कनकाई अनलाईन
राजधानी बाहिरकै प्रतिष्ठित मानिने छैटौँ झापा गोल्ड कपको सहभागि टिम र ट्रफि सार्वजनिक गरिएको छ ।
प्रतियोगिताको आयोजनास्थल डोमालाल राजवंशी रङ्गशालामा पत्रकार सम्मेलनको आयोजना गरि आयोजकले ट्रफि सार्वजनिक गरेको हो ।
आयोजक झापा गोल्डकपले यो संस्करणमा आफ्नै डिजाइनमा ट्रफी निर्माण गरेको हो ।
झापा गोल्ड कपका अध्यक्ष विनोद बस्नेतका अनुसार प्रतियोगितामा ए डिभिजनसहित नेपालका १० टिमको सहभागिता रहनेछ ।
छैटौँ संस्करणमा आयोजकको तर्फबाट झापा ११ एफसीले सहभागिता जनाउनेछ । त्यस्तै, विभागीय टिमहरु त्रिभुवन आर्मी एफसी, एपिएफ एफसी र नेपाल पुलिस क्लब, चर्च ब्वाइज युनाइटेड एफसी, मछिन्द्र एफसी, एनआरटी एफसी र संकटा एफसीले सहभागिता जनाउने छन् ।
यो संस्करणमा पहिलोपटक मोफसलका दुई टिमले सहभागिता जनाउने छन् । सर्लाहीको बागमती युवा क्लब र हेटौँडाको एन्फा मकवानपुरले झापा गोल्ड खेल्ने छन ।
ट्रफी र टिम सार्वजनिक कार्यक्रममा अध्यक्ष बस्नेतसहित झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामा, गोल्ड कपका संरक्षक तथा झापा ११ एफसीका अध्यक्ष जलकुमार गुरुङ, राष्ट्रिय फुटबल टिमका सहायक प्रशिक्षक प्रवेश कटवाल, गोल्ड कपका सल्लाहकार मदनगोपाल सुब्बा, वरिष्ठ उपाध्यक्ष बलराम कार्की लगायतको सहभागिता रहेको थियो । झापा गोल्डकप आगामी फागुन १९ गतेदेखि २८ गतेसम्म बिर्तामोडमा हुदैछ । गोल्डकपको बिजयी टिमले नगद १३ लाख र उपबिजयी हुने टिमले नगद ७ लाख रुपैँया प्राप्त गर्ने छ । गोल्डकपका लागि १० हजार दर्शक अट्ने बाँसको अस्थायी प्याराफिट निर्माण गरिसकिएको छ । पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष बिनोद बस्नेतले झापालाई खेलको हव बनाउनका लागि झापा गोल्डकपले टेवा पुर्याउने र झापा गोल्डकपको समयभर खेलमेलाकै रौनक दिनका लागि आयोजकले कुनै कसर बाकी नराख्ने बताउँनुभयो ।