कनकाई अनलाईन
झापामा होली पर्वमा अवाञ्छित गतिविधि गर्ने ६ जना पक्राउ परेका छन् भने प्रहरीले ३५८ वटा मोटरसाईकललाई नियन्त्रणमा लिएको छ ।
होली मनाउनेक्रममा अवाञ्छित गतिविधि गर्ने ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
त्यस्तै ३५८ वटा सवारीसाधनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक ढुण्डीराज गिरीले बताउँनुभयो । प्रहरीका अनुसार दुई पाङ्ग्रे सवारी साधन ३४७ , तीन पाङ्ग्रे १० र चार पाङ्ग्रे १ वटा नियन्त्रणमा लिइएको हो ।
मादक पदार्थ सेवन गरेर सवारी चलाउने , तीन जना मोटरसाइकलमा सवार हुने , हेल्मेटबिना मोटरसाइकल चलाउनेलाई नियन्त्रणमा लिइएको गिरीले बताउँनुभयो ।
प्रहरी प्रशासनले कसैको ईच्छाबिपरीत रंग दल्ने र फोहोर पानीको लोला हान्ने कार्य गरेमा कानुनी कार्वाही गर्ने निर्णय गरेको थियो । झापाको बिर्तामोड , दमक, सुरुङ्गालगायतका ठाउँमा सामूहिक होली खेल्ने कार्यक्रम आयोजना गरिएको थियो ।
प्रहरीले यस अघि होलि सम्बन्धि सचेतनाका लागि माईकिङ्ग समेत गरेको थियो ।
झापामा होली पर्वलाई मर्यादित र सुरक्षित बनाउन जिल्लाभर ५ सय सुरक्षाकर्मी परिचालित गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । होलीलाई मित्रवत् पर्वको रुपमा मनाउन जिल्ला प्रहरी कार्यालय झापाले आम जिल्लावासीलाई अपिल गरेको छ । होलीको लागि छुट्टै सुरक्षा रणनीति बनाएको बताउँदै जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीले सोमवार बिहानदेखि जिल्लाभर ट्राफिकसहित ५ सय प्रहरी परिचालन भएको बताउँनुभयो ।
‘विशेष गरी मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउने, हेलमेट नलगाउने र तीन सवार हुने मोटरसाइकलमाथि निगरानी बढाएर तत्काल नियन्त्रणमा लिन जिल्लाभरका इञ्चार्जहरुलाई निर्देशन दिइसकेको केसीले बताउँनुभयो ।
यसका लािग आईतबार जिल्लाभरका इञ्चार्जहरुलाई प्रहरी कार्यालयमा बोलाएर होली लक्षित सुरक्षा योजनाका बारेमा निर्देशन दिइएको समेत प्रहरी प्रमुख केसीले बताउँनुभयो । होली मनाउने क्रममा कसैको इच्छा विपरीत बाधा पुग्ने गरी रङ्ग नलगाउन, महिला तथा अपरिचित व्यक्तिहरूको मन्जुरी बिना जबरजस्ती होली खेल्नेलाई पक्राउ गरी कानुन बमोजिम कारबाही गर्न निर्देशन जारी गरेको केसीको भनाई छ ।
होली खेल्ने बाहानमा चोरी, लुटपाट जस्ता घटनाहरू समेत हुन सक्ने भएको हुँदा आफूले बोकेको पर्स, मोबाइल, आफूले लगाएको गरगहना सुरक्षित राख्न प्रहरीले अपिल समेत गरेको छ ।
फोटो ः इलाका प्रहरी कार्यालय सुरुङ्गामा बिना हेल्मेट चलाइएका मोटरसाईकल नियन्त्रणमा लिदै