पर्ने उहाँको भनाइ छ ।
जनयुद्धमा शहिद बनेका परिवारका सदस्य, घाइते तथा सहयोगी गरी १ सय ७ जनालाई सम्मान गर्दै शुरु गरिएको अभियान अन्तर्गत अव घर घरमा पुगेर सम्मानसँगै विरुवा रोप्ने काम गरिने छ । देशमा भएको व्यवस्था परिवर्तनसँगै जनताको अवस्था बदल्न अब सबै पार्टी जुट्नु पर्ने दमक नगर कमिटि अध्यक्ष रवि बस्नेतले बताउनु भयो । उहाँका अनुसार हरेक वडामा वडा स्तरीय कमिटि गरेको र सवै कमिटि माताहत अन्य १० वटा टीम परिचालन गरी सकभर यसै बर्षमा वृक्षारोपण गरिने बताउनु भयो ।
दश बर्षे जनयुद्ध पछि २०६२/६३ को राजनैतिक एकताको परिवर्तनले देशमा संघीय गणतन्त्रात्मक शासन लागु भएको २ दशक पुग्न लागेको छ । अव हरेक बस्तुमा आत्मानिर्भर बन्ने गरी उत्पादनसँगै आयात भन्दा निर्यातमा जोड दिने हो भने देशमै रोजगारसँगै आर्थिक समृद्धि हुने सामाजिक अगुवाको भनाइ छ ।

सम्बन्धित खबर