Kanakai Online

चर्च ब्याईज र सशस्त्रको एपिएफमा कसले मार्ला बाजी


आइतवार, फागुन २७, २०८० |

कनकाई अनलाईन
सोमवार हुने छैटो झापा गोल्डकपको फाईनलमा उपाधि जित्ने दावी चर्च ब्याईज युनाइटेड क्लव र सशस्त्र प्रहरीको एपिएफले गरेको छ ।
जसले उपाधि जिते पनि झापा गोल्डपकले नयाँ च्याम्पियन पाउने छ । ४ पटकको उपाधि बिजेता त्रिभुवन आर्र्मी सेमिफाईनलबाट एपिएफसँग पराजित हुदै बाहिरिएको छ भने एकपटकको उपाधि बिजेता मनाङ्ग मस्याङ्दी क्लव यस गोल्डकपमा सहभागि नहुदा झापा गोल्डकपले नयाँ टिम उपाधि बिजेता सोमबारको फाईनल खेलबाट छिनोफानो हुन लागेको हो ।
फाइनल खेलको पूर्व सन्ध्यामा आइतवार बिर्तामोडमा आयोजित प्रि–म्याच कन्फ्रेसमा दुबै टिमले उपाधि हात पार्ने दाबी गरेका हुन ।

प्रि–म्याच कन्फ्रेसमा चर्च ब्वाइजका टिम क्याप्टन दीप कार्की र कोच रोबिन राईले फाइनलको उपाधि हात पार्ने दाबी गरेका थिए भने एपीएफ एफसीका टिम म्यानेजर सुशिल अधिकारी र क्याप्टेन हरि कार्कीले पनि उपाधि आफ्नो टिमले जित्ने दावी गरेका हुन । चर्च ब्याईज यस सिजनको लिग बिजेता टिम हो भने एपिएफ टिम भने रेलिगेशनमा परेको टिम हो । एपिएफले केहि विदेशी खेलाडी टिममा समावेश गरेर टिमलाई सन्तुलित बनाउने कोशिस भने गरेको छ ।

यसअघिका पाँच संस्करणमा सहभागी भएको एपीएफ एफसी फाइनलमा पुगेको यो पहिलो पटक हो ।

बिभागीय टोली एपीएफले झापा गोल्ड कपको उद्घाटन खेल खेलेको थियो । उद्घाटन खेलमा ए डिभिजनको संकटा युथ क्लबलाई टाइब्रेकरमा ४–२ ले हराउँदै क्वाटरफाइनलमा एपीएफले स्थान सुरक्षित गरेको थियो । क्वाटरफाइनलमा पनि एपीएपले टाइब्रेकरको सहारा लिनु परेको थियो । सर्लाहीको बागमती गुथ क्लबलाई टाइब्रेकरमा ४–३ ले हराउँदै सेमिफाइनल प्रवेश गरेको थियो ।

उपाधिको दावेदार मानिएको त्रिभुवन आर्मी क्लबलाई सेमिफाइनलमा हराउँदै एपीएफले पहिलो पटक फाइनलमा प्रवेश पाएको हो ।

प्रतियोगितामा पहिलो पटक सहभागी भएको चर्च ब्वाइजको यात्रा भने प्रतियोगितामा उत्साहजनक रहयो । चर्च ब्वाइजले पहिलो खेलमै नेपाल पुलिस क्लबलाई २–० को हार चखायो । चर्च ब्वाइजले क्वाटरफाइनल खेलमा ए डिभिजन क्लब एनआरटीमाथी १–० को नतिजा निकाल्यो । सेमिफाइनलमा आयोजक झापा ११ लाई टाइब्रेकरमा ४–३ ले हराउँदै चर्च ब्वाइजले फाइनलमा स्थान पक्का गरेको छ ।

झापा गोल्ड कपको बिजेताले १३ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्दा उपबिजेताले ७ लाख रुपैयाँ पाउने छ । फाइनलमा प्रत्येक खेलाडीले जनही २५ हजार रुपैंयाँ बिधागत पुरस्कारको रुपमा पाउने छन् ।