कनकाई अनलाईन
राजधानी बाहिर पहिलो पटक पत्रकार उपचार कोषमा पत्रकार महासंघ झापा शाखाले एक करोड ११ लाख १११ रुपैयाँको पत्रकार उपचार कोष घोषणा गरेको छ ।
समाचार संकलनका क्रममा घाइते तथा बिरामी हुने पत्रकारलाई सहयोग गर्ने उदेश्यले देशमै पहिलो पटक झापामा करोड रुपैयाँ राशीको कोष स्थापना गरी सोमवार बिर्तामोडमा एक समारोहका बिच घोषणा गरिएको हो ।
पत्रकार सहारा उपचार कोषको घोषणा गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले गर्नुभयो ।
पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष भीम नेम्वाङको कार्य कालमा २०७३ पुस १६ गते पत्रकार–सहारा उपचार कोषको अवधारणा शुरु भएको थियो । तत्कालिन समयमा पत्रकार महासंघको कोषबाट चार लाख र सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको ५ लाखसहित जम्मा नौ लाख रुपैयाँवाट शुरु भएको कोष आठ वर्षमा करोड पुर्याएको नेपाल पत्रकार महासंघ झापका अध्यक्ष एकराज गिरीले जानकारी दिनुभयो । नेम्वाङपछिका अध्यक्ष तारामणि सापकोटाले पनि कोष निर्माणका लागि आर्थिक संकलन अभियानलाई निरन्तता दिनुभएको थियो । कोषका लागि अभियान शुरु गरी तीन वर्ष भित्रै ६० लाख वढी रकम संकलन गरिएको हो । कोषमा पत्रकारहरुले जनही तीन हजार रुपैयाँ जम्मा गरिएको पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले बताउँनुभयो ।
कोषमा धेरैजसो रकम दाताहरुवाट संकलन भएको रकम जम्मा गरिएको छ । झापाका पत्रकारहरुलाई कोषको व्याजवाट आउने रकम नगदै सहयोग उपलव्ध गराउने अध्यक्ष गिरीले बताउँनुभयो । कोषबाट प्राप्त रकमबाट समाचार संकलनको क्रममा हुने दुर्घटना, रोग लागेर बिरामी हुने तथा सुत्केरी हुने महिला पत्रकारलाई उक्त कोषको ब्याजबाट सहयोग प्रदान गरिनेछ । हालसम्म ४० जना बिरामी पत्रकारलाई कोषको ब्याजबाट सहयोग प्रदान गरिसकिएको पत्रकार महासंघ झापाका सचिव डिकेश लामाले बताउँनुभयो ।
आठ वर्षअघि पत्रकारहरुको सुरक्षाका लागि कोष निर्माणको अभियान थालिएको थियो । नेपाल पत्रकार महासंघ झापाको अगुवाईमा ‘पत्रकार–सहारा उपचार कोष’ नामाकरण गरेर कोष स्थापनाको अभियान शुरु गरिएको थियो ।
सोही कार्यक्रमकाबिच पत्रकार महासंघ झापा शाखाले भवन स्तरोउन्नती गरी भवनको समेत उद्घाटन गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि डा. यादवले पत्रकारहरुको उपचारका लागि देशमै नमुनाका रुपमा पत्रकार सहारा उपचार कोषको स्थापना गरिएको भन्दै देशका अन्य स्थानमा समेत यसको सिको गर्न जरुरी भएको बताउँनुभयो । पत्रकारको उपचारका लागि आर्थिक सहयोग गरेको भन्दै दाताहरुलाई पुर्वराष्ट्रपति यादवले सम्मान समेत गर्नुभयो । कार्यक्रममा महासंघका केन्द्रिय अध्यक्ष बिपुल पोखरेल, सहारा नेपाल साकोसका प्रमुख कार्यकारी अधिकृत महेन्द्रकुमार गिरी, कोशी प्रदेश पूर्व मुख्यमन्त्री हिक्मत कार्की, उद्धव थापालगायतले आ–आफ्नो धारणा राख्नुभयो ।