कनकाई अनलाईन
देशका कतिपय स्थानमा हिन्दु र मुस्लिम युवाविच आपसी झगडा समेत भइरहेको बेला हिन्दु मृस्लिम समुदायलाई एकसुत्रमा बाध्ने उदेश्यका साथ झापा कनकाई नगरपालिका वडा नम्बर ३ का वडा सदस्य समेत रहनुभएका गोबिन्द सुवेदीले यहाँस्थित मदिना जामे मस्जिदमा रोजामा रहेका मुस्लिमहरुलाई मिष्ठान तथा भोजनका लागि खाद्यन्न सामाग्री वितरण गर्नुभएको छ ।
सुवेदीले शुक्रवार कनकाई ३ को जामे मस्जिदमा फलफूलसहित मिष्ठान भोजनका लागि सामाग्री वितरण गर्नुभएको हो ।
हिन्दू र मुस्लिमबिचको भाइचारालाई अझ मजबुत बनाउन सुवेदीले शुक्रबार बिहान खाद्यन्न सामाग्री अन्तरगत फ्रुटी, स्याउ, सुन्तला, भूजालगायतका सामाग्री वितरण गरेका थिए भने साँझ मस्जिदमा पुगेर उनीहरुका साथमा खुसी साटासाट गर्नुभएको हो ।
धर्म फरक–फरक भएपनि हिन्दू र मुस्लिमसहित सवैकोे उदेश्य एउटै भएकाले मुस्लिमको पबित्र रमजानमा भाइचाराको सम्बन्ध कायम गर्न पनि आफुले मस्जिदमा खानेकुरा वितरण गरेको सुवेदीले बताउँनुभयो । सबै धर्मको उद्धेश्य एउटै भएकोले अरुको धर्ममा बितृष्णा पैदा गर्ने काम कसैले गर्न नहुने भन्दै एकअर्काको पर्वमा खुसी साटासाट गर्न सके भाइचाराको विकास हुने सुवेदीको भनाई छ ।
मदिना जामे मस्जिदका अध्यक्ष फिरज आलमले सबै धर्मको आफ्नै पहिचान रहेको र सबै धर्मले शान्तीकै पाठ सिकाउने भएकोले सबैको आस्थालाई सुवेदीले झै एक अर्काले सम्मान गर्न सके सदैव सामाजिक सद्भाव कायम रहने भन्दै सुवेदीको कार्यलाई धन्यावाद दिनुभयो ।
कनकाई ३ का वडाध्यक्ष युवराज चम्लागाईंले यस कार्यले सबै धर्म समुदाय मिलेर चाड मनाउन सन्देश दिएको बताउँनुभयो । हाम्रो देश धेरै जातजाति र धर्म मिलेर बसिरहेकोले यस्ता कार्यक्रमले देशभर भाइचाराको सन्देश जाने बताउँनुभयो ।
कनकाई नगर अस्पतालको अध्यक्ष युवा रविन्द्र लम्सालले समाज रहेका सबै मानिसमा मानवीय भावना हुने बताउँदै मुस्लिम समुदायको पर्वमा सबैले सद्भाव देखाउनु अति राम्रो काम भएको बताउँनुभयो ।
यता युवा नेता कमल कट्टेल समेत यस पवित्र कार्यमा सहभागि हुनुहुदै यस्ता कार्यले नेपालमा सबै जाति र समुदाय धर्मविच भाई भाईको सम्बन्ध भएको सन्देश देशभर गएको भन्दै यस्तो कार्य गर्ने सुवेदीलाई धन्यावाद दिनुभयो ।
कार्यक्रममा सहभागि मुस्लिम पत्रकार समिर आलमले हिन्दु धर्म मुस्लिम धर्म जे भनेपनि यसको सन्देश एउटै मानव जातिको हित भएकोले आफुले समेत हिन्दुको जात्रा पर्वमा पानी बाढेको र सो दृश्यलाई अनलाईन भिडियोमा लाखौ शेयर भइसकेको भन्दै जुन धर्मको भएपनि पहिले हामी नेपाली भएको बताउँनुभयो ।
गत फागुन २९ गतेबाट शुरु भएको रमजान चैत २८ गते सम्पन्न हुनेछ ।