Kanakai Online

स्वर्णलक्ष्मीको स्थापना दिवस कनकाईमा स्वास्थ्य शिविर सहित मनाइयो


शुक्रवार, चैत ९, २०८० |

कनकाई अनलाईन

झापाको दमकमा केन्द्रीय कार्यलय भई झापाका विभिन्न स्थान र मोरङ्गमा समेत केहि स्थानमा सेवा केन्द्र बिस्तार गरिसकेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले १५ अौं स्थापना दिवसको अवसर पारेर सप्ताहव्यापी विविध कार्यक्रम तय गरेको छ ।

संस्थाले सप्ताहव्यापी कार्यक्रम अन्तरगत बिहीबार सुरुङ्गा सेवा केन्द्रमा सदस्य शिक्षा तथा अन्तरक्रिया , स्वास्थ्य शिविर , उत्कृष्ट कारोबार गर्ने सदस्यलाई सम्मान एवं गरीब जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ ।

कार्यक्रममा संस्थाका व्यवस्थापक कमल कुमार घिमिरेले सदस्य शिक्षा प्रदान गरेका थिए ।

कार्यक्रममा संस्थाले उत्कृष्ट कारोबार गर्ने पाँच जना सदस्यलाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा चेतनकुमार प्रसाईं , धनकुमारी प्रधान , निरोज सुवेदी , अनिता अग्रवाल र ऋषिकेश मैनाली रहेका छन् ।
कार्यक्रममा कनकाई ३ स्थित जनचेतना आधारभूत विद्यालयका ३० जना छात्रछात्राहरुलाई ब्याग वितरण गरिएको छ ।

दन्त परीक्षण स्वास्थ्य शिविर समेत सञ्चालन गरिएको कार्यक्रममा दमकस्थित आमा डेन्टल अस्पतालको प्राविधिक सहयोगमा ६० जनाको दन्त परिक्षण गरिएको सुरुङ्गा सेवा केन्द्रका प्रमुख विनोद घिमिरेले जानकारी दिए ।

संस्थाका अध्यक्ष बुद्धिसागर बरालको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि वडा नं। ३ का वडाध्यक्ष युवराज चौलागाईं , अतिथि कनकाई नगरपालिकाका सहकारी शाखा प्रमुख हरिप्रसाद पौडेल भगवती बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष खेम प्रसाईं लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

दोमुखा बहुउद्देश्यीय सहकारीबाट गोमा देवि निरौला , जनचेतना आधारभूत विद्यालयका शिक्षिका कमला ढकाल लगायतको आतिथ्य रहेको कार्यक्रममा स्वागत सेवा केन्द्र सञ्चालक तथा व्यवस्थापन समिति सदस्य भरतकुमार ढकालले गरेका थिए ।

झापा र मोरङको १७ वटा पालिकामा सेवा केन्द्र विसतार भई सकेको र ९ हजार ५ सय भन्दा बढी सदस्य रहेको साकोसको सप्ताह कार्यक्रम अन्तर्गत आगामी ११ गते आईतबार मुख्य कार्यलय दमकमा एक कार्यक्रमको आयोजना गरि सप्ताह समापन गरिने संस्थाकी साहायक अधिकृत गायत्रा ढकालले जानकारी दिईन ।