Kanakai Online

झापामा ६३ प्रतिशतले खाए हात्ती पाईलेको औषधि


बुधवार, वैशाख २६, २०८१ |

कनकाई अनलाईन
झापामा हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन अभियानको घरदैलो कार्यक्रम सम्पन्न हुँदा ६३ दशमलव २४ प्रतिशत नागरिकले औषधी सेवन गरेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

यसरी जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधी सेवन गराउने पालिकाहरूमा बिर्तामोड नगरपालिकाले सबै भन्दा अगाडि रहेको छ । बिर्तामोडले ९१ दशमलव ७६ प्रतिशत औषधी सेवन गराउन सफल भएको छ ।

त्यस्तै कन्काई नगरपालिकाले ८० दशमलव ७४ प्रतिशत औषधी सेवन गराएको छ भने बुद्धशान्ति गाउँपालिकाले ८० दशमलव ४७ प्रतिशत जनतालाई औषधी सेवन गराएको स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बराकोटीले बताउनुभयो ।

त्यस्तै कमल गाउँपालिकाले ४७ प्रतिशत, अर्जुनधारा नगरपालिकाले ६९ दशमलव ४६ प्रतिशत, मेचीनगर नगरपालिकाले ६१ दशमलव ७९ प्रतिशत शिवसतासी नगरपालिकाले ५८ दशमलव ६० प्रतिशत दमक नगरपालिकाले ६२ दशमलव ५१ प्रतिशत,गौरादह नगरपालिका ३६ दशमलव ५३ प्रतिशत,झापा गाउँपालिका ६० दशमलव ३३ प्रतिशत,बाह्दशी गाउँपालिका ५८ दशमलव ४३ प्रतिशत, हल्दिवारी गाउँपालिका ५६ दशमलव ४८ प्रतिशत,भद्रपुर नगरपालिका ३३ दशमलव ९४ प्रतिशत र कचनकवल गाउँपालिका ६८ दशमलव ९३ प्रतिशत नागरिकलाई औषधी सेवन गराउन सफल भएको प्रमुख बराकोटीले बताउँनुभयो ।
झापामा यो सगै घरदैलो कार्यक्रम सकिएको छ भने छुटनेहरुले स्वास्थ्य सस्थाहरुमा गएर औषधि सेवन गर्न सक्ने स्वास्थ्य कार्यालय झापाले जनाएको छ । १३ औ पटकको यस अभियानमा झापाको कनकाई नगरपालिकाले औषधि सेवन अनिवार्य गर्न कार्डनै जारी गरेको थियो । औषधि सेवनगरेको कार्ड देखाएपछि मात्रै नगरपालिकाले दिने सेवा सुविधा लिन पाउने व्यावस्था मिलाएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउँनुभयो ।
कनकाईमा यसअघिको १२ औ पटकको अभियानमा ४८ प्रतिशतले मात्रै यो औषधि सेवन गरेको पाइएकोले कार्डनै जारी गर्नुपरेको नगरप्रमुख पोखरेलले बताउँनुभयो । झापामा बैशाख १६ गतेदेखि २५ गतेसम्म घरदैलोमै गएर यो औषधि सेवनको अभियान चलाइएको थियो ।

हात्तीपाइले विरुद्धको औषधि खुवाउने अभियानअन्तर्गत घरदैलोका क्रममा जिल्लाका सबै पालिकाहरुमा हात्तीपाइले रोगको लक्षण भएका व्यक्तिहरु भेटिएका छ । गत वर्षको तथ्यांक अनुसार झापामा १५० को हाराहारीमा हात्तीपाइलेका रोगीहरु भेटिएका थिए । यस वर्ष त्यसको निकै गुणा रोगीको संख्या बृद्धि हुने आकलन गरिएको छ । जिल्लाका २० प्रतिशत विरामीहरु मात्र खुलेर बाहिर आएको र ८० प्रतिशत बिरामीहरु लुकेर बसेकाले यस वर्षको अभियानमा त्यस्ता धेरै विरामीहरु भेटिएको स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाह्रकोटीले बताउनुभयो ।

कचनकवल गाउँपालिकाका ७ प्रतिशतमा हात्तीपाइलेको संक्रमण रहेको तथ्यांक छ । जवकि त्यहाँको जनसंख्या ४२ हजार ९१२ रहेको छ । त्यस आधारमा त्यहाँ मात्र ३ हजारभन्दा बढी हात्तीपाइलेका विरामी रहेको समीक्षा गरिएको छ । त्यस्तै झापा गाउँपालिकामा ४ प्रतिशत हात्तीपाइलेको विरामी रहेको तथ्यांक छ । झापा गाउँपालिकाको कुल जनसंख्या ३९ हजार ३०२ को ४ प्रतिशत भनेको करिव १५७२ जना हो । यसरी झापामा ठूलो संख्यामा हात्तीपाइलेका रोगीहरु रहेका छन् ।

बिर्तामोडमा गत वर्ष एकजना हात्तीपाइलेको विरामी सार्वजनिक भएकोमा यस वर्ष खोज्दै जाँदा करिव १० जना नयाँ विरामी भेटिसकेको र अझै भेटिने क्रममा रहेको नगरपालिकाका सिनियर अहेव दीपक सापकोटाले बताउनुभयो । यता झापाको कनकाई नगरपालिकामा भने हालसम्म यो रोगी फेला नपरेको जनस्वास्थ्य निर्देशक नारायण अधिकारीले बताउँनुभयो ।