कनकाई अनलाईन
जीवन विकास लघुवित्त वित्तीय संस्थाले केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम गरेको छ ।
‘आर्थिक समृद्धिको अभियान, वित्तीय साक्षरताको ज्ञान’ भन्ने नाराका साथ मोरङको कटहरी २ मा केन्द्रीय कार्यालय रहेको जीवन विकासले आज बिहिवार सुरुङ्गामा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम गरेको हो ।
कार्यक्रममा संस्थाले तीन जना सदस्य परिवारका नौ जना बालबालिकाको एक वर्षका लागि अभिभावकत्व ग्रहण गरेको छ । संस्थाले ती बालबालिकाको एक वर्षमा शिक्षा आर्जनमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने छ ।
कार्यक्रमका प्रमुख अतिथि कनकाई नगरपालिका उपप्रमुख आशा शर्मा शिवाकोटीले विना धितो सदस्यलाई ऋण दिएर सुविधा दिएको बताउँदै लिएको ऋणलाई सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो । “ऋण लिनुभन्दा पनि त्यसलाई सदुपयोग गर्नु ठूलो चुनौतीको विषय हो”, उहाँले भन्नुभयो, “त्यसका लागि सदस्यले वित्तीय साक्षरता प्राप्त गर्न जरुरी छ ।”
कार्यक्रममा कनकाई २ का वडाध्यक्ष बलराम राई ९प्रताप०ले मुलुकमा सहकारी र लघुवित्तको प्रवेश भएसँगै आमनागरिकमा वित्तीय पहुँच अभिबृद्धि भएको उल्लेख गर्नुभयो । “धनीपूर्जा नभएका मान्छेलाई समेत लघुवित्त र सहकारीले ऋण दिएको छ”, उहाँले भन्नुभयो, “आर्थिक बृद्धिमा लघुवित्त र सहकारीको योगदान उच्च छ ।” पछिल्लो समय वित्तीय संस्थाहरुमाथि भइरहेको आक्रमणलाई परास्त गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा जीवन विकासका प्रमुख कार्यकारी अधिकृत सञ्जयकुमार मण्डलले पछिल्लो समय मानिसमा वित्तीय पहुँच बढ्दै गएकोले वित्तीय साक्षरता आवश्यक रहेको बताउनुभयो । सदस्यले बिना धितो पैसा पाउने अवसर पाएको बताउँदै उहाँले त्यो पैसाको सदुपयोग नुहँदा पनि समस्या भएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा कार्यपालिका सदस्य तारा मगर, सुरुङ्गा जेसीजका महासचिव रिसव सिंह चहार, समूह प्रमुख कल्पना गड्तौला लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा कार्यपालिका सदस्य सावित्रा बर्देवा , इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख प्रविणकुमार भट्टराई , लगायतको आतिथ्य रहेको कार्यक्रममा सदस्यहरुले नृत्य प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा तालिम विभाग प्रमुख रञ्जना निरौलाले साक्षरता ज्ञान प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा सुरुङ्गा शाखा प्रमुख शिवराज विश्वकर्माले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन जिल्ला प्रमुख बसन्त चौधरीले गर्नुभएको थियो । २१ जिल्लामा कार्यक्षेत्र रहेको जीवन विकासमा ३ लाख २५ हजार सदस्य रहेका छन् ।