Kanakai Online

लागुऔषध बिरुद्ध सचेतनामा अर्जुन दृष्टि आवश्यक


शुक्रवार, चैत २३, २०८० |

लीलाराज झापाली
झापा मात्रै नभएर देशका सबै क्षेत्र पछिल्लो समय लागुऔषधको समस्याको दलदलमा नराम्ररी फसिसकेको छ ।


कनकाई नगरपालिकामा त झन पछिल्लो समयमा ३ महिनाभित्रै एक दर्जन बढी युवाहरु लागुऔषध कारोबारमा सग्लन भएकै कारण पक्राउ परेर कार्वाही भोगिरहेका छन भने ठुलो सङ्ख्यामा युवाहरु अहिले पनि सुधार केन्द्रभित्र रहेका छन ।


कनकाई नगरपालिकालाई राम्रो र लागुऔषध मुक्त बनाउनका लागि नगरपालिकाले सुर्तिजन्य पदार्थ सेवन र विक्री वितरणमा पुर्णतय रोक लगाउने निर्णय गरिसकेको छ तर निर्णय कार्यान्वयन भएको नभएको भन्ने अनुगमन र यसवारेमा सचेतनाको कुनै संयन्त्र नहुदा निर्णय कार्यान्वयनमा शंका उत्पन्न भएको छ । कनकाई नगरपालिकाले यसो त अन्य पालिकाहरुलाई समेत यस अभियानमा जुटनका लागि आग्रह गर्दै आएको छ । कनकाई नगरपालिकाले थालेको यस अभियानलाई अन्य झापाका पालिकाहरुले समेत कार्यान्वयनमा जाने हो भने लागु औषध र सुर्ति सेवनको सङ्ख्यामा कमी आउन सक्ने छ । प्रहरी सचेत नागरिक र नगरपालिका सबैको सचेत पहलमा मात्रै यी कार्यहरु सफल हुने हुन ।

हामीले मानिसलाई जोरजवरजस्तीले भन्दा सचेतनामुलक कार्यहरु गरेर यसलाई रोक्न सक्छौ । साच्चैको समस्याका रुपमा रहेको लागुऔषध प्रयोगलाई रोक्नका लागि प्रहरी र पालिका मात्रै सचेत भएर पुग्दैन प्रत्येक घरघरबाट यसलाई रोक्नका लागि सचेत पहल हुनु आवश्यक छ । पालिकाले समेत आफ्नो पाठ्यक्रम बनाउँदा लागु औषधका कक्षाहरु र यसको वेफाईदा र जीवनमा पार्ने प्रभावलाई लक्षित गरेर कार्यक्रम बनाउन ढिला गर्नु हुदैन । साईबर सचेतना र लागुऔषध सचेतनालाई अबका कम्तीमा ५ बर्ष सबै पालिकाहरुले अर्जुन दृष्टि बनाएर लैजानु पर्छ । जसरी यहाँका प्रत्येक संघ संस्थाले साधरणसभा, रक्तदान जस्ता कार्यक्रमहरु बार्षिक रुपमा क्यालेण्डर बनाएरै गर्दछ । यसमा अब कम्तीमा प्रत्येक संघ संस्थाले लागु औषध र साईबर सचेतनालाई समेत आफ्नो बार्षिक क्यालेण्डरमा समावेश गर्नु आवश्यक भइसकेको छ ।