कनकाई अनलाईन
हात्तीमैत्री पदयात्राका लागि बाहुनडाँगी आएका कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीसहितको टोलीलाई स्थानीयले गुन्द्रीमा राखेर उसिनेको आलु खुवाए ।
‘जीव, जनावर, जल, जंगल र जनतामैत्री जिम्मेवार जनप्रतिनिधि’ भन्ने मुल नाराकासाथ कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको बाहुनडाँगीबाट उदयपुरको बेलचोकसम्म ७ दिने हात्तीमैत्री पदयात्रा उद्घाटन कार्यक्रममा अतिथिहरुलाई गुन्द्रीमा राखेर स्थानीय हात्तीमैत्री किसान समूहले उसिनेको आलु र चट्नी खुवाएका हुन् ।
कार्यक्रम चलिरहेका बेला मेचीनगर–४ प्रसाद गौडाका स्थानीयले कार्टुनमा प्याक गरेर ल्याएका उसिनेको आलु कोलाको पातमा तथा नुन र खोर्सानी मिसिएको चट्नी मकैको खोष्टामा राखेर अतिथिहरुलाई सत्कार गरिएको थियो ।
वडा नम्बर ४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले निर्वाचित भएदेखि नै वडा कार्यालयको कुर्सी हटाएर गुन्द्रीमा बसेका थिए । त्यो नियम वडाको जुनसुकै कार्यक्रममा लागु भइरहेको छ ।
मुख्यमन्त्री कार्कीसहितको टोलीलाई बाहुनडाँगीमा उत्पादन गरिएको अर्गानिक आलुको स्वाद चखाएको समूहको भनाई छ ।