कनकाई अनलाईन
इलाका प्रहरी कार्यालय अनारमनीले हल्दिवारी गाउँपालिकाका पूर्व उपाध्यक्ष डम्बर गिरीलाई जातीय भेदभाव तथा अपमान सम्बन्धि कसुरमा नियन्त्रणमा लिएको छ । गिरी विरुद्ध पहिलेका उनकै सहकर्मी समेत रहेका जिविस झापाका पुर्व सभापति सोमनाथ पोर्तेलले जातिय भेदभाव विरुद्ध जाहेरी दर्ता गराउँनुभएको थियो ।
जिल्ला समन्वय समिति झापाका पूर्व प्रमुख सोमनाथ पोर्तेलले गिरी विरुद्ध इप्रका बिर्तामोडमा चैत २८ गते जाहेरी दिनुभएको थियो । सोही जाहेरीका आधारमा प्रहरीले गिरीलाई बैशाख १ गते साँझ बिर्तामोडबाट नियन्त्रणमा लिएको झापा प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक कृष्ण कुमार चन्दले जानकारी दिनुभयो । जिल्ला अदालत झापाबाट गिरी विरुद्ध पक्राउ पुर्जी जारी भएपछि उहाँलाई शनिवार राती गिरीलाई बिर्तामोडबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता चन्दले जानकारी दिनुभयो ।
पूर्व उपाध्यक्ष गिरीले जिसस झापाका पूर्व प्रमुख पोर्तेललाई टेलिफोन सम्बाद मार्फत जातीय तथा अन्य छुवाछूत र भेदभाव (कसुर र सजाय) ऐन २०६८ आकर्षण हुने गरि अभिव्यक्ति दिनुभएको थियो ।
फोन मार्फत पोर्तेललाई जातको आधारमा अपमान र विभेद गर्ने गरि गाली गरेका गिरीलाई कानुनी कारबाही गर्न झापाका दलित संघ संगठनहरुले संयुक्त रुपमा अपील गरेका छन ।
नेपाल दलित संघका सभापति दल बहादुर विश्वकर्मा, मुक्ति समाज झापाका अध्यक्ष तिलक गजमेर, नेपाल दलित मुक्ति मोर्चाका अध्यक्ष सुर्यबहादुर विश्वकर्मा (सुरेश), कोशी प्रदेश सदस्य कुमार ठटाल, राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संगठन झापाका अध्यक्ष रमेश बिश्वकर्मा, दलित जागरण अभियान केन्द्रका अध्यक्ष छविलाल विश्वकर्मा र ओरिफ नेपालको उपाध्यक्ष निरु परियारले संयुक्त विज्ञप्ति जारी गर्दै कारबाहीको माग गर्नुभएको हो ।
पोर्तेल नेपाल उत्पीडित जातीय मुक्ति समाज केन्द्रीय सचिव तथा नेकपा (एमाले) कोशी प्रदेश कमिटी सदस्य समेत रहनुभएको छ । गिरी पहिलेका एमाले कार्यकर्ता भएपनि हाल पार्टी परित्याग गरेर स्वतन्त्र रुपमा रहदै आउनुभएको छ । उहाँले गत संघिय निर्वाचनमा स्वतन्त्र रुपमा उम्मेद्धारी समेत दिनुभएको थियो ।