Kanakai Online

लागुऔषधको अखडा बन्दै बिर्तामोडका होटल


मङ्गलवार, वैशाख ४, २०८१ |

कनकाई अनलाईन
बिर्तामोड बसपार्कका होटलहरु लागूऔषधको अखडा बन्दै गएको पाइएको छ ।
होटलहरुमा बेश्यावृत्तिसंगै लागूऔषधको प्रयोग र कारोबार हुने गरेको विभिन्न घटनाहरुले देखाएको छ ।
यसक्रममा ठूलो मात्रामा लागूऔषधसहित बिर्तामोड बसपार्कका एक होटल कामदार पक्राउ परेका छन् । सोमवार दिउँसो २ः३० बजेको समयमा अर्जुनधारा नगरपालिका वडा नं.११ नयाँ बसपार्कस्थित पुरानो माउण्ट मेची होटल एण्ड लजमा प्रतिबन्धित औषधीहरु बिक्री बितरण गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बिर्तामोड र अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले छापा मारेको थियो । उक्त होटलमा पुगी चेकजाँच गर्दा होटलको काउन्टरमा विभिन्न प्रतिबन्धित औषधीहरु फेला परेको थियो । होटलमा प्रहरीले छापा मार्दा विभिन्न लागुऔषधमा प्रयोग हुने ट्याब्लेटहरु नेपाली नगद रु.४,६३५ र एक थान कैची बरामद भएको थियो ।

ती प्रतिबन्धित औषधीसहित मोरङ मिक्लाजुङ गाउँपालिका वडा नं. १ मा स्थायी घर भई हाल सोही होटलमा काम गरी बस्ने २२ वर्षीय सगुन राईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको प्रहरीले जनाएको छ । यसअघि पनि बिर्तामोड बसपार्कका होटलबाट लागूऔषधसहित मानिसलाई पक्राउ गरेको थियो ।